मोरङका उद्योगीलाई दैनिक १५ करोड नोक्सानी

नेपाल लाइभ

Nepal Live

मोरङ- भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालवाहक सवारीसाधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक १५ करोड रुपैयाँ घाटा भइरहेको छ। 

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालवाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ। 

अहिले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए। 

भान्टाबारी र रानी भन्सारमा पनि जाँच गरिँदा उद्योगीलाई दोहोरो दुःख भएको भन्दै उपाध्यायले थपे, 'यस क्षेत्रका उद्योगीलाई दैनिक १४ करोडदेखि १५ करोड रुपैयाँसम्म नोक्सानी भइरहेको छ।' कलकत्ता बन्दरगाहमा सयौं कन्टेनर रोकिएको उनले जानकारी दिए। 

मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किलोमिटरको दूरीमा पर्छ। तर, सुनसरीको भान्टाबारी नाकाबाट ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ। भान्टाबारी नाकाबाट सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने गरेको छ।

उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम बेहोर्नुपर्थ्यो। घुमाउरो दूरी प्रयोग गर्नुपर्दा अहिले उत्पादन लागत ह्वात्तै बढेको अध्यक्ष उपाध्यायले बताए। कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उनको गुनासो छ। 

पुल सञ्चालन गर्न मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १, उद्योग संगठन मोरङ लगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन्। रासस

पढ्नै पर्ने