बसन्तपुर (तेह्रथुम)- घरमा मनग्गे जायजेथा हुँदा पनि संखुवासभा मादी मुलखर्क निवासी दुर्गाबहादुर गुरुङलाई २०४८ सालमा विदेश जाने रहर पलायो। त्यतिबेला गाउँमा विदेश जाने प्रचलन खुबै बढेको थियो। यसबाट उनी पनि अछुतो रहेनन्। त्यसैले घरमा कसैको कुरा नसुनी श्रीमती मनमायालाई ४ नाबालक छोडेर उनी साउदी अरेबियातर्फ लागे।
वैदेशिक रोजगारीमा गएको १८ महिनासम्म न त उनको चिठी आयो न कुनै खबर। अत्तालिएकी मनमायाले श्रीमान्को खोजखबर गरिन्। पछि पत्ता लाग्यो, काम गर्ने सिलसिलामा लडेर दुर्गाबहादुरको ढाडमा किला गाडिएको रहेछ। यसको असर दिमागसम्म पुग्यो। उनी हिँडडुल गर्न नसक्ने गरी साउदीकै अस्पतालमा भर्ना भए।
श्रीमान्लाई साउदीको अस्पतालबाट नेपाल फर्काउन मनमायालाई थप १८ महिना लाग्यो। करिब ३६ महिनापछि नेपाल फर्किएका दुर्गाबहादुर 'जिउँदो लास'झैं थिए। कसैलाई नचिन्ने। सबैभन्दा बढी माया गर्ने श्रीमतीलाई समेत।
यसपछि गुरुङ परिवारको दुःखको दिन सुरु भयो। धन कमाउने सपना बुनेर लाहुर गएका दुर्गा घर फर्किंदा उल्टो ऋणको भारी थियो। एक्ली मनमायाले घर चलाउने स्थिति थिएन। उनीसँग एक मात्र उपाय थियो, गाउँको सबै जायजेथा साहुलाई जिम्मा लगाएर हिड्ने। संखुवासभाको सबै घरजग्गा साहुलाई जिम्मा लगाएर तेह्रथुमस्थित बसन्तपुरमा ओर्लिंदा गुरुङ परिवारको परिचय बदलियो सुकुम्वासीको रुपमा।
उनले आफ्नो परिवार पाल्न गिट्टी कुटिन्। जुठो भाँडा माझिन्। परिवार पाल्न कठिन भएपछि २ सन्तानलाई माइतीको जिम्मा लगाइन्।
अहिले अवस्था ठ्याक्क फेरिएको छ। मनमायाको दुःखका दिन सुखमा परिणत हुँदैछन्।
उनको मुहारमा उज्यालो फेर्ने एउटै कारण बनेका छन्, जेठा छोरा निमेष गुरुङ।
२९ वर्षीय निमेष सन् २००८ डिसेम्बरमा सिंगापुर पुलिसमा भर्ती भए। यसपछि कथाले नसोचेको अकल्पनीय मोड लियो।
आमा मनमायाले गाउँमा गिट्टी कुट्दै र जुठो भाँडा माझेरै पनि आफ्ना सन्तानलाई शिक्षा दिलाउन कुनै कसर बाँकी राखिनन्। यसैक्रममा निमेषले १२ कक्षा उत्तीर्ण गरे। यसपछि जागिरको खोजीमा काठमाडौं भौंतारिएका उनले केही वर्ष विभिन्न होटलमा काम गरे।
काठमाडौं आएपछि निमेषको सोचमा परिवर्तन देखियो। उनी आफ्नो परिवार, विशेषत: बुढ्यौलीले च्याप्दै गएकी आमालाई सहयोग गर्न चाहन्थे। यसका लागि एउटै विकल्प थियो, स्थिर जागिर। उनले नेपाली सेना र प्रहरीमा भर्तीका लागि आवेदन दिए। तर, नाम कत्तै निस्किएन।
यसपछि उनलाई अर्को सोच पलायो– आखिर जागिर नै खानु छ भने नेपालमै मात्र किन? उनले लाहुरे बन्ने संकल्प गरे। तेस्रो प्रयासपछि उनी सिंगापुर पुलिसमा भर्ती भए।
सिंगापुर पुलिसमै कार्यरत छँदा निमेषको जीवनले अर्को मोड लियो। ४ वर्ष जागिरमा रहँदा उनको शरीरले अनावश्यक आकार लियो। यसका लागि के गर्ने भन्ने सोचमा रहेकै बेला उनले दौडलाई प्राथमिकता दिने अठोट गरे। गाउँमा अभावका कारण उनी सधैं दौडिएर सबै ठाउँ भ्याउने गर्थे। त्यसैले निमेषका लागि यो कुनै नयाँ र अनौठो अभ्यास थिएन। उनले छोटो समयमै रफ्तार पक्डिए।
