राजधानीको पुरानो बानेश्वरमा मतदान गर्न डेढ घन्टा पैदल

नेपाल लाइभ

Nepal Live

काठमाडौं- राजधानी काठमाडौंमै डेढ घन्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो।

भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेलले मतदान गर्नकै लागि डेढ घन्टा हिँड्नुपर्‍यो। काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर उनले मतदान गरिन्।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनी भक्तपुरबाट पैदल हिँडेकी हुन्।

कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घन्टा हिँडेर आएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दुरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउँछन्। मतदानपछि भट्टराईले पार्टीभन्दा पनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताए। 'जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,' उनले भने।

बानेश्वरबाट मतदानका लागि आएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मक्ख थिए। निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको उनले बताए।

निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म हिँडेरै पुगेका छन्।रासस

पढ्नै पर्ने