भैरहवा- ओम डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको भैरहवामा शाखा विस्तार गरेको छ। शाखाको नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोककुमार पौडेलले उद्घाटन गरे। उनले भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्तिसमेत घोषणा गरेका छन्।
बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ बताएको छ। ५२ वटा शाखाबाट करिब २ लाख ३१ हजार ग्राहकलाई सेवा दिँदै आएको बैकले ११ वटा एटिएमबाट पनि सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए। उनले ग्राहकहरुलाई नि:शुल्क सि–आस्वा सेवा प्रदान गरिरहेको तथा बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको बताए।
बैंकले सेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको र फागुन २५ गते पोखरामा हुने वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि वितरण हुने अधिकारीले जानकारी दिए।
बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जा अन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गर्न सम्झौता गरी कर्जा लगानी सुरु गरिरहेको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।