मतदाताको चिन्ता- ‘हाम्रो मत नेतालाई कुर्सीमा पुर्‍याउन सीमित नहोस्’

विनोद शाही

Nepal Live

सुर्खेत– वीरेन्द्रनगर–६ का परशुराम नेपालीले जनमाध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट बिहीबार बिहानै मतदान गरे। मतदान गरेर विद्यालय परिसरबाट बाहिर निस्कदै गरेका उनको अनुहारमा जति उत्साह देखिन्थ्यो, त्यत्तिकै चिन्ता उनको मनमा थियो। 

‘संविधानले दिएको अधिकार उपयोग गरेर मैले मतदान गरेँ’ उनले भने, ‘तर हाम्रो मत नेताहरुलाई कुर्सीमा पुर्‍याउन मात्रै सीमित हुन्छ कि भन्ने चिन्ता भने लागिरहेको छ।’

०६४ को संविधानसभा निर्वाचनयताका हरेक निर्वाचनमा सहभागी परशुराम राजनीतिक नेतृत्वबाट भने सन्तुष्ट छैनन्। 

‘संविधान बनाउनेजस्तो महत्वपूर्ण काम समेत समयमै गर्न सकेनन्’ उनले असन्तुष्टि पोखे।

दलहरुले पटक–पटक आफूले पाएको जिम्मेवारी पूरा गर्न नसकेको बताउने परशुराम तिनै दलको नेतृत्व नसुध्रिएसम्म मुलुकको विकास हुन नसक्ने बताउँछन्। 

‘नेताहरुले हृदयदेखि नै देश र जनताका लागि काम गर्छु भनेर लाग्ने हो भने हामीले अहिले बेहोरिरहेको समस्या समाधान भइसकेको हुनेथ्यो’ उनले भने, ‘तर उनीहरुले जति गर्नुपर्ने हो, त्योभन्दा निकै न्यून काम मात्रै गरे।’

देशले नयाँ संविधान प्राप्त गरिसकेकाले अब विकास–निर्माणले गति लिनुपर्ने र यही अपेक्षासहित आफूले मतदान गरेको उनको भनाइ छ। 

‘म जस्तै आम नागरिकको अपेक्षा पनि यही हो, नेताहरुले यसलाई राम्ररी बुझ्नु जरुरी छ’, परशुरामले भने। 

गुर्भाकोट, सुर्खेतका कृष्णप्रसाद आचार्यको चिन्ता पनि परशुरामकै जस्तो छ। मतदान गरेर फर्किदै गरेका उनले भने, ‘भोट त हालियो । हेरौं, नेताहरुले जितेपछि हाम्रो लागि काम गर्छन् कि गर्दैनन्!’ 

उनले देशमा स्थायी सरकार बनोस् र मुलुक समृद्धि होस् भनेर मतदानमा सहभागी भएको बताए। 

वीरेन्द्रनगरकै पार्वती नेपालीले पनि नेताहरुले जनताका पीरमर्का बुझिदिनुपर्ने बताइन्। भनिन्, ‘हामीले हाम्रा लागि राम्रो काम गरुन् भनेरै भोट हाल्ने हो। नेताहरुले यो कुरा बुझिदिनुपर्छ।’ 

उम्मेदवारहरुले यसअघि पनि पटकपटक विभिन्न आश्वासन देखाएर पूरा नगरेको भन्दै उनले नेताहरुलाई पदमा पुर्‍याउनकै लागि आफूले मतदान नगरेको बताइन्। 
‘हाम्रो भोटले पदमा पुग्ने तर हाम्रै लागि काम नगर्ने हो भने हामीले किन भोट हाल्ने?’, उनले आक्रोश पोखिन्।

देशमा स्थायी सरकार, अस्थिरताको अन्त्य र आर्थिक समृद्धिको अपेक्षासहित नागरिकहरु उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन्। उनीहरुको साझा चिन्ता छ, ‘हाम्रो मत नेताहरुलाई कुर्सीमा पुर्‍याउन मात्रै सीमित नहोस्।’

पढ्नै पर्ने