सुरक्षा निकायलाई प्रधानमन्त्रीको प्रश्नः निर्वाचनमा असर पर्ने घटना हुनुमा कमजोरी कहाँ भयो? [भिडियो]

कृष्ण अधिकारी 

Nepal Live

नेपालगञ्जः पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ५ का सुरक्षा निकायका प्रमुखको बैठकलाई सम्बोधन गरेका छन्।

सुरक्षा गोष्ठीलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले रोल्पा, रुकुम लगायत जिल्लाहरुमा निर्वाचन प्रक्रियालाई दखल पार्ने घटना भएको भन्दै सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘निर्वाचनलाई दखल पार्ने किसिमका घटनाहरु कसरी भए? सुरक्षा निकायको कहाँ कमजोरी भयो?’ 

आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी योजना बनाउन प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।

गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले हालै रोल्पा र रुकुममा उम्मेदवारलाई लक्षित गरी भएका आक्रमणको प्रसंग उठाउँदै भने, ‘आगामी दिनमा निर्वाचन प्रक्रियालाई असर पुर्या उने घटना नहोस् भन्ने चाहन्छु।’ 

त्यस क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

सुरक्षा बैठकमा प्रदेश नम्बर ५ अन्तर्गतका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाका जिल्ला तहका प्रमुखका साथै प्रदेश तहका सुरक्षा तथा प्रशासनिक तहका प्रमुखहरु सहभागी छन्।

पढ्नै पर्ने