पूर्वमन्त्री लालबाबुको आत्मकथा बजारमा

नेपाल लाइभ

Nepal Live

काठमाडौं- मन्त्री भएका बेला उदाहरणीय काम र अडानका कारण चर्चित बनेका लालबाबु पण्डिको आत्मकथा 'सिंहदरबार बदल्ने संघर्ष' मंगलबारदेखि बजारमा आएको छ।

भूमिगतकालदेखि नै नेकपा एमालेसँग आबद्ध रहँदै आएका लालबाबु केही वर्षअघि पहिलो पटक मन्त्री हुनासाथ ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदामा बस्न नपाउने घोषणा गरेपछि त्यसको चौतर्फी चर्चा भएको थियो। त्यतिबेला सामान्य प्रशासन मन्त्री रहेका उनको सो घोषणाले बहस समेत जन्माएको थियो।

यसका साथै पूर्वी तराईको अल्पसंख्यक समुदायबाट राजनीतिको मूलधारमा आएका लालबाबुले देशमा विभाजनको राजनीति चर्किरहेका बेला समुदायहरुलाई जोड्ने सेतु बन्ने प्रयास गरेका थिए।

यसका साथै उनको सरल व्यक्तित्व र सामान्य जीवनशैलीले धेरैलाई प्रभावित पारेको थियो। 

भूमिगत कालमा लोकप्रिय नेता मदन भण्डारीसँगै रहेर संगठनमा लागेका लालबाबुमा सम्झौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको व्यक्तित्व पुस्तकमा अटाएको छ। राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनका रोचक भोगाइहरु आत्मकथामा समेटिएको छ।

पण्डितले युवा पत्रकार मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्।

पहिलोपटक मन्त्री बन्दा जताततै भद्रगोल देखेपछि त्यतिबेलै सबैभन्दा पहिले आफूलाई बदल्ने संकल्पका साथ काम सुरु गरेको लालबाबुले बताए। उनले भने, 'तिनै कामलाई मैले इमान्दारीसाथ पुस्तकमा राखेको छु।'

पुस्तक प्रकाशन गर्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले यस आत्मकथाले नेपाली राजनीतिको जटिल समयमा पनि सम्भावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने दाबी गरिन्।

पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ।

पढ्नै पर्ने