पहिलो आमनिर्वाचनको अनुभव– यसकारण गणेशमान प्रधानमन्त्री बनेनन्

नवीन अर्याल

Nepal Live

२०१५ सालको पहिलो आमनिर्वाचन (इन्सेटमा कायस्थ)


 


काठमाडौं- २००२ सालमा आठौं राणा प्रधानमन्त्रीका रुपमा पद्म शमशेर राणा नियुक्त भएपछि नेपालको राजनीतिले केही कोल्टे फेर्यो। तर, उनको शासन लामो समय टिक्न सकेन। करिब ३ वर्षको छोटो कार्यकालपछि नै उनले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्यो। 

प्रधानमन्त्री पद्म शमशेरकै कार्यकालमा नेपालको राजनीतिलाई तंरगित पार्ने एउटा घटना भएको साहित्यकार तिलकप्रसाद कायस्थ सुनाउँछन्। ८२ वर्षको उमेरमा पनि कायस्थ भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा रहेको आफ्नो पुख्र्यौली घरमा साहित्य सिर्जनामा क्रियाशील छन्। 

उनले ४ वटा नेपाली भाषा र ८ वटा नेवारी भाषामा निबन्ध र कविता संग्रह प्रकाशित गरिसकेका छन्। 

२००४ सालमा उनी १२ वर्षका थिए। त्यति बेला काठमाडौंमा पहिलो पल्ट ‘सेयर होल्डर’ हरुबाट निर्वाचन भएर देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको सञ्चालक समिति छनोट गरिएको थियो। 

यो घटना आफैंमा ऐतिहासिक थियो। त्यसैले उपत्यकाभरि निकै हल्लीखल्ली भयो। राणा साशनको बेला बन्द समाजमा कुनै संस्थाको नेतृत्व निर्वाचनका माध्यमबाट छानिनुलाई वुद्धिजीवीहरुले अर्थपूर्ण रुपमा लिएका थिए। 

‘निर्वाचन कसरी हुन्छ भन्ने चासो सबैमा थियो। टोल–टोलमा यसको चर्चा भयो,’ २०४९ सालमा भक्तपुर जिल्लामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रहेका कायस्थ सम्झन्छन्। 

उनी २००७ सालपछि नेपाली राजनीतिमा थुप्रै उथलपुथल भएको स्मरण गर्छन्। २००७ साल फागुन ७ गते राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गर्दा २ वर्षभित्र बालिग मताधिकारको आधारमा जनताले चुनेको सरकारले राज्य सञ्चालन गर्ने बताएका थिए। तर, त्रिभुवनले आफैंले बोलेको कुरा पूरा गरेनन्। 

यसैबीच, २००९ सालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भयो। कायस्थ यसलाई नेपाली राजनीतिको दोस्रो ठूलो घटना मान्छन्। २२ वर्षका युवाहरुलाई मात्र निर्वाचनमा भाग लिने अवसर प्राप्त थियो। त्यसैले कायस्थले यो निर्वाचनमा भाग लिन पाएनन्। तर, यही वर्षदेखि छात्र संघबाट राजनीति सुरु गरेका उनी भन्छन्, ‘टोल–टोलमा उत्साह थियो। उम्मेदवारहरु भोट माग्दै हिँड्थे। आफ्नो प्रिय उम्मेदवारलाई सगुन खुवाउनेको लर्को लाग्थ्यो।’

त्यति बेला पार्टीहरुको चुनाव चिह्न देवी–देउताका हुन्थ्यो। साइकल, छाता र हात्ती पनि चुनाव चिह्नमा समावेश गरिएको थियो। नगरपालिकाको नामाकरण नेपालीबाट भइसकेको थिएन। नगरपालिकालाई अंग्रेजीबाटै ‘मुनिसिपालिटी’ भनिन्थ्यो। 

‘उपत्यकामा तीन चरणमा निर्वाचन भएको थियो। निर्वाचन खाली ठाउँमा गरिएको थियो। पहिलो पल्ट मत हालेर फर्किएका स्थानीयबासी मुसुक्क हाँसेर निस्किन्थे,’ उनी सम्झन्छन्। नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि भक्तपुरमा पहिलो पल्ट नगरपालिकाले नै काठमाडौंसम्म जाने बस सेवाको सुरुवात गरेको थियो। 

‘एउटा टिकटको मूल्य ५० पैसा थियो। धेरैजसो मानिस टिकटको मूल्य चर्को भयो भनेर हिँड्दै काठमाडौं जान्थे। लामो समयसम्म नगरपालिकाले घाटामा बस सेवा सुचारु गर्नु परेको थियो,’ उनी भन्छन्। 

राजनीतिक पार्टीलाई फुटाउने र आफैंले राज गर्ने दरबारको मनसाय बुझेपछि नेपाली कांग्रेसले २०१० सालदेखि २०१४ सालसम्म तीन पल्ट भद्र अवज्ञा आन्दोलन गर्नुपरेको थियो। 

‘जाडो महिनामा दमकलबाट पानी ओसार्दै दरबारले आन्दोलनकारीमाथि फोहरा छोड्ने गर्थ्यो। २०१४ सालमा चिसोमा पनि १० दिन लामो अवज्ञा नभएको भए राजा महेन्द्र गल्नेवाला थिएनन्,’ उनले भने, ‘लाचार भएर उनले सूवर्ण शमशेर राणालाई मन्त्री परिषद्को अध्यक्ष नियुक्त गर्दै निर्वाचन गर्ने अभिभारा सुम्पिए।’ 