अहिले उनी त्यही रफ्तारले आफ्नो ख्याति राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सफल भएका छन्। अर्थात्, उनी सिंगापुरमा कीर्तिमानधारी धावकको छवि बनाएर स्थापित भएका छन्। सिंगापुरमा अहिले उनको कीर्तिमान तोड्न अन्य धावकलाई हम्मेहम्मे परिरहेको छ।
उनी सिंगापुरको राष्ट्रिय कीर्तिमानधारी धावक हुन्। प्रहरीको विश्व च्याम्पियनसिपमा समेत स्वर्ण पदक जितिसकेका छन् निमेषले।
प्रशिक्षकको कडा निगरानीबिना नै आफूलाई अब्बल साबित गरेका निमेष भन्छन्, ‘सम्भवत: त्यो मेरो आमाको देन होला। मभित्र ईख छ।’
सिंगापुर पुलिसमा प्रवेश गर्दा ‘फिट पुलिस’ को परिचय बनाएका उनी सन् २०१२ मा ‘मोटे पुलिस’ मा परिणत भए। ‘सिंगापुरमा फिट शरीर भएको प्रहरीलाई सबैले राम्रो मान्छन्। तौल बढ्दा म आफैलाई आत्मग्लानि हुन थालेको थियो,’ पुलिसबाट खेलतर्फ डोरिएको आफ्नो यात्रालाई प्रस्ट्याउँदै उनी भन्छन्।
सानैदेखि कडा परिश्रम गर्ने बानी परेका निमेषले ६ महिनामा १५ केजी तौल घटाए। उनको त्यो मेहनत देखेर सिंगापुर पुलिसमा छक्क नपर्ने सायदै कोही अफिसर थिए।
प्रशिक्षकबिना पदकैपदक
उनी २०१३ मा पहिलोपल्ट सिंगापुर पुलिसको आन्तरिक प्रतिस्पर्धामा सहभागी भए। करिब ३ सय धावक सहभागी भएको ५ हजार र १० हजार मिटर दौडमा सातौं स्थान ओगटेपछि उनको चर्चा भयो। अर्को वर्ष त उनले दुवै स्पर्धामा स्वर्ण पदक नै हात पारे।
उनी प्रशिक्षकको अभावमा इन्टरनेटबाट भिडियोहरू डाउनलोड गर्दै आफूभन्दा सिनियर खेलाडी कसरी दौडिन्छन्, त्यसको प्राविधिक ज्ञान लिन्थे। बिस्तारै उनी सिंगापुरमा आयोजना हुने एथलेटिक्स प्रतियोगिताको आकर्षण बन्न थाले।
२०१३ मा उनले सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरे। ५ हजार मिटर दौडमा १९८८ मा कायम राष्ट्रिय कीर्तिमानलाई भंग गर्दै सनसनी मच्चाए। उनले ५ हजार मिटर दौड १५ मिनेट २४ सेकेन्डमा पूरा गरे। यति नै बेला उनले १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरे। यो पनि १० वर्ष पुरानो रेकर्ड थियो।
‘प्रहरी युनिटमा अब्बल भएपछि मलाई बाहिर पनि कुदेर जित्छु भन्ने हिम्मत आयो। त्यसैले खोजीखोजी प्रतियोगितामा भाग लिन थालेँ,' उनले भने।
सन् २०१४ मा उनले सिंगापुरमा अर्को ठूलो प्रतिस्पर्धा जिते। सिंगापुरको चर्चित पत्रिका ‘द स्ट्रेट टाइम’ ले आयोजना गर्ने हाफ म्याराथनमा उनी दोस्रो भए। यो प्रतियोगितामा उनले केन्या, इथियोपिया र सिंगापुरकै चर्चित धावकलाई पछि पारेका थिए।
त्यही वर्ष मलेसियामा माउन्ट किनाबलु अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना भयो। त्यसको हाफ म्याराथनमा उनले दोस्रो स्थान हात पारे। ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय धावकले भाग लिएको यो प्रतियोगितामा केन्याका धावक पहिलो भए भने उनले जापानी धावकलाई पछि पारेका थिए।
