काठमाडौं- शिक्षाविद् केदारभक्त माथेमालाई रु १ लाख नगदसहित मृगेन्द्र-सम्झना चिकित्सा गुठीले सम्मान गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित समारोहमा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डेले माथेमालाई सम्मान प्रदान गरे। चिकित्सा शिक्षामा पुर्याएको योगदानको कदरस्वरुप उनलाई सम्मान प्रदान गरिएको पाण्डेले बताए।
यसैगरी वीर अस्पताललाई रु ५० हजार बराबरको क्यान्सरको औषधि पनि उनले हस्तान्तरण गरेका छन्। यस्तो औषधि ६-६ महिनामा प्रदान गरिँदै आएको उनले जानकारी दिए।
यसबाहेक गुठीमा लामो समयदेखि कार्यरत अंशुका राजोपाध्याय र कृष्णप्रसाद पुडासैनी पनि सम्मानित भए।
एमबिबिएसमा उत्कृष्ट अंक ल्याउनेलाई दिइँदै आएको पुरस्कार भने रिजल्ट नपाएको भन्दै यसपटक दिइएन।
यसैगरी गुठीले जुम्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न संघसंस्थालाई सहयोग गरेको छ। जसमा नेपाल मधुमेह समाज, दृष्टिविहीन पोषण कार्यक्रम तनहुँ, ज्येष्ठ नागरिक सतसंग तथा प्राथमिक स्वास्थय उपचार केन्द्र टुँडालदेवी रहेका छन्।
कार्यक्रममा वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले वीर अस्पताल गरिबहरुको अस्पताल भन्दै औषधि सहयोगका लागि गुठीलाई धन्यवाद दिए।
यस्तै सम्मानित माथेमाले आफूलाई योग्य सम्झेकोमा आभार प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।