–ब्लग–
इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको अक्सनमा दिल्ली डेयरडेभिल्सको रोजाइमा परेपछि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने एकाएक चर्चाको शिखरमा पुगेका छन्। आन्तरिक कलह र विवादको घेरामा रहेको नेपाली क्रिकेट र राष्ट्रिय क्रिकेट टिमको खस्कँदै गएको स्तरका बीच नेपाली प्रतिभाले विश्व क्रिकेटको आकर्षक मञ्च आइपिएलमा स्थान बनाउन सक्नु नेपाली क्रिकेटको लागि ऐतिहासिक क्षण हो। अब यससँगै सन्दीपको सम्भाव्यताबारे विश्लेषण हुन थालेका छन्।
१७ वर्षको कलिलो उमेरमै आइपिएलमा अनुबन्ध हुन सफल सन्दीपका सामु अवसरका साथै त्यसलाई सदुपयोग गर्नुपर्ने चुनौती पनि अगाडि आएका छन्।
छनोटको आधार
आइपिएलमा सन्दीपको छनोटबारे अनेक अड्कलबाजी भइरहेका छन्। तर दिल्ली डेयरडेभिल्सका आधिकारिक व्यक्तिहरुको भनाइ र सन्दर्भलाई विश्लेषण गर्दा छनोटको मुख्य आधार सन्दीपको प्रतिभा नै हो। अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कसँगको संयोगले उनको प्रतिभालाई उजागर गर्ने मञ्चको रुपमा हङकङको ब्लिट्ज टी–२० प्रतियोगिता कोसेढुंगा साबित भयो।
क्लार्कले उनलाई कुनै दया गरेर अस्ट्रेलियामा प्रशिक्षणको अवसर दिएका होइनन्। अस्ट्रेलियाको क्रिकेट संस्कार प्रतिभा र प्रदर्शनमा आधारित छ भन्ने कुरामा कुनै दुविधा छैन। लामो समय राष्ट्रिय टिमबाट खेलेका प्रख्यात क्रिकेटरहरुलाई समेत केही समय प्रदर्शन गर्न नसक्दा टिममा कुनै स्थान नदिने संस्कार अस्ट्रेलियाको छ। स्टिव वाँ, मार्क वाँ, ग्लेन म्याक्सवेल जस्ता होनहार क्रिकेटरले समेत नियमित प्रदर्शन गरी टिममा स्थान पक्का गर्नको लागि संघर्ष गरेको इतिहास छ। तसर्थ क्लार्कले सन्दीपमा निहित प्रतिभाको मूल्यांकन गरेर उनमा भएको असीमित प्रतिभालाई थप प्रस्फुटन गर्ने अवसर प्रदान गरेका हुन्, यसमा कुनै सन्देह लिनु हुँदैन।
आइपिएलमा अवसरको सम्भावना
आइपिएल टिममा स्थान बनाउन सन्दीपको लागि सबैभन्दा ठूलो चुनौती भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमै अब्बल प्रदर्शन गरिरहेका अमित मिश्रा हुनेछन्। तथापि दिल्ली डेयरडेभिल्सका मुख्य प्रशिक्षक रिक्की पोन्टिङको सन्दीपप्रतिको चासो तथा नयाँ प्रयोग गर्ने र विद्रोही स्वभावका कप्तान गौतम गम्भीरको कारण सन्दीपले केही म्याचमा स्थान बनाउन सक्ने देखिन्छ। यति ठूला प्रतियोगिताहरुमा प्रतिभा भएका तर अनुभवको अभाव भएका क्रिकेटरलाई मौकाहरु बारम्बार प्राप्त हुँदैनन्। कुनै पनि प्राप्त मौकालाई सन्दीपले तत्काल सदुपयोग गरी थप अवसर सिर्जना गर्नुपर्ने हुन्छ। प्राप्त सीमित अवसरमा नै आफूलाई अब्बल दर्जाको लेग स्पिनरको रुपमा प्रमाणित गर्नुपर्ने बाध्यता सन्दीपसामु छ। यसका अतिरिक्त टी–२० क्रिकेटमा विकेट लिनु मात्र ठूलो मानिँदैन, विकेटबिना पनि अत्यन्त्य कम इकोनोमी वा कम खर्चिलो बलिङ गर्नु आवश्यक हुन्छ।
सन्दीपभन्दा २ वर्ष जेठा तर सन्दीपकै जस्तो लेग स्पिन र गुगलीमा प्रख्यात अफगानिस्तानका रसिद खानले विश्व क्रिकेटमा छोटो समयमै आफूलाई स्थापित गरिसकेका छन्। आइपिएलमा ९ करोडको राशीमा उनको अनुबन्ध हुनु यसको पछिल्लो प्रमाण हो। प्रशस्त सम्भावना भएर एसोसिएट राष्ट्रबाट मौका पाउनेमा अर्को नाम हो संयुक्त अरब इमिरेट्सका चिराग सुरी। तथापि उनले प्राप्त अवसरलाई सदुपयोग गर्न असफल रहे र हाल राष्ट्रिय टिममा पर्न समेत संघर्षरत छन्। तसर्थ सन्दीपको अबको बाटो उनलाई प्राप्त हुने अवसर र प्राप्त अवसरको सदुपयोगमा निर्भर रहन्छ।
