पूर्वप्रधानमन्त्री विष्टको सामान्य ढंगबाट अन्त्येष्टि 

नवीन अर्याल

Nepal Live

काठमाडौं– शनिबार बिहान निधन भएका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिँदै छ।

उनको अन्त्येष्टि सामान्य ढंगबाट गरिन लागेको पारिवारिक स्रोतले जनाएको छ। पूर्वप्रधानमन्त्री विष्टले आफूलाई राजकीय सम्मान नदिनू र निधनबारे कसैलाई खबर नगर्नू भनेकाले उनकै इच्छाअनुसार सामान्य रुपमा अन्त्येष्टि गर्न लागेको छोरा विनोद विष्टले बताए।  

अन्त्येष्टिका क्रममा आर्यघाटमा हाइप्रोफाइल नेता नगन्य देखिए। पूर्वप्रधानमन्त्रीहरुमा माधवकुमार नेपालको मात्र उपस्थिति देखियो। यस्तै, उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापा र पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी पनि आर्यघाट पुगेका थिए।

यो पनि- पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

पूर्वप्रधानमन्त्रीको निधनमा हाइ प्रोफाइल नेताको उपस्थिति नदेखेपछि पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेताले विष्टका छोरालाई सोधेका थिए, ‘किन कसैलाई खबर नगरेको?’

छोरा विनोदले भने, ‘बुवाको इच्छा थियो, कसैलाई पनि खबर नगरी सामान्य रुपमा मेरो अन्त्येष्टि गर्नू। सामान्य नागरिक जस्तो मर्न चाहन्छु भन्नुभएको थियो। उहाँको त्यही आदेशको पालना गर्दै कसैलाई खबर नगरेको।’

विष्ट परिवारबाट खबर नपाए पनि सञ्चारमाध्यममार्फत निधनबारे थाहा पाएर पूर्वप्रधानमन्त्री नेपाल, थापा लगायत केही नेताहरु आर्यघाट पुगेका थिए।

पूर्वप्रधानमन्त्री विष्टको शनिबार बिहान १० बजेर ४० मिनेटमा निधन भएको थियो। उनी विगत आठ महिनादेखि बिरामी भएर नक्सालस्थित निवासमै आराम गरिरहेका थिए।

तस्बिर: निमेष जंग राई

पढ्नै पर्ने