राजनीतिमा आरोपको हतियार : कसले कसलाई सक्ने?

विशालकुमार भण्डारी 

Nepal Live

पछिल्लो समय नेपाली कांग्रेस र वाम गठबन्धनबीच आरोप-प्रत्यारोपको राजनीतिक चर्कंदो छ। कांग्रेस सभापति शेरबहादुर देउवाले 'वाम गठबन्धनले बहुमत ल्याए रुन पनि पाइँदैन' भनेपछि त्यसैको सेरोफेरोमा आरोप-प्रत्यारोपको राजनीति रुमाल्लिएको छ। 

चुनावको मुखमा दलहरुले जनताको मन जित्न र कहिलेकाहीँ 'इमोसनल्ली ब्ल्याकमेल' गर्न आरोपको हतियार प्रयोग गर्ने गर्छन्। यो नौलो कुरा भएन।

पछिल्लो समयको आरोप-प्रत्यारोपको विषय पनि सत्ता स्वार्थसँगै केन्द्रित छ। वामपन्थीहरुले चुनावमा बहुमत ल्याएर सत्ता हासिल गरे सर्वसत्तावादी र निरकुंश राज्यसत्ता चलाउँछन् भनी कांग्रेसले आरोप लगायो। जनताले नै एकलौटी रुपमा राज्य सञ्चालन गर्न मत दिएकै खण्डमा पनि त्यो सम्भव होला वा नहोला, बहसको अर्को पाटो हुन सक्छ। प्रजातन्त्र पुन:स्थापनापछिका वर्षहरुलाई सरसर्ती हेर्दा दलहरु सत्ताका लागि मिलिहाल्ने र मिल्दा सास नगनाउने। तर, स्वार्थ मिल्न छाडेपछि टाढैबाट अरुका दागहरु देख्ने प्रवृत्ति नौलो होइन।

प्रजातन्त्रका लागि सँगै लडेका नेपाली कांग्रेस र वामपन्थीहरु त्यतिबेला आरोप-प्रत्यारोपमा लागे, जब चुनाव आयो। कांग्रेसले ०४७ सालपछि कम्युनिस्टहरुलाई लगाएका केही कठोर आरोपबाट विषयहरुको थालनी गर्दा उपयुक्त हुन आउँछ। कांग्रेसले ०४७ सालमा कम्युनिस्ट सत्ता आयो भने बूढाबूढी मार्छन्, सामूहिक स्वास्नी राख्नुपर्ने बाध्यता गराउँछन्, एउटै खड्कुलोमा पकाएको खानुपर्ने हुन्छ, जसले छोएको पनि खानुपर्ने अवस्था आउँछ, जग्गा जमिन खोस्छन्, सम्पत्ति राख्न पाइन्न भनी आरोपित गरेको थियो।

कम्युनिस्ट, विशेषत: एमालेको विरुद्धमा ०४७ पछि कांग्रेसको तत्कालीन नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आरोप लगाएका थिए। कोइरालाले कम्युनिस्टलाई लक्षित गर्दै माले, मसाले र मण्डले एकै हुन् भन्न समेत भ्याए। लगत्तै वामपन्थीहरुले कांग्रेसलाई कहिले दरबार परस्त त कहिले भारतीय दलालका रुपमा चित्रण गरे। हुन त कुनै एक दलले अरु दलबाट आफू जति असुरक्षित महसुस गर्छ, त्यति नै आरोपको फेहरिस्त बढ्ने गर्छ। कांग्रेस र एमालेलाई अहिले आपसमा असुरक्षित भएकै कारण आरोपहरुको मात्रा बढेको हो। चुनावको बेला दलहरुलाई आफू अलि बढी असुरक्षित महसुस हुने भएकाले आरोपको खहरे बढ्छ।

जनमत हुनेहरु जनमतको सुरक्षा गर्न आफ्नो राजनीतिक संगठनलाई क्रियाशील बनाउने गर्छन्। जनमत सुरक्षित भएर मात्र नपुग्ने रहेछ। कहिलेकाहीँ त्यही जनमत सुरक्षित गर्न दलहरुले नयाँ-नयाँ तर वजनबिनाका आरोपहरु जनतामाझ पुर्‍याउने गर्छन्। पछिल्लो समय कांग्रेसका सभापतिले एमालेलाई आरोपित गरे। जनमत बचाउनकै लागि खण्डनका रुपमा त्योभन्दा चर्को आलोचना एमाले अध्यक्ष केपी ओलीले गरे। खासगरी आफूलाई कमजोर महसुस गरेकाहरुले संवेदनामा झ्वाट्ट छुने खालका विम्बको सहारा लिन्छन्। देउवा लगायत कांग्रेसका नेताहरुले त्यसै गरे।

