कञ्चनपुर- ऋण काढेर विदेश पठाएको छोराको मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार आँसुमा डुबेको छ। उनको शव अझै नेपाल ल्याउन सकिएको छैन।
साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएको हो। उनी तीन वर्षअघि विदेश गएका थिए। 'छोरा अढाई वर्ष काम गरेर तीन महिनाको बिदा लिएर घर फर्किएको थियो,' शेरबहादुरले भने, 'त्यसपछि पुनः सोही कम्पनीमा काम गर्न फर्कियो। एक महिनापछि घर फिर्ता हुँदैछु भनेर खबर गरेको थियो। तर मृत्युको खबर सुन्नुपर्यो।'
बस्दै आएको कोठामा आत्महत्या गरेको भनेर गत साउन २९ गते परिवारलाई खबर आएको थियो। त्यसपछि शव स्वदेश ल्याउनका लागि विभिन्न निकायमा धाए पनि शव ल्याउन नसकेको बुवा शेरबहादुरले भने।
शव ल्याउनका लागि साउदी अरबस्थित दूतावास, काउन्सिलर विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयमा निवेदन दिनाका साथै प्रधानमन्त्री, मन्त्री र सांसद सबैलाई भेटेर गुहार गर्दा आश्वासन मात्रै पाइएको मृतकका दाजु नाता पर्ने ईश्वर सुनारले बताए।
राजदूतावासले शव स्वदेश ल्याउनका लागि पहल भइरहेको भने पनि अहिलेसम्म पाउन नसकेको उनले बताए। 'घरका सबै जनाले मृतकको मुख हेर्ने भन्छन्,' उनले भने, 'शव ल्याउन निकै कसरत गरे पनि केही सिप लागेको छैन।'
रोजगारदाता कम्पनीले नौ महिनाको तलबसमेत परिवारलाई उपलब्ध गराएको छैन। दुई छोरी, श्रीमती, आमाबुबा र दुई भाइ रमेशकै कमाइमा निर्भर रहेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।