सिरहामा यस वर्ष धान उत्पादन ५० प्रतिशत घट्ने, खाद्य संकटको सम्भावना

नेपाल लाइभ

Nepal Live

लहान- सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ। 

धान रोपाइँको समयमा आएको बाढी-पहिरोका कारण उत्पादनमा गिरावट आउने भएको हो। जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढीपहिरोका साथै धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप बढेकाले गत वर्षको तुलनामा करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ। 

कार्यालयका प्रमुख डा रामचन्द्र यादवले कुल खेतीयोग्य जमिनमध्ये यस वर्ष ४७ हजार ९९८ हेक्टर जमिनमा धान रोपाइँ भएको भन्दै प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ९६ हजार मेट्रिक टन धान उत्पादन हुने बताए। 

आर्थिक वर्ष ०७३/७४ मा ५६ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर साढे तीन मेट्रिक टनको दरले एक लाख ९६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष धान उत्पादन ह्वात्तै घट्ने भएकाले जिल्लामा खाद्य संकट हुनसक्ने यादवको भनाइ छ। 

सिरहामा कुल ६० हजार ७५७ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा छ। सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मती लगायतको धान लगाउने गरिएको छ। रासस

पढ्नै पर्ने