कुनै एक दलले अरु दलबाट आफू जति असुरक्षित महसुस गर्छ, त्यति नै आरोपको फेहरिस्त बढ्ने गर्छ। कांग्रेस र एमालेलाई अहिले आपसमा असुरक्षित भएकै कारण आरोपहरुको मात्रा बढेको हो।

जस्तो कि: कम्युनिस्टले चुनाव जिते रुन पनि पाइन्न, नेपालमा कम्युनिस्ट व्यवस्था आयो भने जनताका सबै हकअधिकार खोसिन्छन्, वाम गठबन्धनले चुनाव जिते मुलुकमा सर्वसत्तावाद हावी हुन्छ, कम्युनिस्टहरूले नेपाललाई उत्तर कोरिया बनाउने षडयन्त्र गरिरहेका छन् आदि। 

अघिपछि सत्ता स्वार्थका लागि एकै हल समेत हुन पछि नपर्ने एमाले-कांग्रेसको जुहारी रोचक छ। यिनले एक-अर्कालाई लगाएका आरोप पत्याउने-नपत्याउने जिम्मा जनताकै हो। केही दिनअघि एमाले अध्यक्ष ओलीले पनि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीयको पक्षपाती भएको, भारतसँग नेपालको हितका विषयमा कुरा गर्न डराएको, भारतको इशारामा संविधान संशोधनका विषयलाई उछालेको अभिव्यक्ति दिए।

ओलीले प्रस्ट रुपमा देउवालाई संकेत गर्दै भने, 'भारतसँग एकपल्ट बोल्नुपर्योो भने चारपल्ट चश्मा मिलाउनुपर्छ, पाँच पल्ट दौरा तान्नुपर्छ। राजदूतसँग पनि बोल्न सक्नुहुन्न। कठै बरा!’

यो अभिव्यक्तिभित्र अध्यक्ष ओलीले चुनावको मुखमा आफूलाई राष्ट्रवादी नेताका रुपमा उभ्याउन खोजेको प्रस्टै देखिन्छ। एमाले राष्ट्रवादी भएको तर कांग्रेस नभएको भनी बाहिर आएको यस्तो अभिव्यक्तिले कांग्रेस झनै चिढिएको छ। अबका दिनमा कांग्रेसले एमालेलाई अर्को कुन आरोप लगाउने हो, हेर्न बाँकी नै छ।

जब-जब चुनाव आउँछ, दलहरु विपक्षीलाई गहन जस्तो लाग्ने सतही आरोप लगाउने गर्छन् । कुनै पृष्ठभूमि र सान्दर्भिकताको लेखाजोखा नगरी आरोप लगाइँदा कहिले हाँसो र ठट्टाको पात्र बन्ने गरेका छन्। 

केही वर्षअघिको बाबुराम भट्टराईले एमालेलाई लक्षित गर्दै हिङ भएपछि हिङ बाँधिएको टालो किन चाहियो भनी अभिव्यक्ति दिएका थिए। त्यसको केही वर्षपछि उनै भट्टराई एमालेसँग चुनावमा सहकार्य गर्दा गदगद भए। त्यो खुसी उनैले वर्षौं लागिमेली गरेर हुर्काएको माओवादीले केही क्षणमै हरण गर्‍यो। 

हुन त राजनीतिमा स्थायी शत्रु-मित्रु हुँदैन। त्यसैगरी आरोप पनि स्थायी वा अस्थायी हुँदैन। कुनै पनि कुराको निर्धारण पदार्थ र पदार्थमा हुने परिवर्तनका आधारमा हुन्छ। राजनीति धेरै पक्ष मिश्रित माकुरोको जालो हो, जहाँ कुनै एक पक्षको अत्यन्तै प्रभावका कराण प्रभाव र परिवर्तन भइरहन्छ।  

