काठमाडौं– नेपालय पब्लिकेशनले कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरूलाई एउटै किताबकाे रुपमा प्रकाशित गर्ने भएको छ। किताब ‘कविशिरोमणि रचनावली’ काे नाममा प्रकाशित हुनेछ।
१९४१ सालमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका पौड्याल नेपाली साहित्यका मूर्धन्य व्यक्ति हुन्। उनलाई नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने अगुवा कवि मानिन्छ। सस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण छ।
पौड्याल परिष्कारवादी धाराका प्रणेता पनि हुन्। उनी आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गर्दथे। कविशिरोमणिका ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य-सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन-चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकबीच निकै लोकप्रिय छन्। उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेर फैलिएका छन्।
कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने पौड्याल महाकवि लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेलाई औधि मन पराउँथे। देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’ थिए। लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिचकिचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’ नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेका थिए।
लेखनाथको निधनको आधा शताब्दीसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए। ती कृतिसमेत खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’लाई पूर्णता दिन लागेका हुन्। नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले भने, ‘लेखनाथका जटिल पद-पदावलीलाई सन्दर्भसहित सरल बनादिएको हुनाले यो संग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्छ।’
प्रकाशक नेपालयका किरण कृष्ण श्रेष्ठले भने, ‘नेपाली साहित्यमा स्थापित सिर्जनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्त छन्। त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रुपमा पाठकका निम्ति उपलब्ध हुनुपर्छ भन्ने ध्येयले हामीले ‘नेपालय क्लासिक्स’ सुरु गरेका हौं। यो क्रममा कविशिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो।’
पौड्यालको समग्र सिर्जनाहरूलाई विधागत रुपमा पाँच भागमा सँगालिएको छ। कविशिरोमणि लेखनाथको देहावसान भएको मिति फागुन ७ मा किताब सार्वजनिक हुँदैछ। यस संग्रहको मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।