'शैली, दादालाई चकलेट दियौ?' पाँच वर्षकी मेरी छोरीलाई सोधेँ।
उसले तुरुन्त जवाफ दिई, 'दिएँ बाबा।'
केहीबेरपछि १० वर्षको छोरा सुयोगलाई चकलेट कस्तो लाग्यो भनेर सोध्दा अचम्म मानेर उसले भन्यो, 'कुन चकलेट, खै मैले त पाएकै छैन।'
छोरीले नराम्रो राजनीति गरिछे भन्ने सोचेर बोलाएँ। अनि दाइले नपाएको तर उसले दिएँ भनेको बेरुजु चकलेटबारे सोधेँ। उसले तुरुन्तै आफू फसे र अब ढाँटेर केही हुनेवाला छैन भन्ठानेर गल्ती स्वीकार्दै भनी, 'आई एम सरी बाबा, मलाई मनपर्यो खाएँ। तर हजुरसँग झुटो बोलेँ। अबदेखि यस्तो गल्ती गर्दिनँ।'
उसको आँखा केही झुकेको थियो र मनमा ग्लानिको भावना थियो। पाँच वर्षकी अबोध छोरीले गल्ती स्वीकारेपछि मेरो मन पग्लिएर आयो। उसलाई अँगालो मार्दै भनेँ, 'ठिक छ छोरी, तिमीले गल्ती गरेँ भन्ने महसुस गर्यौ त्यो नै ठूलो कुरा हो। अब त्यस्तो गर्दिनँ भनेपछि तिम्रो बाबालाई विश्वास भयो। गल्ती सबैको हुन्छ तर गल्ती स्विकार्नु नै ठूलो कुरा हो।'
हामी सबैले जानी-नजानी गल्ती गर्छौं र त्यसलाई ढाकछोप गर्न केके सम्म गर्छौं भन्ने उदाहरण माथिको प्रसंगले देखाउँछ।
हामीभित्र मानव र दानवका केही गुण हुन्छन्। सत्कर्मले मानव गुण र खराब कर्मले दानव गुण बढ्दै जान्छ भनेर पनि भनिन्छ। जसरी हाम्रो शरीर पूरै स्वस्थ हुन एकएक अंग स्वस्थ हुन जरूरी छ त्यसरी नै देशको समृद्धि र विकास हुन हरेक क्षेत्रमा सन्तुलित स्वस्थ र सन्तुलित समन्वय हुन जरूरी छ।
हाम्रा शैक्षिक, प्रशासनिक, न्यायिक, कूटनीतिक र सुरक्षाका संस्थाहरू किन कमजोर छन् र अबको आउने दिनमा हामीले के गर्नुपर्छ? केहि विश्लेषण र सुझाव पेस गर्नेछु।
समय-सापेक्ष शिक्षाको अभाव
नेपालमा हामीले कामदार उत्पादन गर्ने र प्रश्नको उत्तर सम्झेर दिन सक्ने 'घोकन्ती' शिक्षा को प्रवर्द्धन गरेका छौं।
अध्ययन गर्दा विश्लेषण, विवाद, तर्क-वितर्क गर्ने र विविध विचारलाई समेट्ने हाम्रो शिक्षाले सिकाएकै छैन। हामीले विद्यार्थीहरूलाई 'क्यारेक्टर सर्टिफिकेट' त दियौं तर 'क्यारेक्टर' के हो भनेर बुझाउने जमर्को कहिले गरेनौं। हजारौं विद्यार्थी ब्याचमा निकाल्छौं तर उनीहरूमा हुनुपर्ने साधारण दक्षताका गुणहरू सिकाउन सकेका छैनौं।
'क्यारेक्टर' भनेको मेहनत, त्याग, सूक्ष्म-अध्ययन र अरूप्रतिको संवेदनशीलताले खारेर बनाउने अनुशासन हो भन्ने बुझ्न अझै बाँकी छ। यसको अभावमा देशैभरि 'क्यारेक्टर' नभएका तर हल्ला-हुलदंगा गर्ने र छिटो नतिजा खोज्नेहरूको हरेक क्षेत्रमा वर्चस्व बढिरहेको देख्न सकिन्छ। यसलाई चिर्ने एउटा मात्रै उपाय छ; उत्कृष्ट, दक्ष, लगनशील र नैतिकता भएका अर्थात् 'क्यारेक्टर' भएकाहरूलाई संस्थाको नेतृत्व हाँक्न दिने।
समन्वयको अभाव
घर, परिवार, देश र विश्वका सम्पूर्ण समस्या एक-अर्कासँग जोडिएर रहेका हुन्छन्। रुखको फलमा किरा लाग्यो भने फल काटेर फालेर मात्रै समस्याको समाधान हुने होइन। किन किरा लाग्यो? माटोको उर्वराशक्तिमा किन ह्रास आयो? कुन उपाय अपनाउँदा समाधान हुन्छ? यो पत्ता लगाउन माटोको अध्ययन, वातावरणको अध्ययन, मलको प्रयोग र कुन समूहले के समस्याबारे सोधखोज गर्ने भन्नेबारे प्रस्ट खाका तयार हुनु जरूरी छ।
नेपालमा मात्रै होइन विदेशमा हुने प्राय: नेपालीरूले आयोजना गर्ने कार्यक्रमहरूमा समन्वयको टड्कारो अभाव देखिन्छ। यसको सम्पूर्ण नालीबेली हाम्रै शिक्षा नीति, व्यावहारिक दक्षता र समयको सदुपयोगमा ठोक्किन पुग्छ। जबसम्म हामी समस्या समाधान गर्न सक्ने व्यक्ति वा संस्थासम्म पुग्दैनौं, हाम्रा यी समस्या वर्षौंसम्म अझ जेलिएर बसिरहनेछन्।
