मानव बेचबिखनमा यसरी फसाउन खोजेका थिए पूर्व डिआइजी सिलवालले गुणबहादुरलाई (दस्तावेज र भिडियोसहित)

दुर्गा दुलाल

काठमाडौं– पूर्व डिआइजी नवराज सिलवालले लेनदेन विवाद बढ्दै गएपछि गुणबहादुर थापा (शम्भु) लाई फसाउन तत्कालीन इटहरी नगरपालिकाबाट बेचबिखनमा परेकी काल्पनिक महिला पात्र खडा गर्दै मुद्दा दर्ता भएको पाइएको छ। 

घर-जग्गा कारोबारमा लागेका चितवनको भण्डारा २ का थापाले हैसियत बढ्दै जाँदा ऋण पनि चर्कै ब्याजमा लिन सक्ने भएपछि उनी आर्थिक लेनदेनमा सिलवालसँग जोडिएका थिए। १४ माघ २०६६ मा २ करोडको साप्ताहिक ब्याज २० लाख तिर्ने सर्तमा सिलवालसँग पैसा लिएका थापाको त्यसपछि अधोगति सुरु भयो। मिटरब्याजको चक्रमा फसेका थापाबाट अधिकतम पैसा असुल्न सिलवालले प्रहरी-प्रशासनको अधिकतम दुरुपयोग गरेको देखिन्छ। त्यसैको एउटा कडी हो, थापामाथि मानव बेचबिखनको झुटो मुद्दा।

यो पनि: दुई करोडको साप्ताहिक ब्याज नै २० लाख लिन्थे पूर्व डिआइजी नवराज सिलवाल (भिडियो, अडियो र दस्तावेजसहित)

थापालाई थुनामा राख्ने मनसायका साथ सिलवालले तत्कालीन इटहरी नगरपालिकाको इलाका प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको सहयोग लिएको प्रहरी प्रधान कार्यालयले गरेको उच्चस्तरीय छानबिन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार, नक्कली पीडित खडा गरी मानव बेचबिचन मुद्दाको निर्माण भएको देखिन्छ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समक्ष १४ जेठ २०७३ मा पेश भएको प्रतिवेदन अनुसार जागिर लगाइदिने बहानामा थापाले फकाएर भारतको सिलिगुडी लगेर बिक्री गरेको तथा आफैंले जबर्जस्ती करणी गरेको भनी जाहेरी दिएकी कविता लिम्बू नामकी महिला अस्तित्वमै नरहेको उल्लेख छ। 

तत्कालीन समयमा महिलाको जाहेरी लेख्ने कार्यमा संलग्नहरुले छानबिन समितिलाई दिएको बयानमा इलाका प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माको कक्षमा लिम्बूलाई देखेको र उनकै आदेशमा आफूहरुले बयान लिएको तर बेचबिखनमा परेको व्यक्ति नै भएको आफूहरुलाई नलागेको भनिएको छ। जाहेरी लेख्नेमा पूर्व प्रहरी नायव निरीक्षक चन्द्र कार्की, प्रहरी नायव निरीक्षक गोविन्द खवास र महिला प्रहरी जवान विष्णुमाया दाहाल र लेखनदास भोजराज काफ्ले रहेका छन्।

प्रहरीहरुले जाहेरी अदालतमा प्रमाणित भएपछि सो क्षेत्रमा जाहेरी दिने महिला कहिल्यै नदेखिएको बयान छानबिन टोलीलाई दिएका छन्।

जाहेरी दिने महिलालाई कुनै हिसाबले प्रभावमा पारी जाहेरी लेखाई र सिकाई अदालतमा प्रमाणीकरण गराएको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। इलाका प्रहरी कार्यालय इटहरीले ५ साउन २०७३ मा लेखेको पत्रमा जाहेरीमा उल्लेख भएको ठेगानामा खोजी गर्दा लिम्बूको कुनै पत्ता नलागेको उल्लेख छ। 

नगरपालिका (हाल इटहरी उपमहानगरपालिका) को मतदाता परिचयपत्र सूचीमा पीडित र पीडितको परिवारको नामावली नै नदेखिनुले नक्कली पात्र खडा गरेर मुद्दा बनाएको तथ्यलाई पुष्टि गर्छ।

