पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु, जग्गा सम्याइँदै

नेपाल लाइभ

Nepal Live

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन सुरु गरेको छ। 

अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले बताए। जग्गा सम्याउने, माटो ओसार्ने लगायत काममा डोजर, एक्साभेटर, लोडर र टिप्पर सक्रिय छन्।

ठेकेदार कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिउँद यामभरिमा विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताए।

मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ। चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँको ऋण सहयोगमा विमानस्थल निर्माण गर्न लागिएको हो।

०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो। रासस

पढ्नै पर्ने