काठमाडौं- भानु बोखिमको कथासंग्रह 'रूमानी साँझ' सार्वजनिक भएको छ।
मण्डला थिएटरमा आयोजित कार्यक्रममा बोखिमको पुस्तक सार्वजनिक गरिएको हो। फरक ढङ्गले सार्वजनिक गरिएको कार्यक्रममा सभापति तथा प्रमुख अतिथि थिएनन्। प्रकाशक, स्रष्टा र समीक्षकले छोटो मन्तव्य दिई कार्यक्रम समापन गरिएको थियो।
पुस्तकबारे चर्चा गर्दै डा नवराज लम्सालले लेखकलाई आफूले विभिन्न रूपमा चिन्न पुगेको बताए। 'कुनैबेला पत्रकारिताको तालिममा विद्यार्थीको रूपमा चिनेको उनलाई कहिले सञ्चारकर्मी, कहिले रेडियोकर्मी, नाटककर्मी हुँदै अहिले फेरि कथाकारको रूपमा पाएको छु,' उनले भने, 'कथाकारले आफ्ना विचारलाई भन्न पात्रको उचित चयन गरेर पात्रलाई उभ्याएका छन्। त्यसैले कथाकारले विभिन्न गाउँ घुम्दा देखेको घटना र उब्जिएका भावना समेटेर लेखिएका कथाहरू सत्यका नजिक छन्।'
लेखक बोखिमले रेडियो नेपालमा नवराज लम्सालको रेडियो कार्यक्रम सुनेर कथालेखनतर्फ अग्रसर भएको सम्झना सुनाए। एन्टेना फाउन्डेसनका लागि धेरै नाटक लेखेको र त्यसकै खोजीमा जाँदा रूमानी साँझको परिकल्पना आएको पनि बताए।
प्रकाशकका तर्फबाट बोल्दै नरेन्द्रकुमार नगरकोटीले यसभन्दा अगाडि विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’ प्रकाशन गरेको जानकारी दिए। साहित्यको क्षेत्रमा केही उल्लेख्य काम गर्न सकौं भन्ने अभिप्रायले प्रकाशन कार्य आरम्भ गरेको बताउँदै उनले किशोर साहित्य र शैक्षिक साहित्यका पुस्तक पनि प्रकाशन गर्ने लक्ष्य रहेको बताए।
‘रुमानी साँझ’मा प्रेम, सांसारिक द्वन्द्व, विकटताको नियति, जीवनका उल्झनहरू र सामाजिक संस्कारको पर्खालमा कैद निर्दोष प्रेमीहरुको कथा समेटिएका छन्। १६ कथा संकलित पुस्तकको मुल्य ३ सय रुपैयाँ रहेको छ। पुस्तकलाई शाब्दिक बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।