काठमाडौं- नारायण ढकालको पुस्तक 'हजार माइलको बाटो' सार्वजनिक भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरियो।
पुस्तकमाथि प्राध्यापक पिताम्बर शर्मा र लेखक आहुतिले धारणा राखेका थिए। त्यस्तै, लेखक ढकालसँग शिखर घिमिरेले अन्तर्क्रिया गरेका थिए।
शर्माले आफू लेखक ढकालको पुरानो पाठक भएको बताए।
'ढकाल काँठ क्षेत्रको सबैभन्दा विशिष्ट आख्यानकार हुन्', उनले भने, 'त्यहाँको समाज, मनोविज्ञान र अर्थनीतिलाई बुझेको, त्यहाँ भित्रका पीर, पीडा र कुण्ठाहरूलाई कसैले राम्रोसँग बुझेको छ र अभिव्यक्ति दिएको छ भने ती ढकाल नै हुन्।'
पुस्तक पढ्दा पाठकका मनमा क्रान्तिबारे विभिन्न प्रश्नहरू उब्जने भन्दै शर्माले थपे, 'जनयुद्धको औचित्यप्रति लेखकको असहमति छैन, त्यसको परिणतिसँग भने छ।' पुस्तक जनयुद्धको सेरोफेरोमा भए पनि जनयुद्धकै मूल बाटोको कथा भने नभएको शर्माले बताए।
'मूल बाटो खोजेका गोरेटाहरूको कथा हो', उनले भने, 'प्रत्येक पात्रहरू एउटा गोरेटो हो। पुस्तकमा ती गोरेटाहरूले परिवर्तन, क्रान्ति र रूपान्तरको मूल बाटो खोजेका छन्', शर्माले भने।
अर्का वक्ता आहुतिले पुस्तकको चर्को आलोचना गरे। उनले उपन्यासभित्र काँठ क्षेत्रको समग्र जनजीवन नआएको बताए। उनले विभिन्न समुदायको वास्तविकता नै चित्रण गर्न नसकेको उल्लेख गरे।
उनले पुस्तकमा प्रयोग भएका केही शब्द र वाक्यको समेत आलोचना गरे। लेखकहरूले गर्ने गरेका त्रुटिहरूलाई ढकालले पनि दोहोर्याएको उनले बताए।
'नेपाली मुसलमान भन्ने शब्द प्रयोग भएको छ', उनले प्रश्न गरे, 'के नेपाली हिन्दु भन्ने शब्द प्रयोग हुन्छ?' पुस्तकमा पुराना सौन्दर्यशास्त्र प्रयोग भएको उनले आरोप लगाए।
'ढकाल जब विचारधारामा जानुहुन्छ, उहाँका लेखन अंशहरू सानदार हुन्छन्', आहुतिले भने, 'जब राजनीति पक्रिन थाल्नुहुन्छ, त्यसपछि अन्तै टेक्नुहुन्छ।'
पुस्तकमा बेलाबेलामा लेखकभित्रको राजनीतिज्ञ बोल्ने उनले टिप्पणी गरे। माओवादी युद्धबारे लेख्दा आफू पछाडिको राजनीति राखेर लेखियो भने उपयुक्त नहुने आहुतिले बताए।
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो।
लेखक ढकालका यसअघि 'पीत संवाद', 'दुर्भिक्ष', 'प्रेतकल्प' 'वृषभ वध' उपन्यास प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।