डब्लुसिएल च्याम्पियनसिप : नेपालले युएईलाई दियो २२२ रनको लक्ष्य, शरदको उत्कृष्ट ब्याटिङ [LIVE]

नेपाल लाइभ

काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपालले युएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा  ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो। 

नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए। 

 यस्तै, बसन्त रेग्मीले नटआउट १४ रन जोडे। बसन्तले १५ बलको सामना गर्दा बाउन्ड्री प्रहार गरेनन्। 

ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथले १६ रन जोडे। 

कप्तान पारस खड्का र सोमपाल कामीले २०–२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरेका थिए। सोमपालले १९ बलको सामना गर्दा ३ चौका हिर्काए। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारीले ४ रन भन्दा बढी जोड्न सकेनन्।

बलिङतर्फ युएईका जाहुर खानले २ विकेट लिए।

लाइभ भिडियो हेर्नुहोस् : 

टेक्स्ट लाइभ आइसिसी र क्रिक इन्फोबाट पाउन सकिनेछ। 

नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले जितेको थियो। 

नेपाल र युएईबीच झन्डै साढे ३ वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा प्रतिस्पर्धा भएको थियो। एसिसी प्रिमियर लिगमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको थियो। जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटमा भने युएईले नेपाललाई १ सय २ रनले हराएको थियो। 

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

पढ्नै पर्ने