वाम गठबन्धनप्रतिको हाउगुजी, किन अत्तालियो कांग्रेस?

नलिना यादव

Nepal Live

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार पूर्वी नेपालको ताप्लेजुङ पुगेर उद्घोष गरे, ‘कम्युनिस्टले जिते तानाशाही लाद्छन्। एकदलीय तानाशाही शासनमा बोल्न पाइँदैन। लेख्न पाइँदैन। डरत्रासले कुण्ठित शासन हुन्छ।’

देउवा र नेपाली कांग्रेसका नेताहरुले यस्ता अभिव्यक्ति दिनदिनै दिइरहेका छन्। यस्तो देखिँदैछ, असोज १७ मा आफूलाई कम्युनिस्ट दाबी गर्ने दुई ठूला पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी–केन्द्र) ले चुनावी गठबन्धन घोषणा नगरेका हुन्थे भने देउवा र कांग्रेस नेताहरुसँग मत माग्ने अस्त्र नै थिएन। एमाले-माओवादी केन्द्रले गठबन्धन गरेपछि कांग्रेसका लागि ‘अधिनायकवाद’ शब्द मत माग्ने राम्रै औजार बनिरहेको छ। र, निर्वाचनका दिनसम्म कांग्रेसले यो शब्दलाई राम्रैगरी खपत गर्ने देखिन्छ।

निर्वाचनमा बहुमत प्राप्त गरेमा एमाले-माओवादीले अधिनायकवादी शासन चलाउलान्? कांग्रेस नेताहरुले दिनदिनै भट्याएपछि यो प्रश्न अहिले सर्वाधिक महत्वपूर्ण बन्नु स्वाभाविकै हो। कांग्रेसले किन अधिनायकवादको त्रास देखाइरहेको छ? सबभन्दा पहिले त्यस पार्टीका नेताहरुको मनोविज्ञानलाई नियाल्न जरुरी छ। 

‘उस्तै परे देश टुक्र्याउन तयार छौं’ भन्ने मधेसकेन्द्रित ६ दलबीच ३ महिनाअघि पार्टी एकता भयो। उनीहरुबीच एकता हुँदा देश टुक्रिएला कि भन्ने डर कांग्रेसलाई भएन। त्यसैले उसले त्यो एकताबारे बोल्न आवश्यक ठानेन। मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आसन्न निर्वाचनमा गठबन्धन गरिरहेका छन्। यस विषयमा पनि कांग्रेसले खासै आपत्ति जनाएको छैन। ‘मुलुकमा राजतन्त्र फर्काउनुपर्छ। हिन्दु राज्य चाहिन्छ’ भनेर खुला गतिविधि गरिरहेको राप्रपा र फुटेर गएको राप्रपाबीच गतवर्ष एकता भयो। यो एकताले निरंकुश राजतन्त्र फर्काउने खेल सुरु भएको भय कांग्रेसमा देखिएन।

घोषणापत्रमै संवैधानिक राजतन्त्र र हिन्दु राज्य चाहिने प्रस्ताव राखेको कमल थापा नेतृत्वको राप्रपा र मौका मिले राणातन्त्र नै आइदिए हुन्थ्यो भन्ने चाहना राख्ने पशुपति शमशेर जबरा मातहतको राप्रपा प्रजातान्त्रिकसँग कांग्रेसले चुनावी गठबन्धन गरिरहेको छ। पशुपति शमशेर त अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरकै नाति हुन्। कांग्रेस उनै राणासँग लहसिइरहेको छ। 

एमाले-माओवादीले कांग्रेस-राप्रपा गठबन्धन राजतन्त्र-राणातन्त्र फर्काउने खेलमा लाग्यो भनेर भनिरहेका छैनन्। बरु 'विचार मिल्नेहरुबीच एकता गर्नुस्' भनिरहेका छन्। तर, कांग्रेस चाहिँ वाम गठबन्धनलाई एकोहोरो निरंकुशता लाद्ने प्रयास भनिरहेको छ। के त्यसो भए वाम गठबन्धन अधिनायकवादी बाटोमै लागेको हो त?