मर्यादित तरिकाबाट र नम्र विरोध गर्ने
अरूलाई सानो देखाएर वा होच्याएर म ठूलो भएँ भन्ने सोच हामीमा व्याप्त छ। मानवीय त्रुटि हुन सक्छन् तर व्यक्ति विशेषलाई इंगित नगरी वा चरित्र हत्या नगरी विरोध गर्दा त्यसले दुरगामी प्रतिफल दिन्छ।
अहिले डा गोविन्द केसी, उहाँको अनसन र सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीबीचको चर्चा जसरी जोडिएर आएका छन्, त्यसले मर्यादित संस्थामा नै शंकाको स्थिति पैदा भएको छ। डा केसी शालीन, नि:स्वार्थ र असल मान्छे हुन्। यसमा कसैको दुई मत छैन तर वरिष्ठ डाक्टरले न्यायालयको उच्च पदमा रहेका व्यक्तिलाई 'यो भ्रष्ट छ, यसलाई कारबाही नगरुन्जेल अनसन बस्छु' भन्ने प्रवृत्तिले भोलि नराम्रो नजिरको सुरुवात गर्न सक्छ। बरू उहाँले सम्पूर्ण संस्थाको नीतिनियम राम्ररी कार्यन्वयन गर्न, अनुगमन चुस्त र सही राख्न अनसन बस्छु भन्ने हो भने त्यसले देशका हरेक निकायलाई एउटा नैतिक दबाब पर्ने थियो।
हैकमवादी राजनीतिक नेतृत्व
नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्झन् हामी पछि परिरहेका छौं। यो वाद र त्यो वाद, झन्डाको फेरबदल, व्यवस्थाको परिवर्तन र आरोप-प्रत्यारोपमै हामीले वर्षौंदेखि समय खेर फालिरहेका छौं। एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन्। अर्कातिर विदेशमा केही जानेबुझेकाले सल्लाह दिन खोजे यो जान्ने भयो भनेर खिसीट्युरी पनि गर्न पछि पर्दैनौं। हामीले कुनै उच्च पदमा बस्ने समयको सीमा, पदको गरिमा र त्यो पदमा बसिसकेपछि बाँकी जीवन देशलाई असल नागरिक भएर अरू विधामा योगदान के गर्ने भन्ने बारेमा सोचेकै छैनौं।
दुई-तीन पटक प्रधानमन्त्री भइसकेका नेताहरु फेरि राष्ट्रपति पद पाइन्छ कि भन्ने लबिइङमा छन्। तर उनीहरूलाई 'तपाईं प्रधानमन्त्री हुँदा गरेका ५ वटा राम्रा कुरा भन्दिनुस्' भन्दा भन्न सक्ने स्थिति छैन। यो जनताप्रतिको गैरजिम्मेवारीपन हो कि हैन? उहाँहरूले देश उल्टो दिशामा गएको जिम्मेवारी लिनुपर्छ कि पर्दैन? संसारका कुनै पनि राम्रा मुलुकमा एक-दुई पटक उच्च ओहोदामा बसेका मान्छे निर्वाचन परिणामपछि सुटुक्क पद हस्तान्तरण गरेर कहिले पनि समाचारमा ननाउने गरी बिदा हुन्छन्। यसको निवारण शीर्ष नेताहरूले आत्मालोचना गरेर दक्ष, सबल, नैतिक र आँटिला युवा पुस्तालाई बागडोर सम्हाल्न दिने र आफू सल्लाहकार भएर बस्नु नै हो।
सगरमाथाको उचाइले चिनिने हाम्रो देश छ, झिना मसिना कुरामा अल्झेर र झगडा गरेर आफ्नो उचाइ आफै किन घटाइरहेका छौं? गौतम बुद्ध जन्मेको शान्ति क्षेत्रमा किन भद्रगोल र अशान्तिको मनस्थिति लिएर हिँड्नु?
इतिहासमा हामीले अंग्रेजी तोप, गोला र बारूद रोकेकै हो, अहिलेको चलखेल पनि पक्कै रोक्न सक्छौं, हामीले आफैमा विश्वास गर्न सके। तर एकले अर्कोलाई सानो देखाएर होइन, हिमाल, पहाड र तराई एक ढिक्का भएर र एकजुट भएर।
यो देशका विशाल हिमालहरू कसैले हामीलाई अनुदानमा दिएका होइनन्। यो देशजति शान्त, सुन्दर र उर्वर संसारमा अरू कहीँ छैन। आफैमा विश्वास गर्न सिकौं। विश्वास, नैतिकता र देशभक्ति सिकाउने कुनै पाठशाला छैन; यो हाम्रो अन्तर्मनबाट आउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।