ओली, प्रचण्ड र केसीले बागलुङको चुनावी सभालाई सम्बोधन गर्ने

नेपाल लाइभ

Nepal Live

बागलुङ- जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न प्रमुख तीन वाम दलका अध्यक्ष बिहीबार बागलुङ आउँदैछन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ । 

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो। तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए।

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ। 

ओली र प्रचण्डको संयुक्त चुनावी प्रचार कार्यक्रम अन्तर्गत उनीहरु बागलुङ आउन लागेका हुन्। जिल्लामा राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धन बनेकाले राजमोका अध्यक्ष केसी पनि आमसभालाई सम्बोधन गर्न आउन लागेका हुन्।

जिल्लामा तीनै दल गठबन्धन बनाएर आसन्न प्रतिनिधि र प्रदेशसभा चुनाव लड्दैछन्। 

प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र नेकपा एमाले र माओवादी केन्द्रले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ।रासस 
 

पढ्नै पर्ने