क्यालिफोर्निया- चारैतिर पहाड छन्। बीचमा छ फराकिलो र प्रायजसो सुक्खा रहने समथर जमिन। हेर्दा लाग्छ, यो कुनै खेलकुद मैदान हो।
असरल्ल मिल्काइएका विभिन्न आकारका ढुंगा पनि मैदानको यताउता नभएका होइनन्। तर अचम्म त्यति बेला लाग्छ, जब ढुंगाको पछाडि लामो धर्सो कोरिएको दृश्य देखिन्छ।
न त कुनै मानवपाइला न जनावरको निसान। हावा पनि मन्द गतिमा नै चल्छ। पहाडबाट ढुंगा खसेर त्यहाँ आउन सक्ने कुनै सम्भावना देखिन्न। पहाडबाट खसिहाले पनि घिस्रेर आउने त कुरा भएन। चिप्लियो भनौँ भने सुक्खा जमिन छ। दृश्य हेर्दा लाग्छ, ढुंगा आफै घिस्रिदै त्यहाँसम्म आइपुगेको हो।
यस्तो देखेपछि पर्यटकहरु आफूले आफैलाई प्रश्न गर्छन्, के ढुंगा पनि हिँड्न सक्छ?
यस्तो हिँड्ने ढुंगा भएको स्थान अमेरिकाको क्यालिफोर्नियास्थित डेथभ्याली नेसनल पार्कको उत्तर-पश्चिम क्षेत्रमा पर्दछ। जसलाई रेसट्रयाक प्लाया भन्दछन्। वास्तवमा यो आफैमा एक सुक्खा ताल हो। जसमा ढुंगा घिस्रिएको डोब देख्न सकिन्छ।
तालको अवस्थिति
समुद्री सतहबाट १ हजार १ सय ३२ मिटर उचाइमा रहेको रेसट्रयाक प्लाया ४.५ किलोमिटर लामो तथा २.१ किमि फराकिलो छ। रेसट्रयाक प्लाया एउटा उपत्यकाको स्वरुपमा अवस्थित छ। ५ सय ९९ मिटरदेखि १ हजार ७ सय ३१ मिटरसम्म अग्ला पहाडहरु वुबेहेवे पिक, कटनवुड तथा नेल्सन रेन्जले यसलाई घेरेको छ।
वर्षाको समयमा पहाडबाट बगेर आएको धमिलो तथा लेदोजस्तो पानी जम्मा हुँदा यसले तालको रुप लिन्छ। सो समयमा पानीले बगाएर ल्याएको माटो तथा स–साना गिटीहरुले तालको सतह नै बढाइदिन्छ। हिउँदको समयमा भने मरुभूमिको इलाका भएर होला चर्को घामले गर्दा तालको पानी सुक्छ। जमिनको पनि आर्द्रता घट्दै जान्छ र चिप्लो हिलो जस्तो माटो सुक्खा हुने गर्दछ। जब माटो सुक्खा हुने क्रम बढ्छ तब जमिन चिरा पर्न थाल्छ। त्यो चिराइ हेर्दा लाग्छ तालमा पनि मोजाइक टायल बिछ्याइएको छ। मानौँ त्यो ताल नभएर घरको आँगन हो, या त सडक।
के ती ढुंगा मानिस वा जनावरले घिसारेका हुन्?
ढुंगाको पछाडि बनेको डोबलाई हेर्दा सहजै अनुमान लगाउन सक्छौँ कि त्यो डोब तालको माटो गिलो भएको अवस्थामा बनेको हो। तर तालभरि ढुंगा घिस्रिएको जस्तो लाग्ने धर्सोबाहेक न त मानवको पाइला देख्न सकिन्छ न त जीवजन्तुको। यसकारण यो कार्यमा यी दुवैको हात छैन भन्ने विश्वास गर्न कर लाग्छ।
हावाले गर्दा पो हो कि!
