देशको समृद्धिका लागि कांग्रेसको बहुमत आवश्यक: विनोद चौधरी

नेपाल लाइभ

Nepal Live

नवलपरासी- दुई साताअघि नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीले आफू अब कांग्रेसबाट राजनीतिमा सक्रिय हुने बताएका छन्।

नवलपरासीको अमरापुरीमा आयोजित कांग्रेसको चुनावी सभामा बोल्दै चौधरीले अबको जीवन कांग्रेसको सक्रिय राजनीतिमा समर्पण गर्ने बताए।

समृद्ध आर्थिक नीतिले मात्र लोकतन्त्र बलियो हुने भन्दै चौधरीले ०४६ सालको परिवर्तनपछि कांग्रेसले लिएको उदार अर्थनीतिका कारण नै देश अहिलेसम्म चलिरहेको उल्लेख गरे।

आफ्नो समेत सल्लाहमा कांग्रेसले त्यतिखेर लिएको आर्थिक नीतिका कारण ०४८ देखि ०५० सालसम्म देशमा धेरै रोजगारी र कलकारखाना खुलेको दृष्टान्त दिँदै उनले भने, 'औद्योगिकीकरण र रोजगारीको हिसाबले त्यो २ वर्ष नेपालको स्वर्ण वर्ष थियो।'

कांग्रेसले दिएको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी आफूले पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। चौधरीले ५ वर्षभित्रमा गर्न सकिने योजनाहरुको खाका आफूसँग रहेको र त्यो पार्टीलाई सुम्पिने पनि बताए।

उनले देशमा समृद्धिको पहिलो आधार स्थिर सरकार आवश्यक रहेको औंल्याउँदै १ सय ५४ स्थानमा प्रतिनिधिसभामा एक्लै उम्मेदवारी दिएको कांग्रेसले बहुमत ल्याउन आवश्यक रहेको चर्चा गरे।

चौधरीले नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार शशांक कोइरालालाई जिताउन मतदातालाई अपिल समेत गरेका थिए।

पढ्नै पर्ने