दुई करोडको साप्ताहिक ब्याज नै २० लाख लिन्थे पूर्व डिआइजी नवराज सिलवाल (भिडियो, अडियो र दस्तावेजसहित)

दुर्गा दुलाल

Nepal Live

काठमाडौं– चितवनको भण्डारा २ का गुनबहादुर थापा (शम्भु) को व्यवसाय हो, घर–जग्गा कारोबार। ०६० देखि ०६६ को समय थियो, कारोबारबाट उनको आर्थिक प्रगति देखेर घर-जग्गा कारोबारमा साझेदार बनाउन आग्रह गर्दै मानिसहरु उनको घरमै पुगेर पैसा छाड्थे। 

‘पैसा लिन्नँ भन्दा पनि घरमै आएर कर गरेपछि धेरैलाई साझेदार बनाएँ’, थापा भन्छन् , ‘अन्त्यमा सबै धोका दिने मात्र भए।’ 

घर-जग्गा कारोबारमा लागेपछि सामान्य गुजारा चलाएका थापाको आर्थिक हैसियत एक्कासि बढ्यो। काठमाडौं, चितवन, काभ्रे, मकवानपुर, दोलखा लगायतका ठाउँमा घर–जग्गा जोडिए, कुनै कुराको अभाव भएन उनलाई। चितवनमा फस्टाएको घर–जग्गा कारोबारले गुनबहादुरलाई सामान्य अवस्थाबाट असामान्य बनाउँदै लग्यो।

उनको कारोबार चितवनमा मात्र सीमित रहेन। नयाँ–नयाँ साझेदार थपिंदै गए। गुनबहादुरको कारोबारमा भएको वृद्धिसँगै संगत पनि ठूला, धनाढ्य र विशिष्ट मानिसहरुसँग बढ्दै गयो। 

घर–जग्गामा भएको नाफाले चर्को ब्याजमा करोडौंको लेनदेन उनका लागि सामान्य बन्दै थियो। एक करोड रुपैयाँको एक हप्ताकै १० लाखसम्म ब्याज तिर्ने हिम्मत र हैसियत उनको बन्यो। घर–जग्गामा हुने नाफाले नै उनी छोटो समयका लागि पनि चर्को ब्याज तिर्न तयार हुन्थे। कारोबारी थापालाई कहिले पैसाको फिटफिटी पर्थ्यो, कहिले हातभरि टन्नै पैसा  हुन्थ्यो। 

पैसाको यस्तै फिटफिटी हुँदा गुनबहादुरले काभ्रेका वीरेन्द्रलाल श्रेष्ठसँग २० लाख रुपैयाँ लिएर दुई दिनपछि २ लाख ब्याजसहित २२ लाख फिर्ता गरे। 

‘तपाईंलाई पैसा आवश्यक पर्दो रहेछ। कारोबारी मान्छे, पैसा लगानी गराइदिने मान्छे’, वीरेन्द्रले थापालाई आत्मबल दिँदै भने। उनले ब्याजमा पैसा लगानी गर्ने तत्कालीन एसएसपी नवराज सिलवालसँग गुनबहादुरको चिनजान गराइदिए। श्रेष्ठले गराएको चिनजानपछि नवराज सिलवाल र उनीबीच आर्थिक लेनदेन सुरु भयो।  

पहिलो पटक गुनबहादुर थापाले २६ मंसिर २०६६ मा मासिक ९ लाख ब्याज तिर्ने सर्तमा सिलवालसँग ६ महिनाका लागि १ करोड रुपैयाँ लिए। त्यसका लागि उनले काभ्रेको पाँचखाल वडा नम्बर २ को सिट नम्बर १३२९ कित्ता नम्बर १२६ को क्षेत्रफल (१–४–२ १/२), कित्ता नम्बर ४१७ को (२–४–३–१), कित्ता नम्बर ७१३ को (१–६–२–१/४) र कित्ता नम्बर १२५, (१–१–२–०) क्षेत्रफलको ७ रोपनी जग्गा सिलवालका नातेदार सुलोचना ढकालका नाममा दृष्टिबन्धकसहित १ करोड ९ लाख रुपैयाँको तमसुक गरे। 

दोस्रो पटक १४ माघ २०६६ मा सिलवालबाट हप्ताको २० लाख ब्याज तिर्ने सर्तमा २ करोड रुपैयाँ लिए। थापाले उक्त रकम आफूले लिएको नभई कोमलकुमार श्रेष्ठका लागि जमानत बसेको बताउँदै आएका छन्। 

श्रेष्ठ थापाका जग्गा कारोबारका साझेदारी थिए। कारोबारकै विषयमा श्रेष्ठ र थापाबीच विवाद बढेपछि ३ हप्ताको ३६ लाख थापाले सिलवाललाई बुझाए। २ करोडको पहिलो हप्ताको ब्याज २० लाख रुपैयाँ तिरेपछि ब्याज सहुलियत गरिदिन थापाले गरेको आग्रहपछि २० लाखको सट्टा सिलवालले ब्याजदर १२ लाख रुपैयाँ गरिदिए। 

मिटर ब्याजपछि ओरालो यात्रा 

जग्गाको कारोबारबाट एकाएक धनाढ्य बनेका गुनबहादुर थापाको ओरालो यात्रा नवराज सिलवालसँग लिएको मिटरब्याजी पैसाबाट सुरु भयो। सिलवालसँग पैसा लिएको ५–६ महिनासम्म थापा र सिलवालको सम्बन्ध राम्रै थियो। सर्त अनुसार तिर्नुपर्ने ब्याज रकम थापाले तिरेकै थिए। जब घर–जग्गाको कारोबार ओरालो लाग्न थाल्यो, गुनबहादुरसँग साझेदार भएर काम गरेका कोमलकुमार श्रेष्ठ र अर्जुनकुमार लुइँटेलले थापाको साथ छाडे।  त्यसपछि मिटरब्याजको चर्को रकम तिर्नेमा थापा एक्लै परे। 