जाहेरी दर्तामा संलग्न प्रहरी प्रमुख विनोद शर्माले भने ती महिलाले एक पटक फोनमा वैदेशिक रोजगारीमा जान लागेको भनेको तर हाल खोजी गर्दा कतै नभेटिएको जवाफ दिएका थिए। तर, छानबिन प्रतिवेदनमा भने लिम्बू र उनको परिवारको सुनसरीमा मतदाता परिचयपत्र समेत नभएको र वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि पासपोर्ट लिन जिल्ला प्रशासन कार्यालय समेत नपुगेको उल्लेख छ। 

ती महिलाले एक दिन मात्र प्रहरी कार्यालयमा गएर जाहेरी दिएको र सोही दिन अदालतमा प्रमाणीकरण समेत गराएको प्रतिवेदनमा भनिएको छ।

इटहरी उपमहानगरपालिकाको कार्यालयले पनि कविता लिम्बू नाम भएको व्यक्ति हाल बसोबासमै नभएको जवाफ ५ साउन २०७३ मा दिएको थियो।

प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले १४ जेठ २०७३ मा बुझाएको प्रतिवेदनमा डिएसपी विनोद शर्माले बदनियतसाथ मुद्दा दर्ता गराएको हुनसक्ने व्यहोरा बयानका क्रममा पाइएको उल्लेख गरिएको छ। 

डिएसपी शर्मा प्रहरी संगठनभित्र पूर्व डिआइजी सिलवालको निकट मानिन्थे। त्यही निकटताका कारण उनी सिलवालको स्वार्थमा प्रयोग भएको देखिन्छ।

यस्तो थियो घटना 

नवराज सिलवालले गुनबहादुर थापालाई विभिन्न मुद्दामा फसाउन खोज्दा उम्कँदै आएपछि वर्षौंसम्म थुनामा राख्ने मनसायसहित मानव बेचबिखनमा फसाउने रणनीति अपनाए। 

सोही रणनीति अनुसार सिलवालले इलाका प्रहरी कार्यालय इटहरीलाई प्रयोग गरे। तत्कालीन इलाका प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मालाई सोही योजनामा सहभागी गराए। सिलवालकै योजनामा तत्कालीन इटहरी नगरपालिका वडा नम्बर ४ बस्ने हर्कबहादुर लिम्बूकी छोरी २४ वर्षीया कविता लिम्बू नामको पात्र खडा गरियो। 

२९ भदौ २०७१ मा उनी थापा विरुद्ध जाहेरी दिन इलाका प्रहरी कार्यालयका प्रमुख शर्माकहाँ पुग्छिन्। शर्माले लिम्बूको जाहेरी बयान लिन पूर्व प्र.ना.नि चन्द्र कार्की, प्र.ना.नि गोविन्द खवास र महिला प्रहरी जवान विष्णुमाया दाहाललाई घटनाका दोषी जेल जाने किसिमको कडा व्यहोरा मिलाएर जाहेरी लेख्न र मुद्दा दर्ता गर्न निर्देशन दिन्छन्। 

शर्माकै निर्देशन अनुसार लेखनदास भोजराज काफ्लेलाई जाहेरी लेखाइन्छ। लिम्बूको बयान भन्दै थापासँग इटहरीमा भेट भएको र आफन्त जस्तै व्यवहार गरेपछि परिचय भएको जाहेरी लेखिन्छ। सो जाहेरी सोही दिन जिल्ला अदालतमा मुद्दाको रुपमा अघि बढाइन्छ।

षड्यन्त्रको चक्र

२३ असार २०७२ मा जिल्ला प्रहरी कार्यालय चितवनले इलाका प्रहरी कार्यालय भण्डारा चितवनलाई एउटा पत्र लेख्दै भन्यो, ‘भण्डारा २ का गुणबहादुर थापा मानव बेचबिखन कार्यमा संलग्न रहेको र घटनापछि फरार रहेकाले निजको खोजतलास गरी फेला परेमा इलाका प्रहरी कार्यालय इटहरीमा बुझाउनू र सो को जानकारी गराउनू।’ 

