यू–१९ एसिया कप : मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट बलिङ

नेपाल लाइभ

Nepal Live

फाइल तस्बिर


काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम ‌१५.३ ओभरमा ४५ रनमा अलआउट भयो। 

मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पारे। अनिलकुमार साहले १ विकेट लिए।  

नेपालले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो।

सुरुवfती पाँच ओभरमा मलेसियाले राम्रो ब्याटिङ गरे पनि नेपालले छैटौं ओभरमा पहिलो सफलता हात पार्‍यो।  अनिलकुमार साहले छैटौं ओभरमा मलेसियाका कप्तान विरनदीप जगजित सिंहलाई १० रनमा आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सातौं ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। उनले २० रन बनाए खेलिरहेका सइद मुबारकालाई किशोर महतोबाट क्याच गराए भने सौभिन्दर सिंहलाई शून्य रनमा आउट गरे। आठौं ओभरमा सन्दीप लामिछानेले मोहम्मद हफिजलाई एलबिडब्लुको धरापमा पारे। त्यसपछि साहब अलामले लगातार २ विकेट लिएका थिए भने एक विकेट सन्दीपले हात पारे।  

मलेसियाका लागि ओपनरद्वय सइदले २० तथा विरनदिपले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

समूह 'ए' कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलोगरी सुरु भएको थियो। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ। 

समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार ब्यहोरेका छन्। दुवै टिमको २–२ अंक छ।

बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ। 

बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। किनकि भारत र नेपाल विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुने २ टिम अन्तिम चारमा पुग्नेछन्।
 

पढ्नै पर्ने