नयाँ युगको देशलाई भोट हाल्न पाएँ : राष्ट्रकवि घिमिरे [भिडियो]

हिम विक्रम

Nepal Live

काठमाडौं– उमेरले राष्ट्रकवि माधवप्रसाद घिमिरे ९९ वर्ष पुगे। नेपालमा राणा शासन हुँदै प्रजातन्त्रको स्थापना, पञ्चायत, बहुदल, शाही शासन र गणतन्त्रको व्यवस्था देखेका, भोगेका राष्ट्रकविले जीवनमा कति पटक भोट हाले, याद छैन। तर, पहिलो पटक २०१५ सालमा भोट हालेको उनलाई सम्झना छ। राष्ट्रकविलाई लाग्छ, नयाँ संविधान जारी भएपछि देशमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको छ। 

मध्याह्न साढे १२ बजे काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत लैनचौर जनकनाथ मेमोरियल विद्यालयको मतदान केन्द्रमा भोट हाल्न राष्ट्रकवि धर्मपत्नीसहित पुगेका थिए।

अब भने राष्ट्रकविलाई मुलुकले प्रगति र समृद्वि हासिल गर्ने विश्वास लागेको छ। अबका दिनमा कुरा र चर्चाले मात्र नेता बन्न नसक्ने भन्दै उनले जसले काम गरेर देखाउन सक्छ, सोही व्यक्ति समाज र राष्ट्रको नेता हुने बताए। 

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राष्ट्रकविले निर्वाचन मार्फत देश राजनीतिक स्थायित्वमा जाने र त्यसले समृद्विको ढोका खोल्ने विश्वास व्यक्त गरे। भावुक हुँदै राष्ट्रकविले भने, ‘म त बुढो भएँ, नयाँ युगको देशलाई भोट हालेर जान पाएको छु। आजको दिन मेरो जीवनकै महत्वपूर्ण छ।’

हेर्नुस पूरा भिडियोः 

पढ्नै पर्ने