सिलवालले गुनबहादुर थापाको डायरीमा हातले लेखेर गरेको हिसाब अनुसार ७ असार २०६७ सम्म ४ करोड ७६ लाख तिरिसकेको देखिन्छ। पैसाकै लेनदेनको विषयलाई लिएर थापा र सिलवालबीच सम्बन्ध थप बिग्रियो। सिलवालसँग थापाले गरेको पूर्वसर्त अनुसार ३ करोड ४० लाख रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सिलवालले निकालेपछि यी दुई एकले अर्कोलाई सिध्याउने तहसम्म पुगे। 

थापा भीमफेदी कारागार मकवानपुरमा बैंकिङ कसुरको अभियोगमा जेलसमेत परे। उनी भन्छन् ‘मैले सकेको तिरेँ, बाँकी रकम तिर्न सक्दिनँ। अरुका कारण म फसेँ भन्दा सिलवालले तैंले तिर्नुपर्छ भने। मैले नसक्ने बताएपछि बर्दीको धाक लगाउँदै देखाइदिने बताए, मैले पनि देखाइदिन्छु भनेँ।’

थापाले सिलवाललाई पैसा बुझाएको अहिलेसम्मको प्रमाण भनेको त्यही हस्तलिखित डायरी हो। उक्त डायरीमा सिलवालले नै हिसाब उतारेको थापाले दाबी गर्दै आएका छन्। त्यो कुरा सिलवालले अस्वीकार गरे त्यसको परीक्षण गरेर हेर्न र आफूले गलत बताएको भए कारबाही गर्न थापाले चुनौती दिएका छन्।

४ करोड ७६ लाख रुपैयाँ बुझाइसकेपछि पनि दृष्टिबन्धक गरिएका जग्गा र तमसुक सिलवालले फिर्ता नगरेपछि प्रमाणस्वरुप आफ्नो डायरीमा सिलवाललाई हिसाब लेख्न लगाएको थापा बताउँछन्। 

‘हो, मैले बठ्याइँ गरेर हातले लेख्न लगाएको हुँ’, थापाले भने, ‘मसँग पैसा बुझाएको कुनै प्रमाण थिएन। सिलवालसँग भएको कारोबारको प्रमाण यही हो। होइन भन्छन् भने उनको हस्तलिखित अक्षर चेकजाँच गराऔं। म गलत भए कारबाही भोग्न तयार छु।’

सिलवालबाट आफू पीडित भएको भन्दै उनले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा बुझाएको निवेदनमा सिलवालका हस्तलिखित अक्षर प्रमाणित गर्न माग गरेका छन्। 

ब्याजवापत तिर्नुपर्ने ३ करोड ४० लाख रुपैयाँको ग्यारेन्टीका लागि पछि फिर्ता गर्ने सर्तमा थापाले मकवानपुरको ज्यामिरे गाविस वडा नम्बर ७ (क) कित्ता नम्बर ८७ को १ बिघा आठ कठ्ठा जग्गा १४ कात्तिक २०६७ मा सिलवालका नाममा पास गरिदिए। ग्यारेन्टीका लागि दिइएको चेक र गरिएका कागज फिर्ता नभएपछि सिलवालले गरेको अन्यायका विरुद्ध उनले पत्रकार सम्मेलन गरेर आफूहरुको बीचमा भएको लेनदेनको विषय सार्वजनिक गर्न सुरु गरे। 

जुन दिनदेखि उनले सिलवालका विरुद्ध सार्वजनिक रुपमा भन्न सुरु गरे, त्यसपछि गुनबहादुर थापा थप परिबन्दमा पर्दै गए। उनको अझ ओरालो यात्रा सुरु भयो। 

थापाले सिलवालको बारेमा पत्रकार सम्मेलन मात्रै गरेनन्, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय चितवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्दीकरण विभाग जस्ता निकायमा सिलवाल विरुद्ध उजुरी नै दर्ता गरे। तर, कहीँ कतैबाट सुनुवाई भएन। सिलवाल विरुद्ध जति आक्रामक हुँदै गए, थापा झन्–झन् संकटमा परे। 

२४ भदौ २०६९। नवराज सिलवालले गरेको अन्याय सार्वजनिक गर्ने भन्दै थापा पत्रकार सम्मेलनको तयारीमा थिए। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई ३० हजार दिएर पत्रकार सम्मेलनको सबै तयारी पूरा भएको थियो। तर, पत्रकार सम्मेलनमा जाने तयारी गर्दागर्दै होटल अर्किडबाट लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाई बानेश्वरका प्रहरीबाट थापा पक्राउ परे। उनले गर्ने भनिएको पत्रकार सम्मेलन भाँडियो। त्यतिबेला सिलवाल नै लागूऔषध इकाईको प्रमुख थिए। इकाईका एक प्रहरी अधिकृतका अनुसार पत्रकार सम्मेलन भाँड्ने उद्देश्यले इकाईले पहिल्यै अरुबाट बरामद गरेको लागूऔषध थापाको खल्तीमा हालिदिएर उनलाई पक्राउ गरिएको थियो।

दोस्रो पटक थापा १९ जेठ २०७० मा मणिराम भण्डारी र उनकी श्रीमती मधु भण्डारीलाई अपहरण गर्ने प्रयास गरेको अभियोगमा पक्राउ परे। १८ दिनको प्रहरी हिरासतपछि जिल्ला अदालत काठमाडौंले प्रमाण नपुगेको भन्दै छाड्न आदेश दिएपछि उनी थुनामुक्त भए।

