विश्वसाहित्य : हाडहरु (कथा)

हेनरी स्लेजर

Nepal Live

अपरिचित व्यक्तिले ढोका ढकढक्याउनु अगावै श्रीमती इवान त्यहाँ उपस्थित थिइन्- 'भन्नुस्, तपाईं कसलाई खोज्दै हुनुहुन्छ?'

- 'तपाईं श्रीमती इवान ? मेरो नाम जेम्स हो र म भौगोलिक संस्थानसित सम्बद्ध छु। के म केही मिनेटका लागि भित्र आउन सक्छु?'

उनी अलि अकमकाइन्। तर पनि अपरिचितका लागि बाटो छोडिदिँदै 'म के सेवा गर्न सक्छु?' भनिन्।

'तपाईं मेरा लागि धेरै गर्न सक्नुहुन्छ। के म यहाँ बस्न सक्छु?'- उसले मुस्कुराउँदै भन्यो।

- 'अवश्य…, आउनुस्!'

नवआगन्तुक कुर्सीमा थुचुक्क बस्यो र बोल्यो- 'यो मेरो सौभाग्य हो, तपाईं घरमै हुनुहुन्छ। तपाईं धेरै दिनदेखि कहीँ जानुभएको थियो?'

- 'म तीन महिनादेखि युरोप भ्रमणमा थिएँ।'

नवआगन्तुकले हात मोल्दै हर्ष प्रकट गर्योि- 'म भन्न सक्दिनँ, मलाई तपाईंको पुनरागमनको कति तीव्र प्रतीक्षा थियो। केवल तपाईं नै हाम्रो संस्थानलाई सहयोग गर्न सक्नुहुन्छ।'
श्रीमती इवान ५० वर्षीया एउटी मोटी महिला हुन्। उनी अपरिचितको भूमिका बुझ्न असमर्थ छन्। आखिर उनले सोधिन्- 'म तपाईंलाई के सहयोग गर्न सक्छु?'

जेम्सले आफ्नो लट्ठी भुइँमा राख्दै भन्यो- 'केही महिनाअघि हाम्रो उत्खनन टोलीले यस क्षेत्रबाट केही महत्त्वपूर्ण वस्तुहरु फेला पारेको थियो र यो सफलता तपाईंकै जमिनबाट प्राप्त भएको थियो। तपाईंको जमिनमा मैले बिनाअनुमति उत्खनन गरेँ, तर त्यसमा मेरो कुनै गल्ती थिएन। तपाईंको घरको केही दूरीमा भएको जंगलको अधिकांश भाग तपाईंकै स्वामित्वमा छ भन्ने मैले सोचेकै थिइनँ। दुई महिनाको कठोर परिश्रम र संघर्षको फल आखिर प्राप्त भयो। तपाईंलाई सायद विश्वास नलाग्ला श्रीमती इवान, म केही हाडहरु खोज्नमा सफल भएँ।'

'हाडहरु !' – श्रीमती इवान आश्चर्यचकित भइन्।

'हो, मैले यी हाडहरुको सनाखत गर्न सकिनँ। यसैले आजसम्म सुराक लागेन- यी हाडहरुको सम्बन्ध इतिहासको कुन कालसित छ? यद्यपि हाडहरु एकदम राम्रो अवस्थामा छन् भन्ने कुरा विश्वासै लाग्दैन। हजारौं वर्ष पुराना हाडहरु यति राम्रो अवस्थामा हुन सक्छन्?'

उसले हात बढाएर लट्ठीमा बाँधिएको थैली खोल्यो र भन्यो- 'तपाईं पनि एक नजर हेर्नुस्।'

जेम्सले हात थैलीबाट झिक्यो, त्यसमा एउटा लामो हाड चम्किरहेको थियो। श्रीमती इवान एक्कासि चिच्याइन्।

- 'खुट्टाको हाड हो यो। यस बाहेक एउटा खोपडी पनि पाइएको छ। म विश्वासका साथ भन्न सक्छु- यी हाडहरु कोही मोटो अग्लो मानिसका हुन् र त्यस मानिसको सम्बन्ध इतिहासको पूर्वयुगसित छ।'

श्रीमती इवान अद्यापि त्रसित देखिन्थिन्।

- 'तपाईं आफ्नो सम्पत्तिमाथि उत्खनन गर्ने अनुमति दिनुहुन्छ भने अरु हाडहरु पनि प्राप्त हुन्थे। तपाईं अलि सोच्नुस्- यो विज्ञानको कति ठूलो सेवा हुनेछ?'

