यस्तो जवाफ दिएर ‘मिस वर्ल्ड’ बनिन् मानुसी

नेपाल लाइभ

Nepal Live

एजेन्सी– ‘आमा सबैभन्दा बढी सम्मानकी हकदार हुन्छिन्। पारिश्रमिकको जुन कुरा छ, यसलाई पैसामा तौलिन सकिन्न। यो प्रेम र सम्मानको कुरा हो।’

भारतीय सुन्दरी मानुसी चिल्लरले ‘कुन व्यवसायमा सबैभन्दा बढी पारिश्रमिक हुनुपर्छ र किन?’ भनेर निर्णायकले सोधेको प्रश्नमा माथिको जवाफ दिँदै ‘मिस वर्ल्ड–२०१७’ को उपाधि जितेकी छिन्। 

विश्वका १ सय १८ राष्ट्रका सुन्दरीहरु सहभागी यो स्पर्धामा चिकित्साशास्त्र अध्ययनरत २० वर्षीया भारतीय सुन्दरीले उपाधि जितेकी हुन्। 

उनी यो उपाधि जित्ने छैटौं भारतीय सुन्दरी हुन्। भारतको हरियाणा राज्यकी मानुसीका बुवा–आमा पनि चिकित्सक हुन्। उनले कार्डियो सर्जन बन्ने लक्ष्य राखेकी छिन्।

यस वर्षको ‘मिस वर्ल्ड’ उपाधि जितेपछि उनलाई गत वर्षकी मिस वर्ल्ड प्योर्तो रिकोकी स्टेफिन डेल भालीले ताज पहिर्‍याएकी थिइन्। टप–५ भित्र प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याली सुन्दरीभन्दा उनले दिएको उत्तरलाई जजहरुले निकै रुचाएका थिए।

उपाधिको दाबेदार मानिएकी मिस मेक्सिको फस्ट रनरअप र मिस इंग्ल्यान्ड सेकेन्ड रनरअप भए। 

मानुसी भारतीय शास्त्रीय संगीतकी पनि कुशल नृत्यांगना हुन्। उनी फुर्सदमा स्केच र पेन्टिङ बनाउने सोख राख्छिन्। 

उनले ‘मिस वर्ल्ड’ को एउटा थिम ‘ब्युटी विथ पर्पोज’ का लागि महिलाहरूले रजस्वलाको बेला अपनाउनुपर्ने सरसफाइबारे जनचेतनासम्बन्धी कामलाई आफ्नो ‘प्रोजेक्ट’ बनाएकी थिइन्। 

‘शक्ति’ नाम दिइएको सो प्रोजेक्टका क्रममा उनले २० गाउँका करिब पाँच हजार महिलामा चेतना फैलाएकी थिइन्। ‘मिस वर्ल्ड’ मा उनी यो स्पर्धाको विजेता समेत घोषित भइन्।

मानुसी सन् २००० मा प्रियंका चोपडाले उपाधि जितेको १७ वर्षपछि भारतलाई उपाधि दिलाउन सफल भएकी हुन्।

चीनको सान्यामा शनिबार सम्पन्न भएको यो स्पर्धा हेर्न उनको परिवार पनि पुगेको थियो। 

अहिलेसम्म ‘मिस वर्ल्ड’ जित्ने ६ भारतीय सुन्दरी :

१९६६– रिता फारिया
१९९४– ऐश्वर्या राय
१९९७– डायना हेडन
१९९९– युक्ता मुखी
२०००– प्रियंका चोपडा
२०१७– मानुसी चिल्लर  

पढ्नै पर्ने