मनोजको 'ईश्वरलाई चिठी'

नेपाल लाइभ

Nepal Live

काठमाडौं-  छन्दकवि मनोज भण्डारीको कवितासंग्रह ‘ईश्वरलाई चिठी’ पाठकमाझ आएको छ। रचनावाचन समूहले प्रकाशन गरेको सो संग्रह सर्वनाम थिएटरमा अतिथि र दर्शकदीर्घाले एकसाथ लोकार्पण गरे।

कृतिमाथि टिप्पणी गर्दै अग्रज छन्दकवि रमेश खकुरेलले कवि मनोजको यो संग्रहले नेपाली छन्द कवितामा थप उचाइ थप्ने बताए। अर्का वक्ता छन्द कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले मनोजको कवितामा देश, जीवन दर्शन भेटिने गरेको उल्लेख गरे। छन्द कवितामा वाचन कला आवश्यक रहेको भन्दै उनले लेखन र वाचनमा कवि भण्डारी अब्बल रहेको समेत बताए। 

कार्यक्रममा अघिल्लो वर्ष रचनावाचन समूहले प्रकाशन गरेको गजलसंग्रह 'सडक'को रोयल्टी रकम नगद ५० हजार सो कृतिका सर्जक कमल संघर्षलाई हस्तान्तरण गरिएको थियो।

आफ्नो रचनाको रोयल्टी बुझ्दै कवि डा. देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत कविहरुले रोयल्टी पाउन थाल्नुले अब कविहरु बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए।

रचनावाचनको युट्युब च्यानलमा राखिएका भिडियो रचनावापत देवी नेपालका साथै कवि अर्जुन पराजुली, बलराम दाहाल, बुनु लामिछाने, देवी नेपाल, ज्ञानुवाकर पौडेल, जय गौडेल, कमल संघर्ष, माधव खतिवडा, मनोज भण्डारी, नवराज पराजुली, राम अविरल विष्ट, सुदेश सत्याल लगायतले रोयल्टी पाएका छन्।

सबैका रचना सबैमाझ पुर्‍याउने उद्देश्यले रचनावाचन समूह लागिपरेको रचनावाचनका अभियन्ता सुरेश सुवेदीले बताए।

पढ्नै पर्ने