काठमाडौं– कवितासंग्रह ‘बादी विज्ञप्ति’ र उपन्यास ‘लेखककी स्वास्नी’की लेखक प्रगति राई दोस्रो उपन्यास कृति ‘बिर्सिएको मृत्यु’ लिएर आएकी छन्।
शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि विप्लव प्रतीक, संगीत श्रोता, लेखक उज्ज्वल प्रसाईं, सञ्चारकर्मी नितु पण्डित, विजया केसी लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे।
उपन्यासमा प्राकृतिक विपत्तिपछि घरपरिवार गुमाएको पात्रमा देखिएको मृत्युन्मुख मनोदशामा लेखकले जीवन भरेर पुनः जीवनबोधी चेतना भरेको उज्ज्वल प्रसाईंले बताए। ‘सहरमुखी प्रवृत्ति र पलायनवादी सोचमाथि उपन्यासले आशा भर्ने प्रयास गरेको छ,’ उनले भने।
आफूलाई उपन्यास नै पढ्नमा बढी रुचि हुने भन्दै पछिल्लो समय कतिपय लेखकहरुमा सकीनसकी उपन्यासको लोभमा लागिरहेको प्रवृत्तिबारे पनि उनले चर्चा गरे।
पुस्तकमाथि बोल्दै विप्लव प्रतीकले भूकम्पको पृष्ठभूमिमा रहेर त्यसपछिको त्रास, सामाजिक संरचनामा देखिएको असरलाई लेखकले सबल तरिकाले उठाएको बताए। ‘यहाँ प्रयुक्त पात्रहरुमा भूकम्पपछि देखिने मनोदशा र जीवनप्रतिको आशालाई सकारात्मक रुपमा देखाइएको छ,’ उनले भने, ‘जस्तोसुकै आपतविपतमा पनि सबै वर्गका मानिस एकै तहमा आइपुग्छन् र तिनका मानवीय संवेदना समान बन्छन् भनेर उपन्यासमा सूक्ष्म तरिकाले खोतलिएको छ।’
अर्का वक्ता संगीत श्रोताले पछिल्लो समय जुन समुदायबाट साहित्य लेखिइरहेको छ, त्यसमा प्रगति राईको उपस्थिति उत्साहजनक रहेको भनाइ राखे। संकटपछि सामान्य परिवारमा देखापरेको मनोदशा, पारिवारिक विघटन र समस्या उपन्यासमा यथार्थ ढंगले आएको उनले बताए। पात्रहरु सामान्य देखिए पनि तिनको सामाजिक चिन्तनसँगै लेखकले आफ्नो विचारलाई उपन्यासमा सहज ढंगले पस्किएको उनको भनाइ थियो।
कार्यक्रमका सहजकर्ता दीपक सापकोटाले राखेको जिज्ञासमा लेखक राईले उपन्यास तयार गर्ने क्रममा आफू सिन्धुपाल्चोक गएर कथा टिपेर ल्याएको प्रस्ट्याइन्। ‘जीवन भत्किएपछि त्यसलाई यत्तिकै छाड्ने कि पुनः शून्यबाट सुरु गर्ने भन्ने लाग्यो,’ उनले भनिन्, ‘अनेक जटिलताहरुबीच पनि जीवनप्रति मोह जगाउन सकियो भने त्यसले बाँच्ने प्रेरणा दिन्छ। निराशाले निम्त्याउने मृत्युलाई बिर्सिएर जीवनको उज्यालो पक्षतिर अघि बढ्नुपर्छ, मैले पात्रहरुलाई यही उज्यालो देखाउन खोजको छु।’
उपन्यासलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।