काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ।
एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए।
कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए। एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ । कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको सो अवसरमा जानकारी दिइएको थियो।
एनआरएनका प्रवक्ता भूषण घिमिरेले एनआरएनले हालसम्म गर्दै आएका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराएका थिए। एनआरएनले बागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ । सो परियोजनाको निर्माण लागत करिब रु दुई करोड २५ लाख अनुमान गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।