काठमाडौं- लेखक तथा पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’लाई पहिचान पुरस्कार प्रदान गरिएको छ। मण्डला थिएटरमा आइतबार आयोजित समारोहबीच २ लाख २ हजार २ रुपैयाँ बराबरको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले प्रदान गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले विभेद मानसिकता र भौतिक संरचना जताततै रहेको बताए। ‘नेपालमा भर्टिकल मात्रै नभएर होरिजेन्टल विभेद पनि छ भन्ने कुरा यज्ञशको भुइयाँ पढेपछि थाहा हुन्छ,’ काइँलाले भने ‘नेपालमा पहिचानको मुद्दा वामपन्थीहरुले ४५/४६ पछि विशेष प्राथमिकतामा राखे, तर पछिल्लो समय उनीहरुले यो मुद्दालाई छाडिसकेका छन्।’ विश्व सन्दर्भमा हाम्रो पहिचान नेपाली र नेपालकै सन्दर्भमा यसको विभिन्न आयाम हुने उनको भनाइ थियो।
भुइयाँमा नारी पात्रहरुलाई सशक्त रुपमा प्रस्तुत गरेको बताउँदै उनले नारीहरु संरक्षण गर्नुपर्ने पात्र नभएर आत्मनिर्भर हुन् भन्ने कुरा प्रस्ट भएको भनाइ राखे।
कार्यक्रममा आफ्नो कृतिले पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै यज्ञशले नेपालमा ‘पहिचान’ भन्नेबित्तिकै जनजातिको मात्रै हो भन्ने गलत बुझाइ रहेको बताए। ‘पहिचान जनजातिको मात्रै होइन। हिजो जो जसरी पछि पर्यो, पारियो अब पनि त्यही ठाउँमा रहनु भन्नु गणतन्त्रकै उपहास हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो स्थितिको अन्त्य गरिनुपर्छ।’
लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपालमा हस्तक्षेप लेख्न बाँकी रहेको बताए। ‘यहाँ रोदन, हाँसो, आक्रोशका कुरा धेरै लेखिए, अब लेख्न बाँकी हस्तक्षेप हो,’ उनले भने ‘फिक्सन लेखिरहेका यज्ञशको भुइयाँ ननफिक्सन अवतार हो।’
अर्का वक्ता आख्यानकार राजन मुकारुङले भुइयाँ पढिरहेको बेला किताब कहिल्यै नसकियोस् भन्ने महसुस भएको अनुभव बाँडे।
यज्ञशको व्यक्तित्वमाथि बोल्दै नाट्यकर्मी अनुप बरालले उनको जीवन यात्राका बारेमा बोलेका थिए। ‘काठमाडौं आएपछि उनको संगत र प्रतिभाले यज्ञशलाई यहाँ ल्याइपुर्याएको हो,’ उनले भने, ‘जन्मजात कोही पनि विशेष प्रतिभाशाली हुँदैन। उसले बाँचेको समाजले डोहोर्याउँछ।’
कार्यक्रममा पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईले पहिचान कुनै ‘वाद’ नभएर यो एक आन्दोलन र अभियान मात्रै रहेको प्रस्ट पारे। ‘विश्वमा भएका पहिचानसम्बन्धी आन्दोलनहरुको हामीले अध्ययन गरेकै छैनौं,’ राईले थपे, 'पहिचान एकअर्काले स्वीकार गर्ने विषय हो।’ उनले लेखकहरुको श्रमको मूल्यांकन गरिनुपर्नेमा जोड दिए। उनले हरेक ५ वर्षमा पुरस्कार राशी वृद्धि गरिने पनि कार्यक्रममा जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।