- 'अहँ, म यसको अनुमति दिन सक्दिनँ।'

- 'त्यसो भए ठीकै छ श्रीमती इवान! के म यस विषयमा तपाईंका पतिसित कुरा गर्न सक्छु?'

- 'असम्भव, उनको देहान्त भइसक्यो।'

- 'ओहो! जे होस्, अब मलाई जानु छ। अहिल्यै पुलिस इन्स्पेक्टर साइलरलाई पनि भेट्नु छ।'

- 'कसलाई?' – श्रीमती इवानले प्रश्न गरिन्।

- 'इन्सपेक्टर साइलरलाई… उनी प्रहरी हेडक्वार्टरमा बस्छन्। यस राज्यको एउटा मूर्खतापूर्ण कानुन छ- हाम्रो संस्थानले जमिनको उत्खननमा जुन वस्तु फेला पार्छ, त्यसको छानबिन सर्वप्रथम यहाँको प्रहरीले गर्छ। विशेषरुपले मानव-हाडहरुको सम्बन्धमा यो कानुन एकदम कठोर छ। म बुझ्दिनँ- आखिर प्रहरीलाई पुरातत्त्व विभागसित के लिनु छ?'

- पर्खिनुस्, तपाईं…, तपाईं हाडहरु प्रहरीकहाँ लानुहुन्छ?'

- 'हजुर, यो जरुरी छ। हाम्रो संस्थान कानुन पालन गर्छ।'

- 'के तपाईं… तपाईं केही पिउन चाहनुहुन्न? म तपाईंका लागि सर्बत ल्याउँछु।'

जेम्स पुन: कुर्सीमा बस्यो। आफ्नो थैलीबाट एक मानवखोपडी निकाल्यो र त्यसलाई उदास नजरले हेर्न थाल्यो। पाँच मिनेटपछि श्रीमती इवान फर्किन्। उनको हातमा एउटा ट्रे थियो। श्रीमती इवानको दृष्टि खोपडीमा पर्‍यो, उनको अनुहार भयले रातोपिरो भयो। जेम्सले खोपडी आफ्नै थैलीमा घुसार्‍यो, ट्रेमा रहेको गिलास् हठात् उठायो र आफ्नो लामो नाक गिलासमा छुनेगरी सर्बत सुँघ्न थाल्यो।

'हुँ !' उसले सर्बत सुँघ्दै भन्यो- 'यो विषको गन्ध लुकाउन धेरै गाह्रो छ, श्रीमती इवान।'

- 'के?'

- 'के तपाईंले आफ्ना पतिलाई पनि यही विषले मार्नुभएको थियो?'

श्रीमती इवानका आँखा चकित देखिए- 'मैले बुझिनँ, तपाईं के भनिरहनुभएको छ?'

जेम्सले आफ्नो पेटीमा झुन्डिएको फ्लास्क अलग्यायो र गिलासको सर्बत त्यसमा खन्याएपछि बन्द गरी पेटीमै पुन: झुन्ड्यायो।

- 'को हौ तिमी?'

- 'मेरो नाम गार्सन हो। म त्यस बिमा कम्पनीको जासुस हुँ, जसको पैसाबाट तपाईंले तीन महिनासम्म युरोपको भ्रमण गर्नुभयो।'

'ती हाडहरु ?' – श्रीमती इवानको गला अवरुद्ध भयो।

-'यी मैले मेडिकल कलेजबाट लिई आएको हुँ। असली हाडहरु अब प्रहरीले तुरुन्तै तपाईंको जमिनबाट निकाल्नेछन्। मेरो काम सिद्धियो। अब प्रहरीको काम सुरु हुनेछ।'

अनुवाद: राजु सायमी

पढ्नै पर्ने