बैतडी- बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा मूलगेटको शिलान्यास गरिएको छ।
सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले बिहीबार संयुक्त रुपमा शिलान्यास गरे।
प्रवासमा रहेका बैतडीका युवाले सामाजिक सञ्जालबाट संकलन गरेको रकमबाट उक्त गेट निर्माण हुन लागेको हो। प्रवासमा रहेका युवाले हालसम्म रु २ लाख २ हजार ५८ संकलन गरेका छन् भने संकलन कार्य जारी राखेका छन्।
सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष हर्कबहादुर पाण्डेयले रोजगारीको सिलसिलामा देशबाहिर रहेका युवाले पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वर्द्धनका थालेको कार्य निकै सराहनीय भएको बताए।
पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।