काठमाडौं- पब्लिकेशन्स नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिको सँगालो प्रकाशनमा ल्याएको छ।
पाँच खण्डमा समेटिएको ‘कविशिरोमणि रचनावली’ कविशिरोमणि पौड्यालको स्मृति दिवसको अवसर पारी सोमबार सार्वजनिक भएको हो। कालिकास्थानस्थित नेपालयको ’आर’ शालामा भएको उक्त कार्यक्रममा कविशिरोमणिको काव्यिक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा गरिएको थियो।
चर्चामा नेपाली शिक्षा परिषदकी महासचिव रमा शर्मा, रचनावलीका संकलक तथा सम्पादक प्राध्यापक सनतकुमार वस्ती, कविशिरोमणिकी नातिनी डा प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठान पोखराका शुक्रराज अधिकारीको सहभागिता थियो।
कृति विमोचन राष्ट्रकवि तथा नेपाली शिक्षा परिषदका अध्यक्ष माधवप्रसाद घिमिरेबाट हुने भनिए पनि स्वास्थ्यमा समस्या आएपछि उनको अनुपस्थितिमा सोही संस्थाकी महासचिव रमा शर्माले प्रतिनिधित्व गरेकी थिइन्।
कार्यक्रममा कविशिरोमणि लेखनाथसँगको भेटका क्षणहरू सम्झँदै शर्माले भनिन् ‘लेखनाथका कविताले हाम्रो पुस्तालाई नैतिकवान् र गुणी बन्न प्रेरित गरेको छ।’
उनले लेखनाथको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवश्यक रहेकोमा समेत जोड दिइन्।
आफू सानै हुँदाको समयका स्मृतिहरू केलाउँदै लेखनाथकी नातिनी डा प्रतिभा पाण्डेले भनिन्, ‘बाबाको प्रभावले त्यसबेलाका बालक हामी आपसी झगडा समेत कविताबाटै गर्थ्यौं।'
कृतिका सम्पादक प्राध्यापक वस्तीले कविशिरोमणिको कृतिमा काम गर्न पाउनु मनले रुचाएको अनुष्ठान सरह भएको टिप्पणी गरे।
नेपाली साहित्यका स्थापित रचनाकारका कृतिलाई ‘नेपालय क्लासिक्स’ शीर्षकमा प्रकाशित गर्ने र भविष्यमा पनि यस्ता कृतिहरू प्रकाशित गर्दै जाने नेपालयले जनाएको छ।
पाँच भागमा समेटिएको ‘कविशिरोमणि रचनावली’ को मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।