दिल्ली डेयरडेभिल्सको नजर नामिबियामा अर्को सातादेखि हुन लागेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा समेत हुनेछ। सन्दीपले डिभिजन टु र तत्पश्चात हुने प्रतियोगिताहरु अनि आइपिएलको पूर्वाभ्यासको क्रममा हुने म्याच र नेट प्राक्टिसको क्रममा प्रभाव पार्नुपर्ने हुन्छ। त्यसले नै तय गर्नेछ सन्दीपको भविष्य कुन मार्गमा जानेछ भनेर। उनलाई रसिद खानको स्टारडम प्राप्त हुनेछ या चिराग सुरीको जस्तो अस्तित्वको लागि पुन संघर्ष गर्नुपर्ने अवस्था आउँछ, यो भविष्यकै गर्भमा छ।
सुधारका क्षेत्रहरु
सबैभन्दा बढी ग्ल्यामर भएको टी–२० प्रतियोगिताहरुमा क्रिकेटरहरु बहुआयामिक हुनुपर्दछ। व्यावसायिक क्रिकेटमा अपेक्षाहरु अझ बढी हुन्छन्। ब्याटिङ वा बलिङको कुनै एक विधामा मात्र केन्द्रित क्रिकेटरहरुले उक्त विधामा म्याचको नतिजा परिवर्तन गर्न सक्ने उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्दछ। ब्याट्सम्यानहरुको तुलनामा बलरहरुमाथि प्रदर्शनको थप दबाब हुने गर्छ। हरेक टिमले पुछारका ब्याट्सम्यान (बलरहरु) ले समेत आवश्यक परेको बेलामा केही रन लिन सकून् भन्ने अपेक्षा राखेका हुन्छन्। टी–२० म्याचहरुमा १०/१५ रनहरुको पनि अत्यन्तै महत्व हुने गर्दछ।
सन्दीपले बलिङका साथसाथै आवश्यक परेको बेलामा स्ट्राइक परिवर्तन गर्न सक्ने र बाउन्ड्री समेत प्रहार गर्न सक्ने क्षमता विकास गर्न सकेमा उनको महत्व थप बढ्नेछ र टिममा नियमित स्थान बनाउन सहायकप्रद हुन सक्छ। हाल आइपिएल खेलिरहेका अधिकांश बलरहरु ब्याटिङमा समेत योगदान गर्न सक्ने क्षमता राख्दछन्। सन्दीपले केही मात्रामा भए पनि यसतर्फ समेत ध्यान दिनुपर्ने देखिन्छ।
सम्भाव्यता
सन्दीपले आफ्नो फिटनेसलाई कायम राख्न सके अबको करिब दुई दशकसम्म सक्रिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सक्नेछन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गर्न सकेमा सायद उनले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने छैन। यससँगै अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको क्यारेवियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेशको ढाका प्रिमियर लिग, दक्षिण अफ्रिकाको टि-२० ग्लोबल लिग र इंग्ल्यान्डको काउण्टी क्रिकेट सम्मको यात्रा तय गर्न सहज हुनेछ। सन्दीपले आइपिएलमा यसपटक उपयुक्त मौका प्राप्त गर्न नसकेको अवस्थामा पनि हतोत्साहित हुनु हुँदैन।
आइपिएलमा छनोट मात्र पनि सन्दीपको लागि ठूलो खुड्किलो पार गरेसरह हो। यसकै आधारमा भविष्यका आइपिएलका संस्करण र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत छनोट र अवसरको सम्भावना भने रहिरहन्छ। त्यसको लागि उनले निरन्तर राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो प्रभावशाली प्रदर्शनलाई कायम राख्न सक्नुपर्छ।
नेपाली क्रिकेटमा आशाको दियो बनेर देखापरेका सन्दीप अहिले लाखौं युवाको प्रेरणाको स्रोत बनेका छन्। सन्दीपले देशभित्रको ख्यातिलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन कत्तिको सफल हुन्छन्, नेपाली खेलप्रेमीहरुको सम्पूर्ण नजर आइपिएलतर्फ हुने निश्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।