आयोगको लापरवाही : दुवै चरणमा भोट हाल्दैछन् मतदाता

विराट अनुपम

Nepal Live

इटहरी- इटहरीमा यस्तो दृश्य देखियो, जहाँ पहिलो चरणमा पहाडी जिल्लामा भोट हालेका मतदाताले आज पनि भोट हाल्ने 'सौभाग्य' पाएका छन्।

मंसिर १० गते भोजपुरबाट भोट हालेका भट्टराई थरका मतदाता दोस्रो चरणको निर्वाचनमा आज इटहरी–४ बाट मतदान गर्दै गरेको अवस्थामा भेटिए।

‘पहिलो संविधानसभाको निर्वाचनमा मैले भोजपुर पुगेर भोट हालेँ,' उनले भने, ‘दोस्रो संविधानसभा निर्वाचनअगाडि इनरुवामा अर्कै कामले जाँदा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेपछि अहिले पनि भोट हाल्न पाइयो।’

संखुवासभा चैनपुरका लिम्बू थरका अर्का मतदाताले दुवै चरणमा मतदान गर्न पाएका छन्। अस्थायी ठेगाना इटहरी र स्थायी ठेगाना भोजपुर र संखुवासभा भएका उनीहरुको मतदाता नामावली दुवैतर्फ छ। 

दोस्रो संविधानसभा निर्वाचनमा इटहरीबाट मात्रै भोट हालेका भट्टराईले यही कारण भोजपुर र इटहरी दुवै ठाउँबाट भोट हाल्न पाए। फोटोसहितको मतदाता नामावली दर्ता गराउँदा बसाइँसराइको प्रमाणपत्र सोधे पनि नमागेका कारण यस्तो भएको उनी बताउँछन्। 

भट्टराईको जस्तै अवस्था लिम्बूको पनि हो। पहाडमा पहिले नै मतदाता सूचीमा नाम भएका र पछि तराईमा पनि नामावली भएका कारण दुई पटक भोट हाल्न पाउने अरु पनि भाग्यमानी देखिएका छन्। 

सुनसरीका निर्वाचन अधिकृत भक्तबहादुर भट्टराई भने अनलाइन क्रम चेकिङ नहुँदा यस्तो समस्या भएको स्विकार्छन्। ‘हामीकहाँ फोटोसहितको नामावली दर्ता गराउँदा पहिले अन्त्यै दर्ता गराएको छ/छैन भनेर क्रम चेकिङ गर्ने संयन्त्र छैन। त्यसैले यस्तो समस्या आएको होला।’

पहाड र तराई दुवै क्षेत्रमा आउजाउ गर्ने केही मतदातामा यस्तो समस्या भएको हुन सक्ने उनको भनाइ छ। यस्तो समस्या आगामी दिनमा दोहोरिन नदिन प्राविधिक त्रुटि सच्याउनुपर्ने उनले बताए।  

पढ्नै पर्ने