खासमा स्वतन्त्र आँखाले हेर्ने हो भने एमाले-माओवादी गठबन्धनले अधिनायकवादी शासन चलाउने सम्भावना रत्तिभर छैन। पहिलो कुरा त नेपालका कम्युनिस्टहरु कम्युनिस्ट नै होइनन/रहेनन्। कम्युनिस्ट शब्द उनीहरुका लागि देखाउने/सुनाउने ‘ट्रेडमार्क’ मात्र हो। आफूलाई कम्युनिस्ट दाबी गर्नेहरुमा जुन सादगीपन, इमानदारिता, अरुको दु:खप्रति संवेदनशील, सहयोगी, विवेकी र प्रस्ट हुनु पर्ने हो। अपवादबाहेक यस्ता गुण एमाले-माओवादी दुवैमा पाइँदैन। स्वार्थका लागि यिनीहरु जुनसुकै कर्म गर्न इच्छुक छन्। जसलाई पनि जतिसुकै तल ओर्लिएर धोका दिन तयार हुन्छन्। एमाले-माओवादीको रातो रङ खुइलिएर कैलो मात्र भएको छैन, निख्खर कालो भइसकेको छ। तिनका नेता-कार्यकर्ता जालझेल, तिकडम, सत्ताको लुछाचुँडी गर्न कांग्रेस, राप्रपा वा अन्य कुनै दलभन्दा कम छैनन्। अझ एक कदम अघि नै होलान्।

दोस्रो कुरा, जतिसुकै सिद्धान्त, विचार, राजनीतिको जलप दिन खोजिए पनि एमाले-माओवादी गठबन्धन केवल सत्ता स्वार्थमा केन्द्रित भएर बनेको हो। सत्ता स्वार्थबाट प्रेरित गठबन्धनबाट अधिनायकवाद स्थापना हुनै सक्तैन। किनभने स्वार्थ बाझेकै दिनबाट यिनीहरु आ-आफ्ना झिटीगुन्टा बोकेर आफ्नै बाटो लाग्छन्। जगजाहेरै छ, आफू प्रधानमन्त्री र विश्वासपात्र जनार्दन शर्मालाई गृहमन्त्री बनाएर प्रचण्डले स्थानीय तहको निर्वाचन गराएका थिए। ती निर्वाचनमा एमालेलाई ‘साइज’मा ल्याउन उनले सकेजति शक्ति लगाएकै हुन्।

एमालेलाई खुम्च्याउन शक्तिको कतिसम्म प्रयोग/दुरुपयोग गरियो? प्रचण्ड, शर्मालाई राम्रै हेक्का छ। भएभरको शक्ति प्रयोग गर्दा पनि उनीहरुले एमालेलाई ‘बिचरा’ बनाउन सकेनन्। यसपछि प्रचण्ड के निचोडमा पुगे भने कांग्रेससँग गठबन्धन कायमै राखे पनि अब एमालेलाई बलशाली हुनबाट रोक्न हम्मेहम्मे पर्छ। त्यसैले त्यही एमालेसँग मिलेर शक्ति सञ्चय गर्ने कार्यनीतिक फड्को मार्न पुगेका हुन् प्रचण्ड। 

प्रचण्डलाई राम्रैसँग जानकारी छ, एमाले पहिलो शक्ति बनेर आएमा सर्वप्रथम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘पेन्डङ’ रहेको भ्रष्टाचारको उजुरी ब्युँताएर आफूलाई दु:ख दिन्छ। रोचक के भने एमालेको भ्रातृ संगठन युवा संघले शिविरमा माओवादी नेतृत्वले घोटाला गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको थियो। यसबाहेक एनजिओ/आइएनजिओमा रहेको एमालेको पकड प्रयोग गरी थप अन्तर्राष्ट्रिय लाभ लिन सकिन्छ भन्ने प्रचण्ड ठम्याइ छ। त्यो लाभ कस्तो भने पाउनु/नपाउनु अलग कुरा, प्रचण्ड नोबेल शान्ति पुरस्कारका आकांक्षी छन्। त्यत्रो रक्तपातपूर्ण संघर्षलाई शान्तिपूर्ण प्रक्रियामा ल्याएकाले नोबेल पुरस्कार पाउनुपर्ने उनको बुझाइ छ। एमालेको सञ्जाल प्रयोग गर्न सके नोबेल पुरस्कारको सिफारिसमा पर्छु भन्ने आँकलन गरेका छन् उनले। साथै, एमालेसँग चुनावी तालमेल गर्दा सहजै सत्तामा जान सकिने, आफू विरुद्धको अख्तियारको मुद्दा पनि नब्युँतने निष्कर्षमा पुगेपछि तत्कालका लागि ठूलै ‘रिक्स’ मोलेर प्रचण्डले गठबन्धन गरेका हुन्।

