गैंडाकोट, नवलपुर- कफी र काफियाको छैटौं शृंखलामा युवा गजलकार लेखराम सापकोटा र गंगा लामिछाने सुनिए।
सिर्जन साहित्य प्रतिष्ठानको आयोजनामा गैंडाकोटको नारायणी रिसोर्टमा शनिबार भएको युगल गजल वाचन कार्यक्रममा सापकोटा र लामिछानेले ७/७ गजल सुनाएका हुन्।
नखोज आँसु चुहाउन प्रिय तिमीले होइन म रोइदिन्छु,
ओढेर घुम्टो सर्माउन प्रिय तिमीले होइन म रोइदिन्छु।
युगल गजल वाचनको सिलसिलाको सुरुमै सापकोटाले यो शेरबाट स्रोता दर्शकलाई सम्बोधन गरे। वाचनको अन्त्य गंगा लामिछानेले गरिन्।
दु:खी हुन्नन् र प्रेमीहरु समझदारीमा प्रेम छुट्यो भने,
मात्र एकपटक मुस्कुराईदेउ म सारा जंघार तर्न सक्छु।
दुवै स्रष्टाका गजलका शेरले माहोल अत्यन्तै रोमाञ्चक देखिन्थ्यो। रमणीय नारायणी छेवैमा गजल सुन्न आएका महिला सर्जकको उपस्थिति अघिपछि भन्दा बाक्लो थियो। वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले प्रणय दिवसका बेला गरिएको यस कार्यक्रमले छुट्टै अर्थ राखेको बताए।
वाचन गरिएका गजलहरुमाथि समीक्षक द्वारिका नेपालले टिप्पणी गरेका थिए। उनले दुवै स्रष्टाका गजलहरुमा प्रणयभावका असन्तुष्टि, समर्पण, दर्शन तथा समसामयिकता मिसिएको दाबी गरे। कार्यक्रमको अन्तिममा दुवै स्रष्टाले गजलमा सवालजवाफ पनि गरे।
विगत २ दशक अगाडिदेखि गजल क्षेत्रमा सक्रिय सापकोटा नवलपरासीका पहिलो चरणका युवा स्रष्टा हुन्। सहयात्री, अनामिका लगायतका साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका सापकोटाको 'श्रद्धाका फूलहरु' गजलसंग्रह, 'गजलपथका यात्रीहरु' र 'गजल विम्ब' संयुक्त गजलसंग्रह, 'तिम्रा खुसीहरुमा' मुक्तक तथा हाइकुसंग्रह प्रकाशित छन्।
त्यस्तै, गैंडाकोटकै स्रष्टा गंगा लामिछाने विगत एक दशकदेखि साहित्य साधना गरिरहेकी छिन्।
चितवन र नवलपुरमा गजलको लहर जारी राख्न यस्तो कार्यक्रम सुरु गरिएको कार्यक्रमका अध्यक्ष सुजन अधिकारीले बताए। गत असारदेखि हरेक महिना युगल गजल वाचनको कार्यक्रम 'कफी र काफिया' हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।