इञ्जिनियरिङ छाडेर पशुपालनमा लागेका श्यामवदन यसरी बने २० करोडका मालिक

बिम्मी शर्मा

Nepal Live

वीरगञ्ज- श्यामवदन यादव कुनैबेला नारायण मूर्तिको ‘इन्फोसिस कम्पनी’ मा जागिर खान्थे। उनको तलब थियो भारु ८० हजार। त्यहाँ एक वर्ष काम गरेपछि आफैं व्यवसाय थाल्ने सोच बनाए। जागिर छाडेर नेपाल फर्के।

बैंगलुरु विश्वविद्यालयबाट सफ्टवेयर इञ्जिनियरिङ गरेपछि त्यहीँबाट एमबिए गरेका उनले चाहेको भए ठूलै कम्पनीमा जागिर खान सक्थे। तर, नेपाली माटोको सुगन्धले तान्यो। यही माटोमा पसिना बगाउन उनी आइपुगे।

तिनै श्यामवदनले ९ वर्षअघि ५ वटा भैंसीबाट सुरु गरेको डेरी उद्योगमा अहिले भैंसीको संख्या ९५ पुगेको छ। वीरगञ्जसहित देशका विभिन्न सहरमा १० वटा 'डेरी हब' खुलिसकेका छन्। जोखिम लिएरै केही नयाँ काम गर्ने र स्थानीयलाई रोजगार दिने उद्देश्यले थालेको व्यवसायको आज चारैतिर चर्चा हुँदा उनमा खुसी थपिएको छ।

बैंगलुरु हुँदै विप्रो कम्पनीका मालिक अजिम प्रेमजीको गेस्ट लेक्चरर सुनेर आफ्नो करिअरको अहम् निर्णय गर्न पुगेका ३८ वर्षीय श्यामवदन विप्रोका प्रेमजी र इन्फोसिसका मालिक नारायण मूर्तिबाट सबैभन्दा बढी प्रभावित छन्। उनी आफ्नो आदर्श भने विश्वप्रसिद्ध दुग्ध सहकारी अमूलका संस्थापक वर्गिज कुरियनलाई मान्छन्। 'कुरियनले भारतमा दूधको 'बाढी' ल्याउन देखेको सपना जस्तै मैले यहाँ देखेको छु,' उनले आफ्नो लक्ष्यबारे भने।

व्यवसायको सुरुवात

बैंगलुरुबाट फर्केपछि नेपालको प्रख्यात कुखुराको दाना उद्योगमा मासिक सवा लाख रुपैयाँको जागिर पाए उनले। त्यहाँ करिब डेढ वर्षसम्म काम पनि गरे तर आफ्नो पैतृक दूध व्यवसायले नै उनलाई आकर्षित गरिरहेको थियो। त्यसपछि पारिवारिक जायजेथा धितो राखेर बैंकबाट लोन लिए र, 'कलश डेरी फार्म' स्थापना गरे।

सुरुवातमा ३ करोडको पुँजी लगानी गरेर खोलेको उद्योग करिब २० करोड बराबरको पुगिसकेको उनी बताउँछन्। 

पर्साको धोरेमा जन्मिएका श्यामवदनको पशुपालन र कलश डेरी उद्योग गरी दुई अलगअलग ठाउँमा रहेका छन्। जहाँ ८२ कर्मचारी कार्यरत छन्। उनको डेरी उद्योगले दूध, दही, घिउ, पनिर र क्रिम उत्पादन गर्छ। त्यसबाहेक आइसक्रिम उनको विशेष उत्पादन हो।

दैनिक करिब १५ सय किलोग्राम ‘ह्वाइट गोल्ड ब्रान्ड’का आइसक्रिम उत्पादन हुने श्यामबदन बताउँछन्। जुन वीरगञ्जबाहेक हेटौंडा, चन्द्रनिगाहपुर, जनकपुर, बर्दिवाससम्म पुग्ने गरेको छ। आफ्नै उद्योगबाट उत्पादन गरिएको दूधबाट नपुगेर उनले अन्य डेरी उद्योगबाट दैनिक ३ हजार लिटर दूध किन्ने गरेका छन्। 'मुख्यत: मलाई आइसक्रिम उत्पादनबाट प्रशस्तै आम्दानी भइरहेको छ,' उनी खुसी हुँदै भन्छन्, 'यो मेरो ‘जबरजस्त नाफा’ हो।'

बैंकले पत्याउँदैन

उद्योग स्थापनाको सुरुवाती चरणमा अत्यन्त उत्साहित श्यामबदन देशको राजनीतिक वातावरण र बैंकको अव्यवस्थित प्रणालीका कारण भने चिन्तित छन्। 

'कुनै पनि व्यवसायका लागि पुँजी चाहिन्छ। त्यसका लागि लोन लिन जाँदा बैंकले समेत अनुहार हेरेर व्यवहार गर्दो रहेछ,' उनी दुखेसो पोख्छन्, 'काम गर्न इच्छा नहुनेहरु सोर्सका भरमा दुई सय करोड पनि लोन पाउँछन् तर म जस्तालाई लोन दिन गाह्रो मान्छन्।'

एक्ला छोरा श्यामबदनका दुई छोराछोरी छन्। श्रीमती पनि इञ्जिनियर नै हुन्। उनको सपना पूरा गर्न श्रीमतीले हरसमय साथ दिइरहेकी छिन्।

आफ्नो उद्योग र सम्पतिलाई देशको सम्पति मान्ने उनको भविष्यको अर्को चाहना वृद्धाश्रम खोल्नु पनि हो। समाजसेवामा रुचि राख्ने उनी ११ वटा विभिन्न सरकारी तथा निजी संस्थाहरुबाट सम्मानित र पुरस्कृत भइसकेका छन्।

केही दिन अघिमात्र पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु विभागले उनलाई सम्मानित गर्दै प्रमाणपत्र र नगद पुरस्कार दियो। 

आफ्नो उद्योगलाई अझ विस्तार गर्न लगानीको खोजीमा रहेका उनको जीवनको एकमात्र उद्देश्य या सपना जे भने पनि पशुपालन व्यवसाय र डेरी उद्योगलाई देशकै सबैभन्दा ठूलो र व्यवस्थित उद्योग बनाउनु हो। जसका लागि ९ वर्षदेखि उनी आफ्नो सफ्टवेयर इञ्जिनियरिङ र एमबिएको डिग्रीलाई थान्को लगाएर अहोरात्र खटिरहेका छन्। 

पढ्नै पर्ने