सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो अस्पतालबीच उपचारमा छुट सम्झौता

Nepal Live

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो अस्पतालबीच उपचार शुल्कमा छुट सम्झौता भएको छ। बैंक र अस्पतालबीच बैंकका ग्राहक, सेयरधनी र कर्मचारी र तिनका परिवारलाई उपचार सेवा लिँदा १० प्रतिशत छुट दिनेबारे दुईपक्षीय सहमति भएको हो।

अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक अशोक बाजपाई र बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा उल्लेख भए अनुसार उक्त सेवा लिनका लागि बैंकको डेबिट कार्ड लिएको हुनुपर्नेछ। 

उक्त कार्ड लिएर अस्पताल पुगेका बिरामीले अन्यत्र एटिएम कार्डमा जस्तो निश्चित रकम निकाल्ने र पैसा निकाल्दा थप पैसा काटिने झन्झटबाट पनि मुक्ति पाउने अस्पतालका प्रबन्ध निर्देशक बाजपाईले जानकारी दिए । उनका अनुसार एपोलो अस्पतालमा मात्र नेपालबाट वार्षिक ६० हजार बिरामी उपचारका लागि जाने गर्छन्।

यो सम्झौतापछि बैंकका ३ लाख भन्दा बढी ग्राहक, १५ हजार भन्दा बढी सेयरधनी, ४ सय भन्दा बढी कर्मचारी र तिनका परिवारले सर्वसुलभ तरिकाबाट गुणस्तरीय उपचार सेवा पाउने बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 

बाजपाईका अनुसार एपोलो अस्पतालको काठमाडौंस्थित सुचना केन्द्रबाट सिधै अस्पतालसँग समन्वय गर्न सकिने र उपचारका लागि अग्रिम समय लिनसमेत सकिनेछ। अग्रिम जानकारी दिएर उपचारका लागि आउने बिरामीलाई एयरपोर्टमा लिन जाने र डिस्चार्जपछि छोड्नेसम्मको सुविधा दिइनेछ।

‘अस्पतालले नेपाली बिरामीलाई भारतीय बिरामी सरहको शुल्क लिने र सम्झौतापछि त्यसमा पनि छुट दिने व्यवस्था गरेको हो,’ बाजपाईले भने, ‘यो सम्झौता अनुसार सेवा लिन जाने नेपालीले भारतीयभन्दा पनि सस्तोमा उपचार पाउने भएका छन्।’

उनले एपोलो अस्पताल दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमध्ये एक भएको दाबी पनि गरे।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार