अनि, एनआरएन नरोजेर के गर्नु?

नेपाल लाइभ

Nepal Live

एक चर्चित सेलिब्रिटी र बैंसालु सुन्दरी। 

कति जना आउँदा हुन् विवाह प्रस्ताव लिएर? कस्ता–कस्ता आउँदा हुन्? कसरी फकाउन खोज्दा हुन्? धेरै जना राम्राले एकैपटक फलो गरिरहँदा ‘कसलाई दिऊँ यो जोवन?’ भनेर कति पटक दोधार हुँदो हो उसलाई। 

यी जिज्ञासा मेरो दिमागमा धेरै दिनदेखि नाचिरहेका थिए। लागिरह्यो, ऊसँग बिहे–संवाद गर्न पाए त पठनीय ‘स्टोरी’ बन्थ्यो।

ऊ मलाई पत्रकारका रूपमा निकट ठान्छे। सल्लाह/सुझाव लिन्छे र समाचारयोग्य कुरा आफै टिपाउँछे पनि। अर्थात्, ऊसँग राम्रै न्युज सेन्स पनि छ र मसँग राम्रै सम्बन्ध पनि।

मंसिर आउन थालेको फेरि। धेरैले यही बेला हो सुर कस्ने। यसैको पूर्वसन्ध्यामा ऊसँग बिहे–संवाद गर्ने योजना बनाएँ। मैले आफ्नो सञ्चारमाध्यम जुन ‘टपिक’मा कुरा गर्न खोजे पनि अस्वीकार गरेको रेकर्ड अहिलेसम्म थिएन। विश्वस्त छे, ‘मलाई हानि हुने कुरा तपाईं लेख्नुहुन्न।’

प्रश्नको खाका दिमागमा बनाएर गएँ। उसलाई सिटी सेन्टर बोलाएँ। भर्खरै रिलिज भएको एउटा नेपाली फिल्म हेर्नुअघि म त्यो अन्तर्वार्ता गर्न चाहन्थेँ।

उसले पहिलोपल्ट सर्त तेर्स्याई, ‘तपाईंसँग म विवाहबारे कुरा त गर्छु। छाप्न पाउनुहुन्न। वा, छाप्न पनि पाउनुहुन्छ, तर मेरो नाम खुलाउन पाउनुहुन्न। यी मेरा निजी कुरा हुन्। तपाईंसँग साथीका रूपमा शेयर गर्न मन छ। तर, धेरैलाई सुनाउन मन छैन।’

म दोधारमा परेँ, म त स्टोरी बनाउन आएको! स्टोरी नै बन्दैन भने किन सुन्ने कुरा? स्वार्थी भइदिएँ, ‘त्यसो भए किन यो टपिकमा कुरा गर्ने?’ उसले पनि मुखै फोरेर भनी, ‘पत्रकारका लागि हामी एउटा ‘समाचार’ भन्दा बढी केही होइनौँ? पत्रकार लाउड स्पिकरमात्रै हो? यता हामीहरू सानो स्वरमा बोल्छौँ, उता मासमा ठूलो स्वरमा सुनाइदिने? पत्रकारसँग अरूका कुरा सुनेर मनभित्रै सञ्चय गर्न सक्ने ‘हार्डडिस्क’ वा अरूलाई सम्झिदिने ‘हार्ट’ हुँदैन?’

उसका शब्दवाणले मुटु छेडेर गए। भित्रभित्रै त्यस्तो भनेर उसको चित्त दुखाएकोमा ग्लानि भइरह्यो। 

उसले अनुहार तितो बनाई। हामीले पिइरहेको क्यापचिनोको स्वादजस्तै। एकछिन चुपचाप बसियो। उसको त्यो हंसमुख अनुहार उदास भइसकेको थियो। मतिर हेर्न छाडेर कमलपोखरीतिर हेरिरहेकी थिई। एकछिनमा त उसैका आँखा कमलपोखरी भएछन्। टिस्यू पेपर उठाई र आँखाको कमलपोखरी खाली बनाई।

त्यसपछि सविस्तार आफ्ना भावना यसरी पोखी।

०००
प्रेम संसारको सबैभन्दा उच्चकोटिको चिज हो। तर, यो प्रेम व्यक्त गर्ने अंग्रेजी वाक्य ‘आई लभ यू’ संसारकै सबभन्दा सस्तो लाग्छ मलाई। फेसबुकमा रहेका केही लाख फलोअरमध्ये एक लाखले पो यसो भनी पठाएका! (ऊ कसैलाई गिज्याएको जस्तो हाँसो हाँसी।)

मलाई होइन, मेरो कलालाई माया गरेका हुन् यिनले भन्ने लाग्छ। तर, यी चित्त बुझाउने कुरा हुन्। मभन्दा राम्रो कला भएका ती अलि कम राम्रीहरूलाई कतिले ‘आई लभ यू भन्छन्?’ कलालाई माया गर्‍या भए म होइन, ती हिट हुन्थे। तर, कला त बहाना न हो, यो तनमाथि आँखा लगाउनेहरू जिब्रोभन्दा बाहिरबाट ‘आई लभ यू’ भन्छन्। एउटा फिल्मको डायलग जस्तै ‘यो गिद्धैगिद्धको सहर हो’ र ती ‘आई लभ यू’हरू तिनीहरूले चुहाएका र्‍याल हुन्।

ऊ  भन्दै गई।

ती र्‍यालहरूको उपयोग त मैले पनि गरिरहेकी छु। मसँग नजिक हुन राम्रै खर्च गर्छन्। प्रोग्राममा बोलाउँछन्। मास बटुल्छन्, म हिट हुँदै गइरहेकी छु।

साँच्चै भन्नुपर्दा, ‘म त भित्रैदेखि प्रेम गर्छु’ भन्नेहरू आए, ‘संसारकै सुख दिन्छु’ भन्ने आए। सुन्दर आए, ठिकठिकै अनुहारका आए, कुरूप आए। धेरैधेरै प्रकारका आए। कति आए कति!

