काठमाडौं– बैदेशिक रोजगारीमा जाने नेपालीहरु स्वदेशमै कर्मचारीहरुबाट कसरी ‘लुटिन्छन्’ भन्ने कुरा शुक्रबार श्रम कार्यालयका एक कर्मचारी पक्राउ परेपछि प्रष्ट भएको छ। कानुनी प्रक्रिया पुरा गरेरै बैदेशिक रोजगारमा जानका लागि समेत कर्मचारीहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म घुस असुल्दै आएको छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिहान गोंगबुस्थित लुम्बिनी फाष्टफुड रेष्टुरेन्टबाट श्रम कार्यालय ताहाचलका नायब सुब्बा नगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको थियो। २ लाख ३४ हजार रुपैयाँ घुससहित उनी पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान गर्ने क्रममा बैदेशिक रोजगारीमा जाने युवा÷युवतीबाट कर्मचारीहरुले दैनिक लाखौं रुपैयाँ असुल्ने गरेको पाइएको छ।
नयाँलाई १ लाख, पुरानालाई ३५ हजार
बैदेशिक रोजगारमा जान चाहने तीन युवाहरुले बुधबार नासु गौतमलाई ताहाचलस्थित कार्यालयमा भेटेर सजिलै श्रम स्वीकृती मिलाइदिन कुरा गरेका थिए। जसक्रममा उनले आफ्ना ‘फिक्स रेट’ सुनाए–नयाँ श्रम स्वीकृतीका लागि प्रतिव्यक्ति एक लाख पुरानोको ३५ हजार।
तीन युवक पैसा तिर्न तयार भए। तर, आफुहरुसँग तत्काल पैसा नभएको भन्दै उनीहरुले शुक्रबार दिने बताए। तत्काल १ हजार रुपैयाँ कागजपत्र फोटोकपी लगायत कामका लागि भन्दै नासु गौतमले लिएका थिए।
तीन मध्ये दुई जनाको नयाँ श्रम स्वीकृती निकाल्नु थियो भने एक जनाको पुरानो। त्यसवापत २ लाख ३५ हजार रुपैयाँको डिल भएको थियो।
सोही अनुसार शुक्रबार कार्यालय जानुभन्दा पहिला उनी पैसा लिन गोंगबुस्थित लुम्बिनी फाष्ड फुड रेष्टुरेन्टमा पुगे। पैसा लिएर खल्तीमा हालेलगत्तै अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। पैसा दिने युवाहरुले कर्मचारीको घुसखोरीबाट दिक्क भएर आयोगलाई खबर गरेर पैसा दिएका थिए। श्रम कार्यालयमा सधैं भिडभाड हुने र त्यसमा पनि कर्मचारीले झुलाउने भएकाले झन्झटबिना काम गर्नका लागि घुस लेनेदेन हुने गरेको छ।
श्रमबाटै एयरपोर्टको सेटिङ
पक्राउ परेका गौतमले श्रम स्वीकृतीका लागि मात्र नभई विमानस्थलमा समेत सेटिङ मिलाइदिने भन्दै उक्त पैसा लिएका थिए। एयरपोर्टमा रहेका अध्यागमनका कर्मचारीहरुलाई मिलाएर कतार उडाइदिने भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँको डिल गरेका हुन्। अख्तियारका एक अधिकारीका अनुसार उनीहरुले कार्यालयका हाकिमदेखि अध्यागमनका कर्मचारीहरुलाई समेत मिलाउने काम गर्दै आएका थिए। अध्यागमनका कर्मचारीसँग पनि उनको बारम्बार फोन सम्पर्क हुने गरेको र त्यसबारेमा पनि अुनसन्धान भइरहेको आयोगले जनाएको छ। यद्यपी गौतमले भने अन्य कर्मचारीहरुको नाम पोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।