जग्गा व्यवसायी थापा त्यसपछि सञ्चारमाध्यममा अपहरणकारीका रुपमा चित्रित भए। न्यूज २४ बाट प्रसारित एउटा कार्यक्रममा अपहरणकारीका रुपमा प्रस्तुत गरिएपछि उनी टिभी सञ्चालक र कार्यक्रम प्रस्तोता विरुद्ध अदालतमा गए। ३ मंसिर २०७२ मा जिल्ला अदालत काठमाडौंले थापाको पक्षमा फैसला गर्दै टिभीका अध्यक्ष र कार्यक्रम सञ्चालक विकास थपलियालाई ५ हजार जरिवानाको फैसला सुनायो। आफू जोगिन मिडियासँगको यो सबै सेटिङ सिलवालले मिलाएका थिए।

जति अप्ठेरो परिस्थिति सिर्जना भए पनि थापाले आफ्नो अभियान रोकेनन्। उनले २०७२ चैत २२ मा बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा पत्रकार सम्मलेन गरी सिलवाल विरुद्ध विभिन्न आरोप सार्वजनिक गरे। पुनः ३० बैशाख २०७३ मा अर्को पत्रकार सम्मेलन गर्ने घोषणा गरे। तर, १० बैशाख २०७३ मा उनी चितवन प्रहरीको अनुरोधमा सिआइबीको टोलीद्वारा बैंकिङ ठगीको कसुरमा पक्राउ परे।

नखुलेका पाटा 

नारायणी विकास बैंकबाट ११ मंसिर २०६८ मा लिएको ३२ लाख र २४ मंसिर २०६८ मै साईबाबा काष्ठ फर्निचर उद्योगका नाममा एक वर्षका लागि लिएको १ करोड १५ लाख रुपैयाँको साँवा ब्याज नतिरेर बैंकलाई ठगी गरेको आरोपमा थापा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि उनी पुनरावेदन अदालत हेटौंडाको आदेशपछि पुर्पक्षका लागि भीमफेदी कारागार मकवानपुरमा थुनिए। थापाविरुद्ध बैंकिङ ठगीको मुद्दा ०७२ असारमै तयार भएको मिसिलबाट देखिन्छ। जिल्ला प्रहरी कार्यालय चितवनले २४ साउन २०७२ मा गुनबहादुर थापालाई पक्राउ गरी दाखिला गर्न प्रहरी सहायक निरीक्षक सिकिन्द्रप्रसाद साहलाई पत्रसहित जिम्मेवारी पनि दिएको छ।

साहले प्रहरी कार्यालयमा थापा फेला नपरेको प्रतिवेदन ३२ साउनमा बुझाए। गुनबहादुर थापा साउनदेखि चैतसम्म ७ पटक विभिन्न काममा जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी उपरीक्षक सहकुल थापासँग भेटघाट गरेको दाबी गर्छन्। त्यसयता उनी दर्जनौं पटक काठमाडौं–चितवन गरिरहे, तर उनी पक्राउ परेनन्। बैंकिङ कसुरको आरोप लागेका थापालाई एक वर्षसम्म खुल्लमखुल्ला हिँड्दा पक्राउ नगर्नुको कारण खुल्दैन।

प्रहरी कि कारोबारी ?

सर्वसाधारणका बीचमा नवराज सिलवालले राम्रो काम गर्ने प्रहरीको छवि बनाएका थिए। काठमाडौं प्रहरी प्रमुख छँदा गरेका काम र नक्कली प्रमाणपत्र पेश गरेर एमबिबिएस पढेका डाक्टरहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएपछि उनको चर्चा एकाएक चुलियो। लामो समयको खोजपछि मिटर बयाजीहरुलाई कारबाही गर्ने निकायमा रहेका प्रहरी अधिकृत सिलवाल आफैं त्यस्तो काममा संलग्न रहेछन् भन्ने खुलेको छ। उनीसँग जोडिएका केही तथ्यगत प्रमाणले सिलवाल प्रहरीमा रहँदा ठूला कारोबारी थिए भन्ने पनि देखियो। 

यी हुन् प्रमाणहरु 

हामीलाई प्राप्त भिडियोमा नवराज सिलवाल, एक महिला र गुनबहादुर थापाका छोरा सागर थापाबीच कुराकानी भएको देखिन्छ। भिडियोमा नवराज सिलवाल हाफ ज्याकेट र सर्टमा देखिन्छन्। थापा र सिलवालबीच भएको लेनदेनबाटै कुराकानीको सुरुवात हुन्छ। पछि दृश्य देखिन्न, कुरा गरेको अडियो मात्र सुनिन्छ। 

आफू विरुद्ध गरिएको पत्रकार सम्मेलनबारे सिलवालले असन्तुष्टि व्यक्त गर्दै भन्छन्, ‘पत्रकार सम्मेलन गरेर हिंड्ने? वहाँसँग मेरो कुनै दुश्मनी छैन। डकुमेन्ट बनाउने आवाज रेकर्ड गरेर बाँड्दै हिँडेर कुनै अर्थ छैन।’ 

‘मैले उसको विरुद्ध के कम्प्लेन गरेको छु? म त्यस्तो नेचरको मान्छे नै होइन। म त्यत्तिकै यहाँ आएको होइन। मान्छेको पछाडि लाग्ने मान्छे म हुँदै होइन’, सिलवालले होटल अर्किडबाट गुनबहादुर पक्राउ परेको प्रसंग कोट्याउँदै भनेका छन्, ‘अघिल्लो पटक होटलबाट पक्राउ पर्दा पनि गाँजासहित पक्राउ परेको हो। ५ ग्रामभन्दा माथिको गाँजामा मज्जाले मुद्दा चल्थ्यो। त्यतिबेला पनि खानलाई राखेको भनेर परिमाण घटाएर बचाएको हो। मुद्दा चलाऔं भनेका थिए। होइन, चलाउन हुन्न, त्यसको दोष मलाई आउँछ, यो सब नवराज सिलवालले गर्‍यो भन्ने हुन्छ भनेर मैले नै बचाएको हो। नभए पाँच वर्ष जेल जान्थ्यो।’