माथि उल्लिखित आरोपहरु सरसर्ती हेर्दा कांग्रेसले एमालेलाई जति गभ्भीर आरोप लगाएका छन्, त्योभन्दा गम्भीर आरोप कांग्रेसलाई एमालेको छ। राष्ट्रियता, अखण्डता र राष्ट्रहित विरोधीका रुपमा कांग्रेसलाई एमालेले गरेको चित्रणका कारण कांग्रेसका नेता-कार्यकर्ता उग्ररुपमा एमालेको विरोधमा उत्रिएको देखिन्छ। कुनै एक दलले आरोप लगाउनासाथ अर्को दलले जवाफ दिइहाल्नुपर्ने होइन, तर चुनावी मसला र जनताबीच पुग्न अरु धेरै विषयवस्तु हुँदाहुँदै पनि छिटो फैलिने र भिडको संवेदनालाई तरंगित पार्ने भएकाले आरोपको हतियार प्रयोग गरिन्छ । अहिले कांग्रेस र एमालेको जुहारी पनि यसैको परिणाम हो। 

बलियो जनपंक्ति रहेको एमालेले देशविरोधीको संज्ञा दिइरहँदा कांग्रेस चुप बस्नु, नाकाबन्दीका बेला भारतलाई नाकाबन्दी रोक्ने अभिव्यक्ति नदिनु, भारतीय संस्थापन पक्षको दबावमा संविधान संशोधनलाई स्वार्थ अनुकूल बेलाबखत मात्र ल्याउनु कमजोरीका रुपमा औंल्याउनेको ठूलो जमात समाजमा छ। 

दलहरुबीच हुने आरोप कत्तिको सान्दर्भिक छ वा छैन? छ भने त्यसका आधारहरु के-के हुन्? त्यस विषयको प्रस्ट लेखाजोखा गर्न सक्ने सर्कल समाजमा बनिसकेको अवस्थामा आरोपका विषयवस्तु गौण हुन सक्छन्। पछिल्लो समय हाम्रो समाज विभाजित हुने प्रवृत्तिबाट क्रमश: टाठो हुँदै गएको सन्दर्भमा यस्ता आरोप-प्रत्यारोपबाट गरिने राजनीतिले नेता र जनता जोड्ने देखिँदैन। त्यसैले दलहरुले आरोपका लागि लगाउने आरोपभन्दा पनि रचनात्मक आलोचनाको सहारा लिनु आवश्यक देखिन्छ।  

तर्क र तथ्यबिना अरुको मर्ममा प्रहार गर्ने र त्यसैको जगमा जनमत सिर्जना गर्ने परिपाटीमा सुधार हुन आवश्यक छ। लामो कालखण्डबाट गुज्रिएका दलहरुको व्यवहार हेर्दा तिनको आकार र उमेर मात्र बढेको तर चेतना र संस्कार जस्ताको तस्तै रहेको देखिन्छ। विपक्षीलाई माथ गर्न ०४७ सालमा कांग्रेस नेतृत्वले लगाएका आरोपहरु कति प्रमाणित भए वा भएनन्, मूल्याकंनको विषय हुन सक्छ । आरोपलाई मजाकका रुपमा समाचार सम्प्रेषण गर्नेहरु र आफ्ना नेताले गरेको आरोपलाई गीताका रुपमा गाउने नेता-कार्यकर्ताको प्रवृत्ति फेरिनु पनि आवश्यक छ। 

राजनीतिक दलले आफूलाई चोखो देखाउन र सबै दोषजति अरुको काँधमा राख्दा बढी भोट पाउन सकिन्छ भन्ने सोचका कारण आरोपित गर्ने राजनीति फस्टाएको छ। सूचना-प्रविधिको पहुँच, राजनीतिमा स्वतन्त्ररुपमा रहेका युवा पुस्ताको प्रभाव आदिका कारण कुनै दल वा दलका युवाले चाहेर मात्र कोही लोकप्रिय वा अलोकप्रिय हुने सम्भावना नेपाली समाजमा कम छ।

राजनीतिक दललाई जनताले लगाएका आरोपहरु जस्तै धन र डनको प्रभावमा, सांसदको टिकट खरिद-बिक्री, संसद पदको करोडमा मोलतोल आदि विषयमा मुख्य दलहरु चुप छन्। राजनीतिक संस्कारको विकास र स्वस्थ राजनीतिलाई बढावा दिनुको साटो आपसमा आरोप गरेर भोट तान्ने राजनीतिले चुनावलाई कतै हिंस्रक बनाउने त होइन भन्ने चिन्ता उब्जाएको छ।

ट्विटर@Nepathye

पढ्नै पर्ने