भारतीय क्रिकेट खेलाडी विश्वकै धनी क्रिकेटर बन्दै, १९ करोडसम्म तलब

नेपाल लाइभ

Nepal Live

नयाँ दिल्ली– भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) विश्व क्रिकेटमा सर्वाधिक पैसा भएको देश हो भन्ने कुरा सबैलाई थाहा भएको विषय हो। अब भारतीय क्रिकेट खेलाडी पनि विश्व कै सबैभन्दा धनी क्रिकेटर बन्ने अभियानमा छन्। 

इकोनोमिक टाइम्स पत्रिकाका अनुसार आउँदो डेढ महिनाभित्र बिसिसिआईले भारतीय क्रिकेट खेलाडीको तलब बृद्धि गर्दैछ, जसका कारण खेलाडीहरू विश्व कै धनी क्रिकेट खेलाडी बन्दै छन्। 

बिसिसिआईले तीन ग्रेड (ए,बी,सी) मा खेलाडी वर्गिकरण गर्दैछ। यसअघि तलबको दृष्टिकोणले अस्ट्रेलिया र इंग्ल्यान्डका खेलाडी भारतीय खेलाडीभन्दा अगाडि थिए। 

भारतको उच्च अदालतले बिसिसिआईमा अनुबन्धित गरेको प्रशासनिक समितिको तर्फबाट विनोद रायले कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी र टिम प्रशिक्षक रवि शास्त्रीसँग तलबको विषयमा वार्ता गरेका थिए। संसोधित तलब अनुसार ग्रेड ‘ए’ मा पर्ने भारतीय खेलाडीले १२ करोड भारु (१९ करोड २० लाख रुपैयाँ) पाउने छन्। जसमा कप्तानको तलब अझै बढी हुनेछ। कोहलीसँगै ग्रेड ‘ए’ मा धोनी, अजिङ्क्य रहाणे, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, चेतेश्वर पुजारा, मुरली विजयसहित ७ जना छन्। 

ग्रेड ‘बी’ मा पर्ने खेलाडीलाई ८ करोड भारु प्रस्ताव गरिएको छ। यसमा ९ खेलाडी समावेश छन्। रोहित शर्मा, केएल राहुल, भुवनेश्वर कुमार, मोहम्मद शमी, इशान्त शर्मा, उमेश यादव, रिद्धिमान साहा, जसप्रीत बुमराह र युवराज सिंह ‘बी’ ग्रेडमा समावेश छन्। 

यस्तै, ‘सी’ ग्रेडका खेलाडीलाई ४ करोड भारु बार्षिक प्रस्ताव गरिएको छ। जसमा शिखर धवन, अम्बाती रायडु, अमित मिश्रा, मनिष पाण्डे, अक्षर पटेल, करुण नायर, हार्दिक पाण्ड्या, आशिष नेहरा, केदार जाधव, युजवेन्द्र चहल, पार्थिव पटेल, जयन्त यादव, मन्दिप सिंह, धवल कुलकर्णी, शार्दुल ठाकुर र ऋषभ पन्त छन्। भारतीय क्रिकेटरको बार्षिक तलब ६ गुणाले बढ्ने बताइएको छ। यसअघि बिसिसिआईले ‘ए’ ग्रेडको खेलाडी बार्षिक २ करोड दिने गर्दथ्यो। ‘बी’ ग्रेडले १ करोड र ‘सी’ ग्रेडले ५० लाख पाउँथे। 
 

पढ्नै पर्ने