सागरले सिलवाललाई अंकल भनेर सम्बोधन गरेका छन्। उनले सिलवालसँग मिल्ने प्रस्ताव गर्छन्। मिल्नका लागि वातावरण बनाउन आफू विरुद्ध जम्मा पारिएका सम्पूर्ण प्रमाण र कागज फिर्ता गर्न सिलवालले सर्त राख्दै भन्छन्, ‘तपाईंसँग भएका डकुमेन्ट सबै ल्याएर  दिनुस्। अडियो, भिडियो, फोटोकपी, ओर्जिनल जे छ, त्यो सबै ल्याएर जम्मा गर्नुस्। त्यसपछि मैले कहाँ के सहयोग गर्नुपर्छ म गर्छु। त्यो भन्दा अगाडि केही गर्दिनँ। ममाथि ठूलो अन्याय भएको छ।’

आफूले प्रतिशोध राखेर पक्राउ गर्न चाहेको भए पहिल्यै पक्राउ गर्न सक्ने बताउँदै सिलवाले थापाको बारेमा सबै कुरा पहिल्यैदेखि जानकारी रहेको कुराकानीका क्रममा बताएका छन्। उनले पक्राउ गर्नुपर्ने लिस्टमा थापाकी श्रीमती र भाइको समेत नाम भएको तर, आफूले अरुलाई केही नगरी थापालाई मात्र पक्राउ गरेर पठाइदिन एसपीलाई अह्राएको बताएका छन्। आफ्ना विरोधीको उक्साहटमा लागेर आफू विरुद्ध गुनबहादुर लागेकोमा उनको आक्रोश देखिन्छ। 

‘मेरा विरोधीले दिएको सल्लाहमा यसलाई ठोक्ने हो भन्दै लाग्ने ?’ सिलवालले थप आग्रह गर्दै आफू विरुद्ध गरिएको अभियान गलत हो भनेर हस्तलिखित विज्ञप्ति जारी गर्न सुझाव दिएका छन्, ‘कागजपत्र सबैतिर बाँडिसकेको छ। वातावरण बनाउने कुरा हो, मैले गल्ती गरेको हो भनेर एउटा कागज लेख्नुस्। म हेल्प गर्छु।’

हामीलाई प्राप्त दोस्रो भिडियोमा एक जना महिला र गुनबहादुर थापाका छोरा सागरबीच नवराज सिलवाल र गुनबहादुरबीचको द्वन्द्व मिलाउने विषयमा छलफल गरिएको दृश्य छ। छलफलका क्रममा नवराज सिलवालसँगको आर्थिक कारोबार मिलाउन र सिलवालले भनेअनुसारका कागजपत्र तयार गर्न उनले सागरलाई सिकाएकी छिन्। सागरलाई सिलवालसँग कुरा गर्न सिकाउँदै उनले मिल्ने कुरामा जोड दिएकी छिन्। 

अर्को अडियोमा महिलाले एक जनालाई फोन गर्छिन्। ‘सर’ भनेर सम्बोधन गरिएको फोन नवराज सिलवाललाई गरिएको कुराकानीबाट बुझिन्छ। हस्तलिखित कागज तयार पार्न आग्रह गर्दै सागरलाई सिलवालसँग भेट्न कतिबेला पठाउने भनेर उनले सोधेकी छिन्। १२ बजे सागर हेटौंडा जाने भएकाले त्यसअघि भेट्न आग्रह गरेपछि ११ बजे सिलवाललाई भेट्न जाने समय मिलाइएको छ। 

ती महिलाले ‘कोही पनि सधैं दुश्मन हुन्न’ भन्दै सिलवालसँग सानो बनेर प्रस्तुत हुन सिकाएकी छिन्। सिलवालले आफूलाई विश्वास गरेको, लक्ष्मीको घर लिलामी प्रक्रियामा जान सिलवाल मार्फत रोकेको बताउँछिन्। 

महिलाले अगाडि भनेकी छिन्, ‘उसलाई पनि त आइजी बन्नु छ। सिलवाललाई यो केसले उनलाई आइजी बन्न धक्का लाग्न सक्छ। उसलाई पनि मिलाउनुपर्ने बाध्यता छ। यस्तो बेलामा सानो बनेर प्रस्तुत हुँदा केही बिग्रिन्न।’ 

सिलवालले आफूलाई एम्बेस्डर रेस्टुरेन्टमा खाजा खुवाएर डेढ घन्टासम्म कुरा गरेको, को मानिसले कहाँ कसरी भेट्छन् भन्ने कुराको जानकारी सिलवाललाई हुने ती महिलाले सागरलाई बताउँछिन्। 

हामीलाई प्राप्त एक अडियोमा एक जनाले प्रश्न गर्छन्, ‘हामीले विज्ञप्ति निकाल्दा पूर्वको केसमा (गुनबहादुरमाथि पूर्वी नेपालका महिलालाई बेचेको भन्दै मानव बेचबिखनको आरोप समेत लगाइएको थियो)  पनि हेल्प हुन्छ?’ 

