क्रिकेटर शक्ति गौचन : जो लगातार १५ वर्ष फिट रहे

सीताराम कोइराला

Nepal Live

तस्बिर : आइसिसी


नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन्, शक्ति गौचन। सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३३ वर्षीय शक्ति नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन्। राष्ट्रिय टिमबाट १५ वर्ष खेल्दा शक्ति चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर शक्ति सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। शक्तिले नेपाल लाइभका सीताराम कोइरालासँग सधैं फिट हुनुको कारण बताएका छन्–

सधैं एउटै दैनिकी पछ्याउँदै आएको छु। एउटै दैनिकी नै फिट हुनुको मूल आधार हो। सामान्यतया ६ देखि ७ बजेको बीचमा उठ्छु। बिहान तातो पानी वा कालो चिया खाने गरेको छु। कहिलेकाहीँ लेमन टी वा ग्रिन टी पनि खान्छु। नर्मल ब्रेकफास्ट खान्छु। ब्रेकफास्टमा कर्नफ्लेक्स, फलफूल र पाउरोटी लिने गरेको छु। 

बिहानको समयमा दौडिन्छु र जिम पनि जान्छु। फ्रेस भएपछि १० देखि ११ बजेको बीचमा खाना खाने गरेको छु। 

त्यसपछि घर नजिकको न्यु होराइजन स्कुलमा जान्छु। स्कुलको खेलकुद प्रशिक्षक छु। ३ बजेसम्म स्कुलमा बस्छु। नास्ता खाएर खेलाडीलाई प्रशिक्षण गराउँछु अनि आफू पनि गर्छु। ७ बजेतिर प्रशिक्षण सकिन्छ। त्यसपछि हल्का जुस र फलफूल खान्छु। साढे ८ र ९ को बीचमा डिनर गरेर सुत्छु। टिभी हेर्छु। १० र ११ को बीचमा सुत्ने गरेको छु। समान्तया ७ देखि ८ घन्टा सुत्छु।

राष्ट्रिय टिमको क्याम्प भएको बेला पनि यही दैनिकी हो। फरक चाहिँ घरको सट्टा होटलमा बसिन्छ र स्कुलको सट्टा प्रशिक्षणमा गइन्छ। घरमा जस्तै ६ देखि ७ मा उठेर नर्मल ब्रेकफास्ट गरेर क्याम्प गइन्छ। ३–४ घन्टा प्रशिक्षण गरेपछि १ बजेतिर लन्च हुन्छ। सेसन लामो छ भने, फेरि २ बजेदेखि पुनः प्रशिक्षण गरिन्छ। ५ बजेतिर होटल आएपछि आराम गरिन्छ। त्यसपछि पुरानै दैनिकी पछ्याउँछु। 

ननभेज भएको छु। मासु हुनैपर्छ भन्ने छैन। पायल्सको बिरामी भएकाले अहिले तीन महिनादेखि मासु खाएको छैन। तर, कहिलेकाहीँ खाँदा राम्रै लाग्छ। 

आफूलाई सधैं फिट तथा स्वस्थ राख्न मुख्यगरी खानेकुरामा ध्यान दिनुपर्ने रहेछ। मादक पदार्थबाट टाढै बसेको राम्रो। निद्रामा पनि नियन्त्रण गर्न सक्नुपर्छ। नियमित पर्याप्त सुत्नु ठिकै हो, तर अधिक समय सुत्न खोज्नु हुँदैन। 

३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु। ग्राउन्डमा भएपछि मेरो फिटनेस आपसेआफ हुन्छ। यो मलाई फिल हुन्छ। 

खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर इन्जोय गर्नाले फिटनेसमा समस्या आउँछ। त्यसैले म यस्तो गर्दिनँ। आफ्नो दैनिकी अनुसार चल्छु। मेरो दैनिकीले मलाइ फिट राखेको हो। 

फिटनेस भनेको मिहिनेत पनि हो। मिहिनेत भनेको फिटनेस हो। फिट हुँदा राम्रो नतिजा आउँछ। फिटनेसले खेलाडीको प्रदर्शनमा पनि सकारात्मक प्रभाव पार्छ।

पछिल्लो सयम बिरामी भए पनि मेरो खेल जीवनमा बिरामी भएर कहिल्यै अस्पताल भर्ना हुनुपरेन। कहिलेकाहीँ सामान्य बिरामी परेका बेला घरमै आराम गरेको छु। 

नेपाल टिमबाट खेल्दा अहिलेसम्म चोटको समस्या भोग्नुपरेको छैन। तर, बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो। त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपर्यो । त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो। राष्ट्रिय टिममा परेपछि चोटले कहिल्यै सताएन। मेरो विचारमा फिट रहन सक्यो भने चोटले पनि कम सताउँछ।

नयाँ आउने खेलाडीलाई प्रशिक्षणमा गम्भीर हुनु आग्रह गर्छु। टिनएजमै भएको खन्डमा सातामा तीन पटक अनिवार्य रुपमा जिम सेसन गर्नुपर्छ। विशेषज्ञसँग सोधेर आफ्नो शरीरको कुन भागलाई बलियो बनाउने त्यहाँ केन्द्रित भएर जिम गर्नुपर्छ। क्रिकेट खेल्नेले  फिट रहन नर्मल दैनिकी पछ्याउँदा पनि काफी हुन्छ। अर्को तर्फ, खानामा पनि ध्यान दिनुपर्छ। मिहिनेत चाहिँ गर्ने तर खानामा सन्तुलन नमिलाउने हो भने त्यसले फाइदा गर्दैन। 

पढ्नै पर्ने