कार्यकर्तालाई देउवाको निर्देशन : ढुक्क भएर नबस्नोस्, चुनाव कुनै पनि हालतमा जित्नुपर्छ

नेपाल लाइभ

Nepal Live

नेपालगञ्ज- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन्।

मंगलबार नेपालगञ्जमा आयोजित कांग्रेस कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै देउवाले बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कांग्रेसबाहेक कुनै पनि प्रजातान्त्रिक पार्टी नरहेको जिकिर गरे।

अहिलेको अवस्था चुनौतीपूर्ण भएको बताउँदै प्रधानमन्त्री देउवाले कार्यकर्तालाई निर्देशन दिए, 'तपाईंहरु ढुक्क भएर नबस्नुहोला। यो चुनाव कुनै पनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला।'

उनले निर्वाचनमा कांग्रेसलाई जिताउन सिंगो पार्टी एकढिक्का भएर लाग्न पनि निर्देशन दिए। 

देउवाले प्रतिनिधिसभाको सिट घटेको र निर्वाचनमा टिकट दिनुपर्ने योग्य आकांक्षीहरु धेरै भएकाले सबैलाई  टिकट दिन नसकिएको बताउँदै पार्टीको नेतृत्वमा सरकार बनेपछि योग्यता, क्षमता र दक्षता हेरी सबैलाई जिम्मेवारी दिइने आश्वासन दिए।

पश्चिम नेपालको भ्रमणका क्रममा मंगलबार नेपालगञ्ज पुगेका प्रधानमन्त्री देउवाले क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गरेका थिए भने अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्तासँग पनि भेटघाट गरेका थिए।

देउवा बुधबार धनगढी पुग्ने कार्यक्रम छ।
 

पढ्नै पर्ने