मतदान अधिकृत खटाउन गोलाप्रथा

नेपाल लाइभ

Nepal Live

चौतारा- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा खटाइने भएको छ। 

विगतका निर्वाचनमा नजिकका कर्मचारीलाई खटाइँदा विवाद भएकाले निष्पक्षता कायम गर्न गोलाप्रथाद्वारा छनोट गरिन लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिए।

जिल्लाको १४४ मतदानस्थलमा दुई सय ८५ केन्द्र कायम गरिएको छ। त्यसमध्ये ३१ केन्द्र संवेदनशील मानिएको छ। एक केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित ८ जना कर्मचारी खटाइने हुँदा कुल २ हजार २८० जना कर्मचारी खटिने उनले बताए।

त्यसैगरी मतदान केन्द्रमा आवश्यकताअनुसारको म्यादी र नेपाल प्रहरी खटाइनेछ। प्रहरी निरीक्षकको कमान्डमा ३ वटा घुम्ती टोलीसमेत व्यवस्था गरिएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए।

जिल्ला सुरक्षा समितिकाअनुसार पहिलो घेरामा म्यादी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान केन्द्रका कर्मचारी रहनेछन्। त्यसैगरी दोस्रो र तेस्रो सरक्षा घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेना खटाइनेछ। 
 

पढ्नै पर्ने