यस क्षेत्रमा सामान्यतया दक्षिण पश्चिमबाट उत्तरपूर्व तर्फ हावा बहन्छ। तालमा देखिने ढुंगाका धर्साहरु पनि ठिक यसै दिशातर्फ समानान्तर हुनेगरी कोरिएका छन्। जसले गर्दा यो कारणलाई बलियो आधार मान्न सकिन्छ कि हावाको वेगसँगै ढुंगाहरुले आफ्नो स्थान परिवर्तन गरेका हुन्। तर पूरापूर विश्वास गर्न त्यतिबेला सकिँदैन जतिबेला केही कारण यसको विपक्षमा देखिन्छन्।
तालको माटो गिलो भएको अवस्थामा यस्ता डोब बनेको हुन सक्ने यसअघि नै चर्चा गरिसकेका छौँ। सो अवस्थामा माटो चिप्लो हुनेहुँदा कम वेगमा हावा बहँदा पनि ढुंगा चिप्लिन सक्ने कुरालाई तथ्यपरक मान्न सकिन्छ। यसका अलावा केही स्थानमा धर्साहरुको दिशा मोडिएको रेसट्रयाक प्लायामा देख्न सकिन्छ। यसलाई हावाले दिशा परिवर्तन गरेको अवस्थामा यस्तो हुने सम्भावनालाई अर्थ्याउन सकिन्छ।
स–साना ढुंगा तथा पत्थरका लागि यो कारणलाई विश्वास गर्ने हो भने पनि जब एक पटक तालमा रहेका करिब एक सय पाउन्डभन्दा धेरै वजनका र अनियमित आकारका ठूला ढुंगा तथा पत्थरको पछि बनेका धर्साहरुमा नजर जान्छ हावालाई पनि विश्वसनीय कारण मान्न कर लाग्दैन। कारण तुफानका लागि पनि त्यो असम्भव कुरा को जो त्यो ठाउँको भौगोलिक बनावट अनुसार सम्भव नै छैन।
अब बरफ (आइस) को पालो
केही वर्षको अन्तरालमा कम मात्रै गहिराइ भएको सो तालमा बरफ जम्ने गर्दछ। पानीको सतहमाथि बन्ने सो बरफको सतह हावाको गतिसँगै चलायमान हुने गर्दछ। जब हिलो तथा चिप्लो माटोमाथि रहेका ती ढुंगाहरुलाई बरफले ठक्कर दिन्छन्। ढुंगाहरुले आफ्नो स्थान बिस्तारै परिवर्तन गर्दछन्। यसका लागि ढुंगाको आकार तथा वजन हेरेर थोरै तथा धेरै दिन पनि लाग्न सक्छ। ढुंगाको बाटो बन्नका लागि हावा बहने दिशाले भूमिका खेल्दछ।
जब मौसममा सुधार आउँछ, तब बरफ बिस्तारै पग्लिँदै जान्छ। गर्मी बढ्दै गएपछि पानी पनि सुक्न थाल्छ। त्यो समयपछि मात्र ढुंगाको पछाडि बनेको धर्सो सजिलै देख्न पाइन्छ। तपक्रमको उच्च वृद्धि भएसँगै तालको समथर मैदानमा चिरा पर्न थाल्छ। मोजाइक टायल्स बिछ्याएको जस्तो लाग्ने सो दृश्यमा ढुंगाको पछि बनेको ट्रयाक निकै कलात्मक र अचम्मको देखिन्छ।
यो तथ्यलाई प्रमाणित गर्न पहिलो पटक ब्रायन डनिङले अनुसन्धानपछि सार्वजनिक गरेको भिडियो सूत्रधार बन्यो।
कसरी खुल्यो रहस्यको पर्दा?
सन् २०१३ सम्म हावालाई शक्तिको स्रोत तथा पानीमाथि तैरिएको बरफको तहले सो शक्तिको सहारामा ६ सय पाउन्डसम्मका ढुंगालाई पनि स्थान परिवर्तन गराउन सहयोग पुगेको हो भनेर मानियो।
तर यो अचम्मको गुत्थी त्यतिबेला मात्रै सुल्झियो जब सन् २०१३ को डिसेम्बरमा एक अनुसन्धान सुरु भयो। जतिबेला तालमा पानीको तह ३ इन्चभन्दा बढी थियो र जमेर आइस बनेको थियो। अनुसन्धानकर्ताहरुले डिसेम्बरदेखि सन् २०१४ को जनवरीसम्म धेरै ढुंगा तथा पत्थरहरुले आफ्नो स्थान परिवर्तन गरेको देखे। स्क्रिप्स इन्स्टिच्युसन अफ ओसनोग्राफीले सो तथ्यलाई प्रमाणित गर्न भिडियो नै सार्वजनिक गरिदियो।
फेब्रुअरीपछि ताल सुक्दै जान थाल्यो र चिरा पर्न थाल्यो। त्यो समयमा रेसट्रयाक प्लायामा प्रत्येक ढुंगामा नयाँ धर्सो देखियो। केही ढुंगाहरुमा जिपिएस रेकर्डर सामग्री फिट गरेर तालमा राखिएको थियो। जिपिएसको सहायतामा जम्मा ४ चरणको हिँडाइमा केही ढुंगाहरुले ७ सय फिटभन्दा बढीको यात्रा तय गरेको पुष्टि भयो।
यो अनुसन्धानले हावाका सहायतामा पानीमाथि तैरिएका आइसका ढिक्काहरुले ढुंगालाई ठक्कर दिँदा ढुंगा सर्ने कार्यलाई नै अन्तिम पटक पुष्टि गरिदियो। अन्ततः यो अचम्मको रहस्यमाथिको पर्दा खुल्न पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।