वाम तालमेल/एकताबाट अधिनायकवाद लागू होला कि भनेर कांग्रेस इतर शक्ति चिन्तित हुनै पर्दैन। मानौं, कदाचित केपी ओली-प्रचण्डले अधिनायकवाद लागू गराउन खोजे भने पनि उनीहरुका पार्टीभित्रकै युवा जमातले कठोर प्रतिरोध गर्नेछन्। किनकि एमाले-माओवादीमा आधुनिक चेतना प्रविधिले युक्त, उदारवादसँग अभ्यस्त भइसकेका, युरोप/अमेरिका पुगेर पढेका वा नपुगे पनि बुझेका कार्यकर्ताहरुको पंक्ति ठूलो छ। ती पार्टीका मेरुदण्ड भनेकै तिनै कार्यकर्ता हुन् र आगामी दिनका चालक शक्ति पनि उनीहरु नै हुन्। अबका दिनमा उनीहरुको इसाराबिना एमाले-माओवादी चल्नै सक्तैनन्। उदारवादी चेतनाले युक्त त्यस्ता कार्यकर्ताहरुले पक्कै पनि अधिनायकवाद लागू गर्न सुझाव दिदैनन्। स्वीकार गर्दैनन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिसमेत अधिनायकवाद लाद्न अनुकूल छैन। 

त्यसबाहेक अर्को सवाल के भने प्रजातन्त्र/लोकतन्त्र स्थापना गर्नकै लागि एमालेका धेरै नेताहरुले लामो जेल जीवन बिताएका छन्। ओली स्वयंले १४ वर्ष जेल बिताए। तटस्थ आँखाले हेर्ने हो भने लोकतन्त्रकै लागि यति लामो जेल जीवन बिताएका ओली जति नेता आजको दिनमा कांग्रेसमा समेत छैनन्। त्यही लोकतन्त्रका लागि जेल बसेका, यातना खाएका एमाले नेताले अधिनायकवाद लागू गर्लान् भनेर विश्वास गर्न सकिँदैन। त्यसमाथि कांग्रेस र एमालेले हतियारबद्ध आन्दोलन सँगै त्यागेका हुन्। ०३१ सालको टिम्बुरबोटे काण्डपछि कांग्रेसले सशस्त्र विद्रोह त्यागेको थियो भने ०३२ सालको सेरोफेरोबाटै तत्कालीन झापा विद्रोही समूहले पनि बन्दुक बिसाएको हो। तीसकै दशकमा हतियार बिसाइसकेका एमाले नेताहरुले निरंकुश शासन लागू गर्ने/स्वीकार गर्ने सम्भावना बिलकुलै देखिँदैन।

अब रह्यो कांग्रेसले अधिनायकवादको भूत किन देखाइरहेको छ भन्ने। एमाले-माओवादीले गठबन्धन/एकता गरी निर्वाचनमा होमिए न्युनतम दुई निर्वाचन अर्थात् १० वर्षसम्म कांग्रेसले सत्ताको नेतृत्व गर्ने सम्भावना देखिन्न। कांग्रेसलाई सत्ताको चास्नीमै रम्ने बानी परिसकेको छ। त्यसैले अधिनायकवादको भूत देखाएरै सही, सरकारको नेतृत्व गरिरहनका निम्ति प्रधानमन्त्री देउवा र उनी नेतृत्वको कांग्रेसले निरंकुशताको तुरुप फालेको बुझ्न कठिन छैन। भलै, यो तुरुपले कति काम गर्छ, हेर्न मंसिर २१ सम्म पर्खनैपर्छ।

पढ्नै पर्ने