तर, त्यो अहिलेसम्म आएन। जो मैले चाहन्छु। 

ऊसँग मैले केही अपेक्षा गरेकी छैन। यो जुनीमा खान पुग्ने म आफै कमाउन सक्छु। उसले चोखो माया गरोस्। संस्कार भएको होस्, काम सानोतिनो मात्रै गरोस्, राम्रो गरोस्। कमाओस् थोरैमात्रै, तर ऊसँग हीनताबोध नहोस्। र, कहिल्यै महसुस नगरोस्, यो सेलिब्रिटी हो। पहिलो उसको दिलमा होस् यो मेरी प्रिय जीवनसंगिनी हो। ऊ जे गरिरहेकी छे, त्यो काम हो।

त्यस्ता खोज्न आफै पनि अघि सरेँ। आफन्त घरपरिवारलाई भनेँ। मैले चाहेकाहरू कोही ‘सेलिब्रिटीसँग घरबार राम्रो हुँदैन’ भनेर चार हात पर भाग्छन्। कोही अर्कै ग्रहका प्राणी ठान्छन्। कोही भेट्दा ‘ड्यासिङ’ हुँदैनन्, लुरुक्क पर्छन्। मनमा लाग्छ, आत्मविश्वासै नभएको मान्छेसँग के बिहे गर्नु? पहिल्यै कला क्षेत्रलाई हेर्ने दृष्टिकोण वक्र भएकासँग के सम्बन्ध जोड्नु?

ती दिनमा थिए, मैले भनेजस्ता केटाहरू। खूब पछ्याउँथे पनि। करिअर बनाउनुपर्छ भनेर त्यता ध्यान दिइएन। अब करिअर बनाइयो, उनीहरू छुटे। ती थिए, कलेज पढ्दाका, डान्स सिक्दाका, संगीत सिक्दाका साथीहरू।

मलाई लाग्थ्यो, किन कोमल दिदी बिहे नगरी बस्या, राजेश दाइले किन ढिलो गर्‍या? जब अघिल्लो वर्षदेखि ‘अब बिहे पनि गर्नुपर्छ’ भनेर केटाहरूमाथि नजर डुलाउन थालियो, लाग्यो कहाँ सजिलो छ र बिहे गर्न? जस्तातस्ता आफूले नहेरिने, भन्या जस्ताले आफूलाई नहेर्ने!

सबैले सम्झौता गर्न भन्छन्, मलाई यो घरजग्गाको किनबेच हो जस्तो लाग्दैन। भोलि मन लागेन भने बेचेर अन्तै किन्ने। यो त घर बनाउने कुरा हो, जग्गामा होइन मनभित्र। उसको मनमा आफ्नो घर होस् र आफ्नो मनमा उसको  कसरी सकिन्छ यस्ता कुरामा सम्झौता गर्न?

मलाई लाग्छ, धेरै सेलिब्रिटीका घरबार भाँडिनुका कारणै सम्झौता हुन्। सम्झौता हुन्छ, करार हुन्छ। एक दिन सम्झौता मिति सकिन्छ, घरबार सकिन्छ।

०००
यही क्रममा उसले एउटा रहस्यमय प्रश्न गरी, 'मेरा धेरै साथीहरुले बिहेका लागि एनआरएन नै किन रोजे थाहा छ तपार्इंलार्इ?'

म जिज्ञासु बनेँ। कुनै प्रतिक्रिया नदिर्इ उसैको उत्तरको प्रतीक्षा गरेँ। 'त्यहाँ बस्ने मान्छे एक हदसम्म यो पारिवारिक, सामाजिक, अनेक कुराबाट मुक्त हुन्छ। कसैको कुरा सुन्ने फुर्सदमा हुँदैन। त्यसैले आफ्नो विवेकको प्रयोग गर्छ,' उसले भन्दै गई, 'त्यहाँ पुगेपछि यहाँ जस्तो जीवन बर्बाद हुँदैन। भविष्यमा छुट्नै परे पनि गरिखाने मेलोमेसो मिलिसकेको हुन्छ। कसैले किन छुट्टियौ सोध्दैन, किन एक्लै भन्दैन। अनि एनआरएन नरोजेर के गर्नु?'

उसले नेपालमै बसेर जीवनपर्यन्त कलाकारिता गर्ने सपना भएका केही साथीहरुको नाम उल्लेख गरी। जो अहिले परदेशमा गुमनाम जीवन जिइरहेका छन्।

०००
मसँग अब प्रश्न रहेनन् र न त थिए उसका यी तमाम प्रश्नका उत्तर। एउटा नेपाली भनाइ सम्झेँ, ‘चाहेको पाइन्न, पाएको चाहिन्न।’


हरेक सोमबार प्रकाशन हुने स्तम्भ 'एक घुम्ती, एक पात्र'का यसअघिका शृंखला- 

रियल गुन्डाको हिरो अवतार
एक नेपाली हिरोइनको #metoo : हाम्रो चरित्रमाथि किन चोरऔंला?

पढ्नै पर्ने