रियाद– साउदी अरेबियामा पछिल्लो समय सेनाको उच्च दर्जाका पदहरुमा गरिएको फेरबदलको चर्चा विश्वभर छ। तर, यो फैसलाको समय र उद्देश्यलाई लिएर भने प्रश्न उठाइएको छ। साउदी सरकारले सो फेरबदललाई ‘मिनिस्ट्री अफ डिफेन्स डेभलपमेन्ट डकुमेन्ट’ नाम दिएको छ।
साउदी राजकुमार मोहम्मद बिन सलमानले सैनिक संरचनामा फेरबदलको सुरुवात भने सन् २०१६ मा गरेका थिए। साउदी अरेबियामा सुधारको एजेन्डा राख्दै उनले ‘भिजन २०३०’ नामक एक दस्तावेज समेत जारी गरेका थिए। अप्रिल २०१६ मा जारी गरिएको सो दस्तावेजलाई साउदीको मन्त्रिपरिषद्ले पारित गरेको थियो।
सो दस्तावेजलाई साउदी अरेबियालाई तेलमा मात्रै निर्भर रहनुपर्ने अवस्थाबाट माथि उठाउने योजना अनुरुप अगाडि ल्याइएको हो। जस अनुरुप ३ देखि ७ अर्ब साउदी रियालको लागत रहेका ८० परियोजनाको सुरुवात गरिएको छ।
सैनिक अधिकारी फेरबदल
साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजको पालामाभन्दा अहिले निकै क्रान्तिकारी लाग्ने कदमहरु चालिएका छन्। जसमध्ये साउदी सेनाका उच्चतम् पदमा रहेका व्यक्तिलाई बर्खास्त गर्दै केही नयाँ नियुक्ति गर्ने फैसलालाई त्यस्तै एक कदम मान्न सकिन्छ।
साउदीको शाही सेनामा नयाँ पुस्ताका अफिसरहरुलाई उच्चतम् पदमा नियुक्ति गरिएको छ। हटाइएका सुरक्षा अधिकारी आर्मी चिफ जनरल अब्दुल रहमान बिन सोलेह अल–बुनयान हुन्। उनको स्थान फय्याद बिन हामिद अल–रुवाइलीले लिएका छन्।
साउदी हवाई सेनाका कमान्डर मोहम्मद बिन सुहैमलाई पनि बिदा दिइएको छ। उनको स्थानमा मजिद अल–उमरुलाई नियुक्त गरिएको छ।
महिला बनिन् मन्त्री
साउदी अरेबियामा श्रम विभागको मन्त्रीका रुपमा एक महिलालाई जिम्मेवारी दिइएको छ। सो नियुक्तिको केही दिनअघि मात्रै पहिलो पटक महिलालाई साउदी फौजमा भर्ती हुन छुट दिइएको थियो।
महिलालाई कार चलाउन पाउने व्यवस्था, पहिलो पटक अरब फेसन सप्ताह आयोजनाको स्वीकृति लगायतका केही निर्णयले विश्वभर चर्चा कमाएका थिए।
महिलालाई पहिलो पटक रंगशालामा खेल हेर्नका लागि समेत छुट दिइएको थियो। सो समय पुरुषहरुले पनि आफ्ना परिवारका साथमा फुटबल खेल हेरेका थिए।
भष्ट्राचारविरुद्ध अभियान
आफू शक्तिमा आएपछि ठूलो संख्यामा साउदी राजकुमार तथा धनाड्यहरुलाई हिरासतमा लिने राजकुमार सलमानको कदमलाई उनको राजनीतिक तथा आर्थिक योजनासँग जोडेर हेरिएको छ।
साउदीका महान्यायाधिवक्ताका अनुसार नियन्त्रणमा लिइएका राजकुमार तथा अन्य धनाढ्य व्यक्तिको रिहाई गर्दा भएको सम्झौताबाटै १ सय ७ अर्ब डलर राज्यकोषमा जम्मा भएको थियो। सरकारको सो कारबाहीको चौतर्फी आलोचना समेत भएको थियो।
(भ्रष्टाचार अभियोगमा नियन्त्रणमा लिइएका राजकुमारहरु)
सो निर्णयमा असन्तुष्ट व्यक्तिहरुले आफ्ना सम्भावित राजनीतिक विरोधीहरुप्रति निशाना बनाएर राजकुमार सलमानले यस्तो कदम उठाएको आरोप लगाएका थिए।
विश्लेषकहरुले भने साउदीमा सरकार र समाजको स्तरबाट धेरै परिवर्तनहरु भइरहेको बताएका छन्। एकातर्फ साउदी अरेबिया देशबाहिर यमनको युद्धमा अल्झिरहेको छ भने अर्कोतर्फ देशभित्र आर्थिक तथा सामाजिक स्थिति मजबुत बनाउन लागिपरेको छ।
(बिबिसीको आलेखमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।