‘केही टेन्सन गर्नु पर्दैन। यसमा सबै मसँग कुरा भइसकेको छ। सब मिल्छ। सबै उसले जिम्मा लिने भनेको छ, ड्याडी (गुनबहादुर थापा)ले निहुँ खोज्दा पूर्वको केसमा १० वर्ष जेल जानुपर्छ। उसले हेल्प गर्छु भन्ने कुरा कहीँ कतै नभन्नू भनेको छ। मेरो कुरा कहीँ लिक नगर के,’ ती महिलाले उनीहरुलाई विश्वास दिलाउँदै बताएकी छिन्। 

‘पूर्वको केस कसैलाई नभन नि, पूर्वको केस मिल्छ भनेर सिलवालले भनेको कुरा कसैलाई नभन’, प्रसंगका क्रममा महिलाले सुनाएकी छिन्। 

अर्को अडियोमा गुनबहादुर थापा र महिलाबीचको फोन कुराकानी छ। ती महिला कार्यालयमा बसिरहेको समयमा ल्यान्डलाइनमा गुनबहादुरले टेलिफोन गरेपछि उनीहरुबीच सिलवालकै विषयमा कुराकानी हुन्छ। 

गुनबहादुर : वार्ताको बारे केही कुरा भएको छ? 

महिला : अहँ, भएको छैन। वहाँले मलाई दुई वटा सर्त पठाउनुभएको छ। त्यो पूरा भएपछि मात्र वार्ता हुन्छ भनेको छ। म जान मिल्दैन अब। उसले सबै डकुमेन्ट मलाई पनि दिनु पर्दैन, प्रेस विज्ञप्ति जारी गर, अनि त्यसपछि कहाँ–कहाँ के–के गर्ने कल्ल वातावरण बन्छ, नभए वातावरण बन्दैन भनेको छ। प्रमाण पनि उसलाई दिनुपर्दैन। मलाई नै राख भनेको छ। तँसँग डकुमेन्ट आयो भन्, अनि त्यसपछि सहयोग गर्छु भनेको छ उसले। 

गुनबहादुर : के–के प्रमाण ? 

महिला : गुनबहादुरले लेखेका डायरीहरु। पत्रपत्रिकामा पठाएका प्रेस विज्ञप्तिका कागजहरु हुन्। भ्वाइस रेकर्ड। अनि यो–यो आयो भनेर ऊ सँग बसेर प्रेस विज्ञप्ति बनाउने। कसैप्रति रिस–इबी छैन। कहाँबाट के गर्नुपर्छ, म गर्छु भनेको छ। मेरो बदनाम त एकपटक भइसकेको छ, त्यसले मलाई केही हुने त होइन। तर, कमसेकम सहमतिको वातावरण बन्छ भन्ने कुरा भएको छ। पाँचौं, छैटौं पटक म विरुद्ध लागेपछि मैले गरेको हो भन्छ उसले । डकुमेन्ट मेरो हातमा आयो भने बल्ल म ऊसँग जाने हो। मैले कुरो टुंग्याएर आएको छु। तपाईं त्यहाँ बसेर कुरा नबिगार्नू। धेरै फतफत नगर्नू।’ 

महिला अलि चर्को स्वरमा भन्छिन्, ‘तपाईं दुनियाँको पछाडि लागेर दुनियाँलाई रुवाउनु भएन। तपाईं नगर्नू भन्दाभन्दै गरेर, तपाईंलाई कसले साथ दियो? अझै पनि त्यहाँ बसेर निहुँ खोज्नुहुन्छ? तपाईं बच्ने काम गर्नुस् अहिले। तपाईंले पत्रकार सम्मेलन नगरेको भए आज यो हालत हुन्थ्यो सबैको? त्यो त हामी यसो गरौं भनेर गएको भए हुने रहेछ। त्यो तपाईंलाई करोडौंको सपना देखाउने चोर–डाँकाहरुले के गरे? एउटा वातावरण बनेको छ, चुप्प लागेर बस्नू। कहिलेकाहीँ सरी भनेर सानो भइँदैन दाइ। आफ्नो उम्कने बाटो गर्नुपर्छ।’ 

महिलाले गुनबहादुरका छोरा सागरलाई भनेका कुरा :

त्यो हस्तलिखित डायरी मसँग हुने हो भने उसले खोसेर लैजान्न। शम्भु दाइ त फ्रड मानिस भनेर चिनिनुहुन्छ नि बजारमा! 
नवराज त अहिले अख्तियार र अरु ठाउँबाट क्लिनचिट लिएर बसेको रहेछ। हस्तलिखित पनि मेरो होइन भनेर प्रमाणित गरेर बसेको रहेछ। ऊ अहिले सेभ भएर बसेको छ। ऊ आफैंले भन्यो सबै मलाई (तर नवराजले ती प्रमाण आफ्नो हातमा पार्नका लागि झुटो बोलिरहेका थिए)। तैपनि प्रमाण त छ नि। फेरि रि–चेकिङ होला, उसको शत्रु लागिरहेको बेला। रि-चेकिङ गर्‍यो भने उसको करिअर त जान्छ। मेरो करिअर बर्बाद गर्नेलाई मैले किन छोड्ने भन्ने उसको कुरा छ। 
पूर्वको केसमा पुलिसले तलबाट यो केस होइन भनेर सिफारिस गर्‍यो भने अदालतमा डकुमेन्ट त बन्छ। पुलिसले अनुसन्धान गर्दा यो मान्छे नै छैन भनेर गर्ने हो। 

गुनबहादुर थापा र नवराज सिलवालबीच १२ असार २०६८ मा भएको कुराकानी :

सिलवाल : काम हुँदै छ? 

थापा : काम हुँदै छ सर। अब सुध्रिएला।

सिलवाल : ल राम्रो।

थापा : तपाईं र मेरो बीचमा भएको व्यवहारमा मैले आफ्नो इमान्दारिताले यहाँसम्म आएको त तपाईंलाई थाहा नै छ। दस मिनेट टाइम लिएँ है? 