जिप्रकाको पत्र पाएपछि गुणबहादुरलाई खोज्दै प्रहरी उनको भण्डारा २ स्थित घरसम्म पुग्यो। उनी त्यसबेला सपरिवार थाइल्यान्ड घुम्न गएका थिए। थाइल्यान्डबाट फर्केर सूचना पाएलगत्तै उनी आफैं प्रहरीसमक्ष पुगे। मिटर ब्याजमा दिएको थप पैसा असुल्न यो षड्यन्त्र पनि पूर्व डिआइजी सिलवालले नै रचेका थिए। महिलाको कीर्ते नाम खडा गरेर उनले थापा विरुद्ध प्रहरी कारबाही अगाडि बढाएका थिए। 

मानव बेचबिखन कार्यमा संलग्न भनिएका प्रतिवादी गुणबहादुर थापाले आफू कहिल्यै पूर्वी नेपाल नगएको र मानव बेचबिखन जस्तो आपराधिक काम आफूले सोच्न समेत नसक्ने बताएका छन्। उनले आफूलाई फसाउन सिलवालको निर्देशनमा केही व्यक्तिको मिलेमतोमा मुद्दा तयार गरिएको दाबी गरेका छन्। 

हामीलाई प्राप्त एउटा भिडियो कुराकानीमा गुणबहादुर थापाको विषयलाई लिएर एक महिलाले आफू र डिआइजी नवराज सिलवालबीच कुरा भएको र सिलवालको पक्षमा विज्ञप्ति जारी गरे ‘पूर्वको मुद्दा’मा पनि सहयोग गर्ने बताएको प्रसंग उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय चितवनले २४ साउन २०७२ मा पुनरावेदन अदालत हेटौंडामा गुणबहादुर थापालाई पक्राउ गर्नुपर्ने कारणबारे एउटा लिखित जवाफ पेश गरेको थियो। जवाफकै साथमा प्रहरीले पेश गरेको कागजपत्र अनुसार ३० भदौ २०७१ मै इलाका प्रहरी कार्यालय इटहरीले सो मुद्दामा जिप्रका चितवनलाई पत्र पठाएको देखिन्छ। यस हिसाबले एक वर्षपछि मात्रै चितवन प्रहरी गुणबहादुरको खोजीमा लागेको देखिन्छ।

घटना विवरण र त्यसमा प्रयोग गरिएको पात्र शंकास्पद देखिएपछि यसबारे जान्न हामीलाई थप उत्सुकता जाग्यो। बेचिएकी भनिएकी महिला उजुरीकर्तासँग कुरा गर्ने हाम्रो उद्देश्य थियो। गुणबहादुरले बेचेका भनिएका उजुरीकर्ता महिलाको नाम र ठेगाना माग्दै हामी इलाका प्रहरी कार्यालय इटहरी पुग्यौं। तर, प्रहरीले ती महिलाहरुको नाम, ठेगाना उपलब्ध गराउन मानेनन्। त्यसले काल्पनिक पात्र खडा गरिएको शंकालाई थप बल पुर्‍यायो।

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यस घटनाबारे बुझ्न बनाएको टोलीले पनि उजुरीकर्ता नभेटिएको रिपोर्ट अर्याललाई गरेको थियो। गुणबहादुर थापाले प्रहरीबाटै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी गरेपछि प्रहरी महानिरीक्षक अर्यालले टोली खटाएका थिए। 

पूर्व डिआइजी सिलवालले शरीर बन्धक मात्र होइन, लागूऔषध र बैंकिङ कसुरको मुद्दामा समेत नियतवश थापालाई फसाउन खोजेका थिए। त्यस क्रममा उनले त्यो बेलामा आफू कार्यरत प्रहरी संगठनको अधिकतम दुरुपयोग गरे। 

तर, सिलवालले नै लागूऔषध र शरीर बन्धक मुद्दामा थापालाई उम्काए। किनकि सिलवाल थापाबाट अधिकतम पैसा असुल्न चाहन्थे। त्यसैले थापालाई लामो समय जेल पठाउनेभन्दा पनि ‘मैले चाहे जे पनि गर्न सक्छु’ भनेर थापालाई तर्साउन यी मुद्दा सिर्जना गरेको थिए।

दस्तावेजहरु:

थापा विरुद्ध जाहेरी दिने लिम्बूको अवस्था थाहा नभएकोबारे इटहरी उपमहानगरपालिका र प्रहरी कार्यालयले दिएका प्रतिवेदन:

पढ्नै पर्ने