२०१५ साल फागुन ७ का लागि आमनिर्वाचन घोषणा भएपछि नेपाल अर्को युगमा प्रवेश गरेको कायस्थको भनाइ छ। त्यति बेला देशभरि १ सय ९ स्थानमा निर्वाचन भएको थियो। उपत्यकामा मात्र ४ वटा क्षेत्र (काठमाडौंमा २, भक्तपुरमा १, ललितपुरमा १) निर्धारण गरिएको थियो। पहिलो पल्ट आयोजना भएको आमनिर्वाचनमा १८ वर्ष उमेर पुगेका नेपालीले मत दिन पाउने नियम बनाइएको थियो। 

कायस्थले पहिलो आमनिर्वाचन सम्झे, ‘ओहो, पहिलो निर्वाचनको तामझाम नै बेग्लै। त्यति बेला गाडीमा प्रचार–प्रसार गर्ने पार्टीहरुको दौडधुप निकै थियो। पाल टाँगेर मतदान स्थलको निमार्ण गरिएको थियो।’ 

पहिलो पल्ट भएको निर्वाचनमा कांग्रेसले ७४ मत प्राप्त गरेर सरकार बनायो। बिपी कोइराला सुनसरी र मोरङ दुई क्षेत्रबाट निर्वाचनमा उठ्ने ‘कन्फर्म’ थियो। तर, काठमाडौंबाट प्रकाशित हुने पत्र–पत्रिकाले राष्ट्रियस्तरको नेता डराएर दुई ठाउँबाट उठ्न लागेको भनेपछि बिपीले सुनसरीको निर्वाचन क्षेत्र छोडेका थिए। 

‘त्यति बेला दरबार पूरै प्रपोगान्डामा लागेको थियो। नेपाली कांग्रेसको नेता तथा २००७ सालको क्रान्तिका नायक भएको हुनाले उनलाई निचो देखाउन दरबारले सबै हत्कण्डा अपनायो,’ कायस्थ भन्छन्, ‘पत्रपत्रिकाले दिनहुँ छाप्थे– आफूलाई राष्ट्रियस्तरको नेता भन्छ। तर, डराएर २ ठाउँबाट उठेको छ।’

यही निर्वाचनमा गणेशमान सिंहले काठमाडौं क्षेत्र नम्बर–१ बाट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई २ हजार मतले पराजित गरे। गणेशमानले करिब ११ हजार मत प्राप्त गरेका थिए। पुष्पलालले करिब ९ हजार मत पाएको कायस्थ सुनाउँछन्। 

‘निर्वाचनमा आफूले प्राप्त गरेको मतबाट गणेशमान निकै निरास हुनुहुन्थ्यो,’ कायस्थ सम्झन्छन्, ‘हामी जितको बधाइ दिन सगुन बोकेर काठमाडौं पुगेका थियौं। उहाँले उल्टै हामीलाई हप्काउनु भयो।’

त्यति बेला गणेशमानको भनाइ थियो– मैले काठमाडौंका जनताका लागि यति धेरै गरेँ। उनीहरुले मलाई ११ हजार मात्र मत दिने र अन्य पार्टीका उम्मेदवार (सबै जोडेर) लाई १८ हजार मत दिने! 

गणेशमानले ल्याएको भोटबाहेक अन्य पार्टीका उम्मेदवारको मत गणना हुँदा करिब १८ हजारको हाराहारीमा पुगेको थियो। 

‘उहाँ त मन्त्री बन्ने पक्षमा पनि हुनुहुन्थ्यो। आफ्नो क्षेत्रका मतदातातर्फ इसारा गर्दै भन्नु भयो– यी भेँडाहरुलाई मान्छे बनाउन के गरिनँ? यही हो भोट दिएको!’ कायस्थले पहिलो आमनिर्वाचनको अनुभव सुनाए, ‘बिपीले तपाईं मन्त्री बन्नु भएन भने म पनि प्रधानमन्त्री बन्दिनँ भनेपछि उहाँ मन्त्री बन्न राजी हुनुभयो।’

कायस्थ २०४६ सालमा गणेशमानले प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नु र २०४८ सालको आम निर्वाचनमा नउठ्ने घोषणा गर्नुको पछाडि २०१५ सालको निर्वाचनकै घटना मुख्य कारण रहेको बताउँछन्। 

‘उहाँले त्यति बेलै हामी सबैका अगाडि घोषणा गर्नु भएको थियो। आजदेखि सार्वजनिक पद पनि लिन्न र चुनाव पनि उठ्दिनँ।’ 

पहिलो आमनिर्वाचनपछि नेपालमा आर्थिक क्रान्तिको दौर सुरु हुँदैथियो। यति नै बेला राजा महेन्द्रले ‘कू’ गरेको कायस्थ बताउँछन्। ‘अर्थमन्त्री सूवर्ण शमशेरले बजेट भाषण गरेको १ साताभित्रै आफ्नो १२ हजार बिघा जग्गा राष्ट्रियकरण गरेपछि दरबारको मुटु हल्लियो। राजाबाहेक राजपरिवारको अकूत सम्पत्ति राष्ट्रियकरण हुँदैथियो,’ उनी भन्छन्। 

३० बर्से पञ्चायती व्यवस्था नेपालीको आर्थिक, राजनीतिक र समाजिक पछौटेपनको मूल कारण भएको उनको ठम्याइ छ।

पढ्नै पर्ने