सिलवाल : अफिसमा हो? 

थापा : होइन म बाहिर छु। म पनि गरिब परिवारमा जन्मेर यहाँसम्म संघर्ष गर्दै आएँ। इमान्दारिता नै ठूलो कुरा हो भन्दै समाजमा लड्दै आएको व्यक्ति हुँ। हजुरले पनि आफ्नो परिवार र पुलिस प्रशासनमा देखाएको इमान्दारिताप्रति हजुरसँग खुसी छु। हजुर पनि मसँग खुसी नै हुनुहुन्छ भन्ने लाग्छ। 

सिलवाल : खुसी छु। 

थापा : पढाइ–लेखाइ कम छ सर, व्यवहारमा असाध्यै दुःख गरेर आएको हुँ। कहीँ कतै स्वार्थ नराखी काम गरेँ, भोलि पनि त्यही होस् भन्ने चाहन्छु। 

सिलवाल : अँ तपाईं इमान्दार। 

थापा : हाम्रो बीचमा हजुरको नेतृत्वबाट जुन व्यवहार भयो, यो व्यवहारले म सिद्धिने अवस्था बुझें। अस्ति हजुरलाई भेट्ने बेलासम्म सब दस्तावेज बनाइराखेको थिएँ। 

सिलवाल : मेरो कारणले सिद्धिन लाग्या रे? 

थापा : अँ, अहिले आएर सबै कुराको क्यालकुलेसन गरेर, नवराज सर पुलिसको एसएसपी (तत्कालीन एसएसपी, सिलवाल डीआइजीसम्म भए) जस्तो मान्छेले म जस्तो मान्छेलाई कस्तो खालको व्यवहार गर्नुहुन्छ भनेर अध्ययन गरिराखेको थिएँ। जुन व्यवहार तपाईंले आज मसँग गरिरहनुभएको छ, यही व्यवहारलाई यसरी निरन्तरता दिने हो भने म फुटपाथमा, तपाईं महलमा हुने अवस्था आयो। 

सिलवाल : त्यही भएर बसेर एउटा सहमति गरौं, कसरी सल्टाउने भनेर कुरा गरेको हुँ। यसरी जाँदा तपाईंलाई पनि गाह्रो हुुन्छ भनेर भनेकै हो नि मैले। 

थापा : तपार्इं पुलिस, जनताको नेतृत्व गरेर बसेको मान्छे। 

सिलवाल : सुन्नु न शम्भु जी (गुनबहादुरको अर्को नाम शम्भु पनि हो), तपाईंलाई अब को–को ले सिलवालले सबै पैसा खान लाग्यो भनेको सुन्नुहुन्छ? दुई जनाको सहमतिमा तपाईंले पनि विश्वास गरेको, मैले पनि विश्वास गरेको, तपाईले भनेको कुरामा एक इन्च यताउता गरेको छैन। तपाईं र म बीच बसेर भएको कुरामा केही छ र छैन। 

थापा : तपाईंले जुन जग्गा र कागजको कुरा गर्नुभयो नि, त्यसले मेरो चित्त दुख्यो र  अलिकति चसक्क भयो। 

सिलवाल : तपाईंको कागजदेखि लिएर मनहरिको जग्गा फिर्ता गरिदिन्छु भनेकै छु त। तपाईंले बोलेको कुरामा मैले केही जबर्जस्ती केही गरेको छु? १८ लाखको कुरा गर्नुभयो। बसेर कुरा गर्न सकिन्छ भनेकै छु।  

थापा : ‘तीन करोड ४० लाख रुपैयाँ तैले बुझाएपछि तेरो जग्गा खोलिन्छ, बाँकी पैसा यति ले अरु जग्गा पास गरेर दे’ भन्ने कुरा तपाईंको प्रस्तावको रुपमा न लिएँ। 

सिलवाल : पास गर् भनिनँ। दृष्टिबन्धक गरिदिनुस् । तपाईंले ७० लाख दिन्छु भनेको दिनुस्। १ करोड ७० लाख त मैले आफ्नो हार्ड क्यास हालेको छु। मनहरिको जग्गा फिर्ता गरिदिन्छु। तपाईं कारोबारी मान्छे, एउटा ग्यारेन्टी गर्दिनुस् भनेर भनेको छु। यसलाई सिम्प्लीफाइ गर्नुस् शम्भुजी। अरुको कुरा नसुन्नुस्। तपाईंलाई चित्त दुखाइ छ भने भन्नुस्, बसेर कुरा गरौं। 

थापा : हजुरसँग पैसाको कारोबार गरियो। हजुरसँग बसेर ३ करोड १ लाख ५० हजार पैसा मैले हजुरसँग लिएको जे थियो ठीकै थियो। तपाईंलाई फिर्ता गर्दै गएँ, गर्दै गएँ। 

सिलवाल : तपाईं यसो गर्नुस् न शम्भुजी, म एकपटक नारायणगढ आउँछु, बसेर कुरा गरौं। मैले अन्याय गरेको छु जस्तो लाग्छ भने भन्नुस् मलाई। तपाईंलाई अन्याय गरेर सडकमा पुर्‍याउने मेरो केही पनि होइन। मैले तपाईंलाई अस्ति पनि भनेँ, यसरी त दिनका दिन पैसा बढ्छ। तपाईंले ७० लाख दिन्छु भन्नुभएको थियो, त्यो दिनुस्, मेरो बैंकमा पैसा तिर्नु छ।

थापा : ५ करोड १८ लाख रुपैयाँ मेरो हिसाबमा निस्कियो। मैले हजुरसँग हिसाब मागेँ, हिसाब दोहोरो गर्नुपर्छ है सर। डायरीमा हिसाब हेर्दाखेरि ३ करोड १ लाख ५० हजार रुपैयाँ मलाई आयो।