सिंगापुर र मलेसियामा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पदक जित्ने क्रम जारी छ। गत वर्ष मात्र अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए। जुन उनको अर्को ऐतिहासिक उपलब्धि थियो। गत अगस्टमा अमेरिकाको लस एन्जलसमा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा पनि उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जिते। हाफ म्याराथनमा ९१ र १० हजार मिटरमा ५९ देशका धावकलाई पछि पारेका थिए।
अहिले उनलाई पदक जित्ने बानी नै परिसकेको छ। पछिल्लो समय आफू सहभागी कुनै प्रतियोगितामा उनी खाली हात फर्किएका छैनन्। २०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्। यति धेरै पदक जित्दा पनि उनको कुनै प्रशिक्षक छैनन्। जति पदक जिते त्यो आफ्नो एकल प्रयासले।
उनी सफलताको सबै श्रेय आमालाई दिन्छन्। गत महिना नेपाल आएका निमेषले नेपाल लाइभसँग भने, ‘पारिवारिक स्थिति र दुःखले मानिसलाई एउटा शक्ति प्रदान गर्दो रहेछ। जब मैले दुःख भोगेँ, त्यसपछि अठोट गरेँ– जिन्दगीमा अवश्य केही गर्छु।’
निमेषको अर्को इच्छा छ, नेपालका लागि योगदान दिने। 'समय र परिस्थिति मिलेमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर पदक जित्ने इच्छा छ,' उनी भन्छन् । यस्तै खेल जीवनपछि उनले नेपाली खेलकुद क्षेत्रलाई योगदान दिने पनि योजना बनाएका छन्। 'नेपाली खेलकुद क्षेत्रलाई योगदान दिने मेरो योजना छ। नेपाली खेलाडीका लागि राम्रो प्रशिक्षण दिलाउन पहल गर्नेछु,' निमेषले योजना सुनाए।
सिंगापुरको सफलता, बसन्तपुरमा खुसी
निमेषको चुलिँदो ख्याति सुनेर यतिबेला गाउँलेहरू पनि छक्क परेका छन्। केही समयअगाडि बसन्तपुरस्थित गुरुङ परिवारको घर पुग्दा छिमेकी गोपाल भुजेल संवाददातासँग भन्दै थिए, ‘म उनको सफलतालाई भुइँमान्छेले पहाड उचालेको संज्ञा दिन्छु। परिवारमा यति गाह्रो अवस्था थियो– बिहान एक छाक खाए, बेलुका के खाऊँ भन्ने समस्या थियो। उनीहरुको पहिलेको अवस्था सम्झिँदा गर्दा आँसु आउँछ।’
निमेषलाई स्कुलमा अध्यापन गराएका स्थानीय शिक्षक कृष्णप्रसाद दाहाल पनि उनको सफलता देखेर चकित छन्। सानैदेखि निमेषको बानीबाट परिचित उनी भन्छन्, ‘ऊ दृढ इच्छाशक्ति भएको विद्यार्थी हो। पढाइमा जेहेन्दार थियो भने स्वभाव अरुभन्दा भिन्न। संकल्प गरेको काम जसरी पनि पूरा गर्नुपर्छ भन्ने स्वभाव थियो उसमा।’
निमेषसँगै हुर्किएकी माइली बहिनी अन्जना दाजुको सफलताबाट यतिबेला निकै हौसिएकी छिन्। विगतमा गरिबीका कारण आफूहरू धेरैपल्ट समाजबाट अपहेलित भएको सुनाउँदा उनका आँखा रसाउँछन्। पुरानो कुरा सम्झिँदै उनले भनिन्, ‘पहिला हामीले केही किनेर ल्यायो भने पनि चोरेर ल्याएको भन्थे। हामीसँग बोल्न पनि हिचकिचाउँथेँ।’ तर, अहिले जेठो दाजुको सफलताले स्थिति परिवर्तन भएको उनी सुनाउँछिन्।
निमेषको सफलतामा सबैभन्दा महत्वपूर्ण मानिएकी मनमाया यतिबेला फुरुंग छिन्। पहिले जमिनदारको श्रीमती, त्यसपछि सुकुम्वासी बन्दै अहिले ख्याति कमाउँदै गरेको छोराको आमा बनेकी मनमाया यसलाई 'भगवान्को लीला' भन्न रुचाउँछिन्।
अब उनको एउटै कामना छ, २३ वर्षअगाडि होस गुमाएका श्रीमान्को स्मरणशक्ति चाँडै फर्कियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।