फुटबलर कुमार थापा बने एसियाकै उत्कृष्ट, युरोपमा फुटबल व्यवस्थापन कोर्ष गर्ने 

सीताराम कोइराला

Nepal Live

काठमाडौं– नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी कुमार थापा युरोपेली फुटबल महासंघ (युइएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापन सम्बन्धी कोर्षका लागि छानिएका छन्। 

एसियाबाट छनोटमा परेका एकमात्र खेलाडी उनी स्नातकोत्तर सरहको दुईवर्षे कोर्षका लागि छानिएका हुन्। यसका लागि उनले २७ हजार अमेरिकी डलरको छात्रवृत्ति पाएका छन्।

कोर्षका लागि विश्वभरबाट २५ जना छनोट भएका छन्। एसियाबाट छनोट हुने एक्लो व्यक्ति हुँदा खुसी लागेको उनले बताए। 

'एसियाली फुटबल महासंघकै कोर्ष पाउन मुस्किल परिरहेका बेला युइएफएकै कोर्ष पाउनु नेपाली फुटबलको लागि महत्वपूर्ण उपलब्धि भएको ठानेको छु', थापाले भने। 

कोर्ष यही नोभेम्बर १३ देखि सुरु भएर सन् २०१९ को नोभेम्बर १४ सम्म सञ्चालन हुनेछ। सो कोर्ष फुटबल प्रतियोगिता सञ्चालन र व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक विषयमा केन्द्रित छ। कोर्ष अमेरिका, स्विटजरल्यान्ड, फ्रान्स, इंग्ल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र जर्मनीमा सञ्चालन हुनेछ। 

कोर्षको पाठ्यक्रम युरोपका पूर्व अन्तर्राष्ट्रिय खेलाडीका लागि युइएफएले तयार पारेको हो। युइएफएले कोर्ष सञ्चालन गर्न लागेको यो दोस्रो शैक्षिक सत्र हो। कोर्षको शैक्षिक साझेदारको रुपमा बेलायतको युर्निभर्सिटी अफ लन्डन र फ्रान्सको युनिभर्सिटी अफ लिमोगेस रहेका छन्। 

कोर्षका लागि नेपालका कुमार थापासँगै २००२ को विश्वकप विजेता ब्राजिलियन टिमका जिलबर्टो सिल्भा, सन् २०१५ को महिला विश्वकप विजेता जर्मनीकी आनेका खान, स्पेनका पूर्व खेलाडी मेन्डिएटा, फ्रेन्च क्लब पिएसजीका टिम संयोजक म्याक्सवेल, आइभरी कोस्टका पूर्व खेलाडी तथा स्कटिस क्लब सेल्टिकका सहायक प्रशिक्षक कोलो टुरो पनि छनोटमा परेका छन्। 

विश्वका चर्चित पूर्व खेलाडीसँगै युरोप र अमेरिकाको फुटबल सञ्चालन र व्यवस्थापनको कोर्ष गर्दा नेपाली फुटबललाई फाइदा पुग्ने थापाको विश्वास  छ। 

'फुटबलको मुटु मानिने युरोप र अमेरिकाको फुटबल सञ्चालन र व्यवस्थापनबारेको कोर्ष नेपाली फुटबल व्यवस्थापनमा पनि कोसेढुंगा सावित हुने ठानेको छु', थापाले भने। 

थापाले दुई वर्षमा विभिन्न ७ मुलुक पुग्नुपर्ने भएकाले छात्रवृत्तिको रकम पर्याप्त नहुने भन्दै शुभेच्छुकहरुसँग सहयोगका लागि आग्रह गरेका छन्। सहयोग गर्न चाहनेहरुले हिमालयन बैंक टेकुमा कुमार थापाको नाममा रहेको खाता नम्बर ०१८०१९५३९२००१४ मा रकम जम्मा गर्न सक्नेछन्। 

थापा हाल नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक छन्।

पढ्नै पर्ने