सिलवाल : सुन्नु न। ३ करोड ७६ लाख ५० हजार आएको छ, तपाईंलाई मैले क्यास दिएको। जुन हाम्रो एग्रिमेन्ट थियो नि, त्यसअनुरुप ७० लाख रुपैयाँ त मैले मेरो जग्गा बैंकमा राखेर तपाईंले तिर्नुपर्ने मान्छेलाई तिरेको छु। तपाईंलाई मैले अन्याय गरेको छु भन्ने लाग्छ भने दाजुभाइ बसेर कुरा गरौं। खासमा तपाईंसँग मैले सम्बन्ध बिगार्न नखोजेको हो।

थप संवाद अडियोमा सुन्नुहोस्-

चेक ग्यारेन्टी दिँदा फसाद 

तेजबहादुर क्षेत्री नाताले गुनबहादुर थापाका बहिनीज्वाइँ हुन्। थापाले सिलवालसँग २ लाख रुपैयाँ ब्याज तिर्ने सर्तमा २९ मंसिर २०६६ मा दुई हप्ताका लागि २५ लाख रुपैयाँ सापटी लिए। त्यसको ग्यारेन्टीका लागि २९ पुस २०६६ को मितिमा ज्वाइँ क्षेत्रीको नाममा रहेको नबिल बैंकको खाता नम्बर २०८३२८/३६१०००१५ को चेक नम्बर ०२४६४४१ को २७ लाख रुपैयाँको चेक नवराजकी श्रीमती सिर्जना सिलवालको नाममा दिए। 

तेजबहादुरकी श्रीमती शान्ताका अनुसार गुनबहादुरले पैसा फिर्ता गरे। तर, विश्वासका कारण चेक फिर्ताका लागि जोडबल गरेनन्। 

‘पैसा फिर्ता गर्न म पनि सिलवालको घर साँझ अँध्यारोमा गएकी थिएँ, नवराज त्यतिबेला घरमा हुनुहुन्नथ्यो’, शान्ता भन्छिन्, ‘फोन गरेर कुरा गर्दा चेक फिर्ताको विषयमा चिन्ता लिनुपर्दैन, म जनकपुरबाट फर्केपछि गर्छु भन्नुभयो। अन्तिममा अदालत जानुभएछ।’

गुनबहादुर र सिलवालबीच लेनदेन विषयमा विवाद चर्किएपछि नवराजकी श्रीमती सिर्जनाले ६ महिनाभित्र साट्नुपर्ने उक्त चेक लिएर २७ महिनापछि अर्थात् १ चैत २०६८ बैंक पुगिन्। चेक नसाटिएपछि बाउन्स भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा हालिन्। यो सबै पूर्व डिआइजी सिलवालको योजनामा भएको थियो। 

जिल्ला अदालत काठमाडौंले सिर्जनाका पक्षमा फैसला गर्‍यो। त्यसपछि तेजबहादुर पुनरावेदन गए। पुनरावेदनले चेक काटिएको मितिले ६ महिनाभन्दा पछि दाखिला भएको चेकलाई मान्यता नदिने भएकाले उक्त चेक अनादर गरिएको भन्न नमिल्ने भन्दै ३१ असार २०७१ मा क्षेत्रीको पक्षमा फैसला गर्‍यो। 

यही विवादकै कारण काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ६ को तेजबहादुर क्षेत्रीको नाममा रहेको कित्ता नम्बर २९४, २९६ र २९७ को जग्गा सिर्जनाले रोक्का गरिदिएकी छिन्।

अर्को षड्यन्त्र 

२३ असार २०७२ मा जिल्ला प्रहरी कार्यालय चितवनले इलाका प्रहरी कार्यालय भण्डारा चितवनलाई एउटा पत्र लेख्दै भन्यो, ‘भण्डारा २ का गुनबहादुर थापा मानव बेचबिखन कार्यमा संलग्न रहेको र घटनापछि फरार रहेकाले निजको खोजतलास गरी फेला परेमा इलाका प्रहरी कार्यालय इटहरीमा बुझाउनू र सो को जानकारी गराउनू।’ 

जिप्रकाको पत्र पाएपछि गुनबहादुरलाई खोज्दै प्रहरी उनको घरसम्म पुग्यो। उनी त्यसबेला सपरिवार थाइल्यान्ड घुम्न गएका थिए। थाइल्यान्डबाट फर्केर सूचना पाएलगत्तै उनी आफैं प्रहरीसमक्ष पुगे। थप पैसा असुल्न यो षड्यन्त्र पनि सिलवालले नै रचेका थिए। महिलाको कीर्ते नाम खडा गरेर उनले थापा विरुद्ध प्रहरी कारबाही अगाडि बढाएका थिए। 

मानव बेचबिखन कार्यमा संलग्न भनिएका प्रतिवादी गुनबहादुर थापाले आफू कहिल्यै पूर्व नगएको र त्यस्तो काम आफूले सोच्न समेत नसक्ने र आफूलाई फसाउन सिलवालको निर्देशनमा केही व्यक्तिको मिलेमतोमा मुद्दा तयार गरिएको दाबी गरेका छन्। 

हामीलाई प्राप्त एउटा भिडियो कुराकानीमा गुनबहादुर थापाको विषयलाई लिएर एक महिलाले आफू र डिआइजी नवराज सिलवालबीच कुरा भएको र सिलवालको पक्षमा विज्ञप्ति जारी गरे पूर्वको मुद्दामा पनि सहयोग गर्ने बताएको प्रसंग उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय चितवनले २४ साउन २०७२ मा पुनरावेदन अदालत हेटौंडामा गुनबहादुर थापालाई पक्राउ गर्नुपर्ने कारणबारे एउटा लिखित जवाफ पेश गरेको थियो। जवाफकै साथमा प्रहरीले पेश गरेको कागजपत्र अनुसार ३० भदौ २०७१ मै इलाका प्रहरी कार्यालयले सो मुद्दामा जिप्रका चितवनलाई पत्र पठाएको देखिन्छ। यस हिसाबले एक वर्षपछि मात्रै चितवन प्रहरी गुनबहादुरको खोजीमा लागेको देखिन्छ।

