स्मरणमा कीर्तिबाबु, जो कसैसँग डगेनन्

Nepal Live

०७० असोजको कुरा हो (मिति यकिन भएन), म पछिल्लो पटक कीर्तिबाबु (कीर्तिनिधि विष्ट) को घरमा पुगेको थिएँ। उनले भनेका थिए, ‘नेपाल कम्तीमा पनि तिम्रो छोराको पुस्तासम्म स्वाधीन रहन्छ। नेपाली जति सचेत अरु कोही छैनन्। हामी जुन भौगोलिक अवस्थितिमा छौं, त्यसले पनि हामीलाई पराधीन हुन दिँदैन। तिमी चिन्ता नगर।’ 

त्यसअघि कीर्तिबाबुसँग दर्जनौं पटक भेट भए। पहिलो भेट मैले उनी शाहीकालीन मन्त्रिपरिषदको उपाध्यक्ष हुनुअघि नै ०६० भदौ १६ गते गरेको थिएँ। यो मिति किन याद छ भने, मेरो जन्मदिन भदौ १६ हो।

पहिलो पुस्तक ‘जासुसीको जालो’ (०६५) उनले पढे/पढेनन्, मलाई थाहा छैन। पहिलो भेटयताका पटक–पटकका भेटमा उनीबाट अभिव्यक्त धारणालाई मैले सो पुस्तकमा धेरै ठाउँमा उल्लेख गरेको छु। तर, पुस्तक पढेकै भावमा उनले भनेका थिए, ‘मसँग तिमीले आफूले चाहेका उत्तर लिनेगरी मात्र प्रश्न गर्‍यौ, मैले दिन चाहेको उत्तरका लागि आवश्यक प्रश्न नै गरेनौ। नत्र तिम्रो किताबको ओज अझै बढ्ने थियो।’

मूलधार भनिने राजधानीको पत्रकारितामा म ‘नव–आगन्तुक’ थिएँ त्यसबेला। यद्यपि मोफसलमा कलम चलाएको हिसाब गन्दा मैले यस क्षेत्रमा एक दशक बिताइसकेको थिएँ। म अहिले पनि पत्रकारिताको विद्यार्थी हुँ, यतिखेर पत्रकारिताका केही कक्षा उक्लिए झैं लाग्दै गर्दा कीर्तिबाबुले त्यसबेला भनेका कुराले मलाई भित्रैबाट हल्लाउँछन्।

सिंहदरबार अगाडि र त्रिपुरेश्वर इलाकामा भारतीय सैनिक ट्यांक हरदम तैनाथ हुन्थे। विष्टले नै ०२६ सालमा आफ्नै प्रधानमन्त्रीत्वकालमा ती भारतीय सैनिकलाई बिदा गरेका थिए। 

झट्ट हेर्दा उनी भारतविरोधी र चीन परस्त नेताका रुपमा देखिन्छन्। तर, यथार्थ त्यस्तो होइन। उनी राष्ट्रियताका पक्षमा अडिग र कुनै पनि विदेशीसामु नझुक्ने नेता थिए। भारतीय स्वार्थका केही योजना भत्काएका र केही योजना रोकेका कारण मात्र उनी भारतविरोधी देखिएका थिए। निरंकुश राजतन्त्रका भने उनी कट्टर हिमायती थिए। कारण, उनी ठान्थे– राजतन्त्र रहेन भने राष्ट्रियता पनि दिगो रहँदैन।

शाहीकालका समकक्षी उपाध्यक्ष तुलसी गिरीबारे उनले ०६२ बैशाख २१ गतेको भेटमा भनेका थिए, ‘गिरीजीमा निरंकुशता हावी छ।’

तिब्बतलाई चीनबाट अलग्याउनुपर्छ भन्ने खम्पा विद्रोह (जसलाई अमेरिकी बाह्य गुप्तचर संस्था सीआइले सघाइरहेको थियो) तत्काल रोक्नुपर्छ भन्ने धारणा राख्नेमध्ये उनी नै अघिल्लो पंक्तिमा थिए। तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा ०३० सालमा खम्पा विरुद्ध सेना परिचालन गर्ने आदेश उनी नेतृत्वकै मन्त्रिपरिषदले दिएको थियो।

२००८ सालदेखि चीन जोडिएको नेपाली भूगोलको १६ वटा स्थानमा भारतीय सैनिक चेकपोस्ट थिए। सिंहदरबार अगाडि र त्रिपुरेश्वर इलाकामा भारतीय सैनिक ट्यांक हरदम तैनाथ हुन्थे। विष्टले नै ०२६ सालमा आफ्नै प्रधानमन्त्रीत्वकालमा ती भारतीय सैनिकलाई बिदा गरेका थिए।

‘मेरै प्रधानमन्त्री कालमा ती चौकी हटाउने निर्णय गरिएको हो’, विष्टले मसँग भनेका थिए, ‘भारतीय सुरक्षाफौजको उपस्थितिले एकातिर नेपालको सार्वभौम सत्तामाथि आँच पुर्या’इरहेको थियो भने अर्कोतर्फ अर्को छिमेकी मुलुक चीनलाई चिढ्याउने काम गरिरहेको थियो। जुन नेपालको हितमा थिएन।’

खम्पा विद्रोहीका अगुवा गे वाङ्दीलाई जीवितै आफूलाई हस्तान्तरण गर्नुपर्ने अमेरिकी माग पनि उनले बेवास्ता गरे। भने, ‘अपरेसनमा गएको सेनाले आफ्नो जीवन रक्षा गर्छ, शत्रु पक्षको होइन।’ 

अन्ततः गे वाङदी, १९७४ सेप्टेम्बर १५ मा टिङ्करमा मारिए र त्यससँगै १४ वर्षदेखि जारी सशस्त्र खम्पा विद्रोहको अन्त्य भयो। यद्यपि खम्पा विरुद्ध सैनिक अपरेसन थाल्ने विष्ट प्रधानमन्त्रीबाट हटिसकेका थिए।

‘म प्रधानमन्त्री रहनु र नरहनुको कुनै अर्थ थिएन। राजा वीरेन्द्रले चीनबाट फर्केपछि भन्नुभएको थियो– मेरो राज्याभिषेकअघि नै सशस्त्र खम्पा विद्रोह समाप्त हुनुपर्छ। अपरेसन मेरा पालामा सुरु भयो, तर म प्रधानमन्त्री नरहे पनि श्री ५ को राज्याभिषेक अगाडि नै खम्पा विद्रोह समाप्त भयो’, विष्टको भनाइ थियो, ‘म पञ्चायतकालमै तीन पटक प्रधानमन्त्री भएँ। म आफूले चाहेको र श्री ५ ले अह्राएको काम हरहालतमा सम्पन्न गर्थेँ। त्यसअघि नै भन्थेँ, मैले सकिनँ भने निकालिबक्स्योस्।’

कीर्तिबाबु सर्वगुण सम्पन्न थिएनन्। निजी जीवनमा हरेक मानवमा झैं उनमा पनि केही कमजोरी रहे। तर, सार्वजनिक जीवनमा उनी सदैव निष्ठावान रहे। जो कसैसँग पनि डगेनन्।
 

पढ्नै पर्ने