नोबेल र विराटको सिट थप्न सकिँदैन : मेडिकल काउन्सिल (पत्रसहित)

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय (केयू)ले दुई मेडिकल कलेजलाई सिट थप्न पठाएको पत्रको जवाफ दिएको छ।

काउन्सिलले केयूले भनेझैँ नोबेल र विराट मेडिकल कलेजलाई थप सिट संख्या उपलब्ध गराउन नसकिने पत्र पठाएको हो। काउन्सिलले बिहिबार केयूलाई पत्र पठाउँदै उसले भनेझैँ नोबेल र विराटलाई थप १०/१० सिट दिन नसकिने जानकारी गराएको हो।

काउन्सिलले दुवै मेडिकल कलेजलाई यसअघि नै अधिकतम सिट उपलब्ध गराइसकेका कारण अब थप्न नमिल्ने जनाएको हो। ‘काउन्सिलले दुवै कलेजको अधिकतम सिट संख्या तोकी सकेको परिप्रेक्षमा त्यसमा सिट संख्या बृद्धि गर्न पूनरावलोकनको कुनै पनि स्थान नरहेको तथ्य स्पष्ट पार्न चाहन्छु,’ काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

काउन्सिलले केयूलाई दुवै मेडिकल कलेजमा विचारणीय संख्यामा शिक्षक/फ्याकल्टीहरु निरीक्षणका क्रममा मात्र देखिने, नियमित पठनपाठनको बेलामा अनुपस्थित रहने लगायतका गुनासा काउन्सिलमा आइरहने हुँदा कुनै पनि हालतमा थप सिट दिन नमिल्ने विवरणसहितको पत्र पठाएको हो। पत्रमा काउन्सिलले २०७२ सालमा तत्कालीन प्रधानन्यायाधिशले जारी गरेको परमादेशलाई समेत मनन गर्न केयूलाई आग्रह गरेको छ।

केयूले यो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना भइसके पनि फेरि संख्या तोकेरै सिट थप्ने खेल सुरु गरेको हो। केयूले विराटनगरमा रहेको नोबेल र विराट मेडिकल कलेजमा १०/१० सिट थप्न भन्दै काउन्सिलमा गत कात्तिक ३० गते पत्र पठाएको थियो। केयू स्कुल अफ मेडिकल साइन्सेजका डिन डा राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका हुन्।

यो शैक्षिक सत्रका लागि काउन्सिल र केयूका विज्ञहरुको टोलीले नोबेललाई ९० र विराटलाई ६५ सिट दिन सिफारिस गरेका थिए। सोही आधारमा उनीहरुले सिट पाएका थिए। तर, चुनावको मौका छोपी केयूले नोबेललाई एक सय र विराटलाई ७५ सिट पुर्‍याउने खेलमा लागेको हो।

सिट बढाउने विषयमा कात्तिक २८ गते केयू प्राज्ञिक परिषद्को बैठक बसेको थियो। 

यस्तो छ काउन्सिलले केयूलाई पठाएको पत्र

यस्तो छ केयूले काउन्सिलमा पठाएको पत्र

 

पढ्नै पर्ने