त्यसपछि यस घटनाबारे जान्न हामीलाई थप उत्सुकता जाग्यो। बेचिएका भनिएका महिला उजुरीकर्तासँग कुरा गर्ने हाम्रो उद्देश्य थियो। त्यसका लागि गुनबहादुरले बेचेका भनिएका उजुरीकर्ता महिलाको नाम र ठेगाना माग्दै हामी विराटनगरस्थित इलाका प्रहरी कार्यालय इटहरी पुग्यौं। तर, प्रहरीले ती महिलाहरुको नाम, ठेगाना उपलब्ध गराउन मानेनन्।  

थापाले प्रहरीबाटै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी गरेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यस घटनाबारे बुझ्न बनाएको टोलीले उजुरीकर्ता नभेटिएको रिपोर्ट अर्याललाई गरेको थियो। 

सिलवालले लागूऔषध होस् वा शरीर बन्धक र बैंकिङ कसुर, यी तीन वटै मुद्दामा नियतवश थापालाई फसाउन खोजेको देखिन्छ। तर, उनैले लागूऔषध र शरीर बन्धक मुद्दामा थापालाई उम्काए। सिलवाल थापाबाट अधिकतम पैसा असुल्न चाहन्थे, त्यसैले थापालाई लामो समय जेल पठाउनेभन्दा पनि ‘मैले चाहे जे पनि गर्न सक्छु’ भनेर यी मुद्दा सिर्जना गरेको स्पस्ट देखिन्छ।

बिनाकारण थुनामा 
- मनोज थापा, चालक  

मेरो नाम मनोज थापा हो। घर गैंडाकोट नवलपरासी। नारायणघाटमा भाडाको ट्याक्सी चलाउँथे। त्यसै क्रममा गुनबहादुर थापासँग मेरो चिनजान भएको हो। 

वहाँले आफ्नो गाडी चलाउने प्रस्ताव गरेपछि म १३ वर्षदेखि वहाँसँगै छु। २०६९ भदौ २४ मा नवराज सिलवालका विरुद्ध पत्रकार सम्मेलन गर्ने तयारी थियो। रिपोर्टर्स क्लबमा सिलवालका विरुद्ध पत्रकार सम्मेलन गर्ने भनेर क्लबका अध्यक्ष ऋषि धमलाले अग्रीम ३० हजार रुपैयाँ लगिसकेका थिए। आफू विरुद्ध पत्रकार सम्मलेन हुँदै छ भन्ने सिलवालले थाहा पाएछन्।

अघिल्लो दिनदेखि होटल अर्किडमा बसेका थियौं। बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने ठाउँमा जाने तयारीमा थियौं। दुर्गा कुमाल र म तल पार्किङमा थियौं। भ्यानमा आएका मानिस गाडीबाट ओर्लेर होटलतिर लागेपछि यिनीहरु प्रहरी हुन् र आज यिनले केही गर्छन् भन्ने मैले पहिल्यै अनुमान लगाइसकेको थिएँ। उनीहरुले दाइ (गुनबहादुर) लाई नियन्त्रणमा लिन लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाईबाट आएको बताए। 

गाडीमा राखेर लैजाने बेलामा कमान्डर जस्तो देखिनेलाई मैले नवराज सिलवालले पठाएर त आउनुभयो होला नि भनेपछि उनी झस्के। पहिला त प्रहरीले मलाई जानपर्छ भनेका थिएनन्। दाइलाई पक्रेपछि कहाँ लगेर के गर्ने हुन् भनेर दुर्गा कुमाल र म पनि सँगै गाडीमा बस्यौं। हाम्रो गल्ती केही थिएन, एकछिनमा छोडिहाल्छ भन्ने थियो। बानेश्वरस्थित् लागूऔषधको कार्यालयमा पुर्‍याएर हत्कडी लगाएर फोटो खिच्न थाले, त्यसपछि फसाउन लागे भनेर डर लाग्यो। 

‘हामीले के गल्ती गरेका छौं र हत्कडी लगाउने’ भनेर प्रश्न गर्दा माथिको आदेश भन्थे। त्यो आदेश दिने पक्कै नवराज सिलवाल हुन् भन्ने लाग्यो। प्रहरीले लामो नेपाली कागज तयार गरेर हस्ताक्षर गर भन्यो। हामीले मानेनौं। त्यो कागजमा दाइ लागूऔषधको मुख्य कारोबारी र दुर्गा र मलाई सहयोगी बनाइएको थियो। दाइलाई बिनाकारण पक्रेपछि विभिन्न ठाउँबाट दबाव पर्‍यो। 

अर्को दिन हत्कडीमै स्वास्थ्य जाँच गराउन वीर अस्पताल लगियो। मलाई त्यहाँ सबैभन्दा बढी पीडा भयो। चिनेजानेका कसैले देख्ने हुन् कि भन्ने भयो। त्यसै दिन ३ बजेतिर यत्तिकै छोड्यो। 

जग्गाको लालपुर्जा:

जग्गा दृष्टिबन्धक गर्दै गरिएको तमसुक:

न्युज २४ टिभी विरुद्ध गुनबहादुरले जितेको गाली-बेइज्जती मुद्दा:

'चेक अनादर'बारे पुनरावेदन अदालत पाटनको फैसला:

 

पढ्नै पर्ने